बजार अनुगमन प्रभावकारी बनाउन गृहको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा र प्रशासनिक जवाफदेहिताका सम्बन्धमा विशेष निर्देशन जारी गरेको छ ।
गृह मन्त्रालयले मङ्गलबार देशभर सञ्चालित होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता कमजोर रहेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले होटेल तथा रेस्टुरेन्टले प्रदान गर्ने खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न निर्देशन दिएको छ ।
अनुगमनलाई प्रक्रियामा मात्र सीमित नराखी परिणाममुखी बनाउन र प्रचलित कानुनको उल्लङ्घन गर्ने पक्षलाई कडा कानुनी कारबाही गर्न भनिएको छ । नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको मन्त्रालयले स्पष्ट पारेको छ ।
गुनासो सुनुवाइ संयन्त्रको स्थापना आमनागरिकका गुनासा सहजै दर्ता गर्न सकिने गरी प्रत्येक जिल्ला प्रशासन कार्यालयमा गुनासो सुनुवाइ संयन्त्र (हटलाइन वास्तु सेवा डेस्क) तुरुन्त स्थापना गर्न निर्देशन दिइएको छ । नागरिकस्तरबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान गर्नसमेत मन्त्रालयले निर्देशन गरेको छ ।
स्थानीयस्तरका गुनासा र समस्या प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ । सानातिना विषयमा पनि गुनासोकर्ता केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्ण रूपमा अन्त्य गर्न गृह मन्त्रालयले कडा निर्देशन दिएको छ । स्थानीय प्रशासनको प्रभावकारिता र नागरिक विश्वासलाई कायम राख्न यो कदम चालिएको हो ।
कार्यसम्पादनको प्रत्यक्ष सुपरिवेक्षण मन्त्रालयले जिल्लाको कार्यसम्पादनलाई प्रत्यक्ष सुपरिवेक्षण गर्ने र यस सम्बन्धमा कुनै पनि अक्षमता वा उदासीनता प्रस्तुत नगर्न सचेत गराएको छ ।
यसैबिच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुरका दुई खानेपानी उद्योगमा सिलबन्दी गरेको छ । विभागले बजार अनुगमनमा ललितपुरको गोदावरीस्थित अमूल्य ड्रिङकिङ वाटर सर्भिसेस प्रा.लि.मा गम्भीर समस्या देखिएपछि सिलबन्दी गरेको हो । विभागका अनुसार अनुगमनमा उक्त उद्योगबाट प्रशोधित पानीमा उत्पादन तथा लेबल विवरण नखुलाई बजार पठाउने गरेको पाइएको थियो ।
विभागका अनुसार उक्त उद्योगमा पानी भर्ने स्थान खुला रहेको, पानी प्रशोधन गर्ने प्लान्ट पूर्ण रूपमा चुहिने जीर्ण रहेको र समग्र सरसफाइ सन्तोषजनक नभएको पाइएको थियो । उद्योगको अवस्था सुधार नभएसम्म र प्रयोगशालाको प्रतिवेदन नआउन्जेलका लागि उक्त उद्योग सिल गरिने विभागले जनाएको छ ।
यस्तै विभागको अनुगमन टोलीले नेपाल ल क्याम्पसको क्यान्टिन (निर्मल बैङ्क्वेट एन्ड इभेन्ट म्यानेजमेन्ट) मा प्राप्त उजुरीका आधारमा काठमाडौँ महानगरपालिकासहितको टोलीले आकस्मिक अनुगमन गरेको छ ।






















