स्कुटर बजारमा होन्डाको वर्चस्वलाई टीभीएसको कडा चुनौती, १० वर्षमा १८ प्रतिशत बजार हिस्सा गुम्यो
भारतीय टु–ह्विलर बजारमा होन्डा र टीभीएसबिच निकै ठूलो र रोचक प्रतिस्पर्धा देखिएको छ । एक्टिभा र डिओको सदाबहार लोकप्रियताका कारण लामो समयदेखि एकलौटी राज गर्दै आएको होन्डाको बजार हिस्सा विगत एक दशकमा उल्लेखनीय रूपमा खुम्चिएको छ ।
अर्कोतर्फ टीभीएस मोटर कम्पनीले आक्रामक बजार रणनीतिका साथ होन्डासँगको खाडललाई तीव्र गतिमा कम गर्दै लगेको छ ।
सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०१७ मा होन्डाको स्कुटर बजार हिस्सा ५६.८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२६ मा आइपुग्दा सो हिस्सा घटेर ३८.९५ प्रतिशतमा सीमित भएको छ ।
सोही अवधिमा टीभीएसले भने आफ्नो बजार हिस्सा १४.७४ प्रतिशतबाट बढाएर २८.३६ प्रतिशत पु-याउन सफल भएको छ ।
विगत नौ वर्षमा भारतीय बजारमा स्कुटरको थोक बिक्री करिब ४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०१७ मा ५६.०५ लाख युनिट रहेको स्कुटर बजार आर्थिक वर्ष २०२६ मा ८१.१८ लाख युनिट पुगेको छ ।
तर, यो बढ्दो बजारको फाइदा होन्डाले लिन सकेको देखिँदैन । आर्थिक वर्ष २०१७ मा करिब ३१.८९ लाख स्कुटर बेचेको होन्डाले आर्थिक वर्ष २०२६ मा ३१.६२ लाख युनिट मात्र बिक्री ग-यो ।
समग्र बजारमा २५ लाखभन्दा बढी युनिटको माग थपिँदा पनि होन्डाको बिक्री भने उल्टै २७ हजार युनिटले घटेको छ, जसका कारण उसले १८ प्रतिशत बजार हिस्सा गुमाउनुप-यो ।
यसको ठीक विपरीत, टीभीएसको व्यवसाय यस अवधिमा झन्डै तीन गुणा (१७९ प्रतिशत) ले बढेको छ । आर्थिक वर्ष २०१७ मा ८.२६ लाख स्कुटर बेचेको टीभीएसले आर्थिक वर्ष २०२६ मा २३.०३ लाख युनिट बिक्री गरेर बजारमा बलियो उपस्थिति जनाएको छ ।
टीभीएसको यो ऐतिहासिक वृद्धिको मुख्य कारण उसको बहुआयामिक उत्पादन रणनीति हो । मध्यमवर्गीय ग्राहकका लागि ’जुपिटर’ र युवा वर्गका लागि ’एनटर्क’ जस्ता पेट्रोल मोडलहरू निकै सफल साबित भएका छन् ।
यसका साथै, ईभी सेग्मेन्टमा टीभीएसले ठूलो ’हेड–स्टार्ट’ लिएको छ । कम्पनीको ‘आईक्युब’ र नयाँ ‘अर्बिटर’ इलेक्ट्रिक स्कुटरले बजारमा बलियो पकड बनाएका छन् ।
आर्थिक वर्ष २०२० मा मात्र ६२ वटा इलेक्ट्रिक स्कुटर बेचेको टीभीएसले आर्थिक वर्ष २०२६ मा ३ लाख ६७ हजार ५०१ युनिट बिक्री गरेको छ ।
हाल टीभीएसले बेच्ने प्रत्येक ५ वटा स्कुटरमध्ये एउटा इलेक्ट्रिक हुने गरेको छ, जसले गर्दा यो भारतकै सबैभन्दा ठूलो इलेक्ट्रिक टु–ह्विलर निर्माता समेत बनेको छ ।
प्रतिस्पर्धा अझै रोचक बन्दै
आर्थिक वर्ष २०१७ मा होन्डा र टीभीएस बीचको वार्षिक बिक्री अन्तर २३.६३ लाख युनिट थियो, जुन आर्थिक वर्ष २०२६ मा आइपुग्दा ६४ प्रतिशतले घटेर ८.५९ लाख युनिटमा झरेको छ ।
चालू आर्थिक वर्ष २०२७ को पहिलो दुई महिना (अप्रिल–मे २०२६) को तथ्याङ्कले यो अन्तरलाई अझ ९४,३४८ युनिटमा खुम्च्याएको छ । यो अवधिमा होन्डाको बजार हिस्सा ३५ प्रतिशतमा झर्दा टीभीएसले २८.४३ प्रतिशत पुर्याएको छ ।
स्कुटर बजारको यो महासंग्रामा होन्डाले परम्परागत पेट्रोल स्कुटरमार्फत बजारको नेतृत्व गरिरहेको छ भने इलेक्ट्रिकमा टीभीएस निकै अगाडी छ । होन्डाले आफ्नो विरासत जोगाउन इलेक्ट्रिक सेग्मेन्टमा आक्रामक हुनुपर्ने देखिन्छ भने टीभीएसले आफ्नो वृद्धिको यो गतिलाई निरन्तरता दिनुपर्ने चुनौती छ ।
नेपालको अवस्था
नेपालमा भने होन्डा स्कुटरले एकछत्र जस्तै बजार पाइरहेको छ । होन्डाको डिओ मोडल एक्लैले नेपालको कुल स्कुटर बजारमा ६० प्रतिशतभन्दा बढि हिस्सा ओगटेको छ । उता टीभीएस एनटर्कले समेत आफ्नो बजार हिस्सा बढाइरहेको छ ।
एनटर्क विशेषतः स्पोर्टी र पावरफुल स्कुटर चाहनेको पहिलो रोजाई बनिरहेको छ । एनटर्क बाहेक टीभीएसले नेपालमा जुपिटर र आईक्युव इलेक्ट्रिक स्कुटर समेत उपलब्ध गराएको छ । पेट्रोलको मूल्य बढेपछि आईक्युवले पछिल्लो समय निकै राम्रो बजार पाइरहेको छ ।
नेपालमा होन्डालाई टीभीएस बाहेक यामाहा, हिरो, एथर, चेतक र याडिया जस्ता ब्रान्डका स्कुटरले समेत चुनौती दिइरहेको छ ।


























