वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति स्वतः विघटन, अब चुनाव हुने
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र चुलिएको चरम आन्तरिक विवाद र गतिरोधमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कडा हस्तक्षेप गरेको छ ।
बहुमत पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिएपछि संघको कार्यसमिति स्वतः विघटन भएको ठहर गर्दै प्रशासनले तत्काल विधानसम्मत निकास खोज्न र विशेष साधारण सभा तथा निर्वाचन गराउन भनेको छ ।
गृह मन्त्रालयअन्तर्गतको जिल्ला प्रशासन कार्यालय, काठमाडौँ (संस्था दर्ता शाखा) ले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई पत्र काट्दै आन्तरिक विवादलाई देखाएर समग्र व्यवसायीको हकहित र सरकारी निकायहरूमा हुने प्रतिनिधित्व नै ठप्प पारिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
संघका बहुमत पदाधिकारीको राजीनामापश्चात सल्लाहकार समितिले कार्यसमिति विगठन भएको घोषणा गरी प्रबन्ध समिति गठन गरेको र सोही प्रबन्ध समितिले विशेष साधारण सभा र निर्वाचन गराउन खोज्दा अवरोध सिर्जना गरिएको पत्रमा उल्लेख छ ।
निर्वाचन तयारीमा भएको अवरोधलाई तत्काल रोकी शान्ति सुरक्षा कायम गर्न र स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा बाँकी कार्यहरू सम्पन्न गराउन प्रशासनले स्पष्ट आदेश दिएको छ ।
प्रशासकीय अधिकृत तीर्थराज कट्टेलद्वारा हस्ताक्षरित उक्त निर्देशनमा संघमा आबद्ध संस्थाहरूलाई समयमै सूचना प्रवाह गरी नवीकरण र आवद्धताका कामहरू तीव्र पार्न भनिएको छ ।
प्रचलित कानुन र विधानबमोजिम हुने कामकारबाहीमा कुनै पनि पक्षबाट अवरोध सिर्जना नगर्न सचेत गराउँदै प्रशासनले यो प्रक्रियाको नियमित जानकारी कार्यालयलाई गराउन भनेको छ ।
साथै, सम्भावित तनाव र बाधा रोक्नका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयले श्री प्रहरी परिसर काठमाडौंलाई समेत बोधार्थ पठाउँदै कडा निर्देशन दिएको छ ।


























