काभा महिला भलिबलको सेमिफाइलनबाट बाहिरियो नेपाल
काठमाडौं । नेपाल महिला टिम काभा भलिबलको सेमिफाइनलबाट बाहिरिएको छ। आज बिहीबार इरानसँग सोझो सेटमा ३–० ले पराजित हुँदै नेपाल बाहिरिएको हो। नेपाल पहिलो सेटमा २५–२०, दोस्रोमा २५–१५ र तेस्रोमा २५–११ ले पराजित भएको थियो।
इरानले कजाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। इरानसँग पराजित भएर सेमिफाइनलमा पुगेको कजाकिस्तानले भारतलाई सोझो सेटमा पराजित गरेको छ। खेलभर इरानले उत्कृष्ट ब्लक, डिफेन्स र आक्रमण प्रदर्शन गर्दै नेपालमाथि दबाब कायम राखेको थियो।
खेलको पहिलो सेटमा नेपालले केही समय प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि इरानले अनुभवको फाइदा उठाउँदै सेट आफ्नो पक्षमा पार्यो।
दोस्रो र तेस्रो सेटमा भने इरान पूर्ण रूपमा हावी देखियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी इरानकी जर्सी नम्बर ७१ Masoumeh Ghadami Tabaghdehi ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
यसअघि आजै भएको पहिलो सेमिफाइनलमा काजाखस्तान ले भारत लाई सोझो सेटमा ३–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को उपविजेता काजाखस्तानबीच सेमिफाइनल प्रतिस्पर्धा भएको थियो।
त्यस्तै समूह ‘बी’ को विजेता इरान र समूह ‘ए’ को उपविजेता नेपालबीच दोस्रो सेमिफाइनल खेलिएको हो।
अब तेस्रो स्थानका लागि शुक्रबार दिउँसो १ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ भने फाइनल खेल अपराह्न ४ बजे काजाखस्तान र इरानबीच हुने आयोजकले जनाएको छ। दुवै खेल त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सञ्चालन हुनेछन्। अब फाइनलमा इरान र कजाकिस्तान भिड्ने तय भएको छ।


























