राजमार्गका होटेलमा चरम लापर्बाही
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले राजमार्गका होटेलमा चरम लापर्बाही भएको फेला पारेको छ । विभागको अनुगमन टोलीले धनुषाको पूर्वपश्चिम राजमार्ग आसपासका होटेल तथा रेस्टुरेन्टमा गरिएको अनुगमनका क्रममा चरम लापर्बाही पाइएको जनाएको हो ।
विभागका अनुसार अनुगमनका क्रममा मिथिला–९ स्थित बौवा स्टाफ लाइन होटेलमा पकाएको माछामासुमा कृत्रिम रङ प्रयोग गरिएको र तेलको गुणस्तर (टिपिएम भ्यालु) ५० प्रतिशत भई अखाद्य पाइएकाले २५ हजार रुपियाँ जरिबाना गरेको छ । सो होटेलमा पकाउनलाई तयार गरिएको रङ प्रयोग भएको माछामासु नष्ट गरिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा सोही क्षेत्रका श्रेष्ठ जनरल सप्लायर्समा लेबल नभएको भारतीय आँटा र थापा होटेलमा म्याद नाघेको सोडा तथा सुप पाउडर फेला परेको विभागले जनाएको छ । गौतम होटेल र कोमल होटेलमा पनि कृत्रिम रङको प्रयोग र म्याद नाघेका सामग्री भेटिएकाले ती सामग्री नष्ट गरी सुधारका लागि निर्देशन दिएको विभागका निर्देशक वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाको बौद्धस्थित बिरयानी किङ प्रालिको अनुगमनका क्रममा बिरयानीमा जथाभाबी अखाद्य रङ प्रयोग गरिएको पाइएको छ । विभागमा आएको उजुरीका आधारमा आकस्मिक अनुगमन गरी बिरयानीमा जथाभाबी अखाद्य रङ प्रयोग गरेको पाइएकाले ठुलो परिणामको बिरयानी नष्ट गरेको जनाएको छ । बिरयानी किङ प्रालिबाट म्याद गुज्रिएका चाउमिन र चाट मसलासमेत बरामद गरी नष्ट गरेको पनि विभागले जनाएको छ ।
स्वच्छता कायम गर्न निर्देशन अनुगमनका क्रममा अधिकांश होटेललाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मापदण्ड पालना गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दिएको पनि विभागले जनाएको छ ।























