महासंघमा अध्यक्ष अन्जन श्रेष्ठ समूह ८० प्रतिशत निर्वाचित
हेमराज ढकालकाे समूह निकै कमजाेर !
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभाले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । विधानको व्यवस्था अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था अनुसार आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नयाँ कार्यसमितिको अध्यक्ष चयन भएका छन् ।
तर, वर्तमान कार्यसमितिको नेतृत्वमा भएको विधान संशोधन अनुसार आगामी कार्यकालदेखि भने बरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्था खारेज भइसकेको छ । अब हुने महासंघको निर्वाचनले भने अध्यक्षसहितको सबै पदाधिकारी निर्वाचित गर्ने भएकाे छ । विधानको संशोधित व्यवस्थाअनुसार बरिष्ठ उपाध्यक्षमा भने यही पटकदेखि निर्वाचित कार्यसमितिले चयन गर्ने व्यवस्था भएको छ।
महासंघको बैशाख २२ गते सम्पन्न निर्वाचनको बैशाख २३ गते बुधबार सार्वजनिक भएको अन्तिम मतपरिणामले चार उपाध्यक्ष सहित ७३ सदस्यीय कार्यकारिणी समिति चयन गरेकाे छ। वर्तमान अध्यक्ष अन्जन श्रेष्ठकाे समुहले वस्तुगत उपाध्यक्ष बाहेक जिल्ला / नगरका दुई उपाध्यक्ष,एशाेसिएट उपाध्यक्ष सहित तीन उपाध्यक्ष र ८० प्रतिशत कार्यकारिणी सदस्यहरु जितेको छ ।
महासंघको निवार्चनमा बहालवाला अध्यक्ष चन्द्र प्रसाद ढकालको समर्थनमा वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल बरिष्ठ उपाध्यक्षको उमेदवार हुनेगरी समुह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । यस्तै बहालवाला बरिष्ठ उपाध्यक्ष तथा नयाँ कार्यसमितिमा स्वत: अध्यक्ष हुने अञ्जन श्रेष्ठको समर्थनमा जिल्ला/नगर तर्फका उपाध्यक्षलाई बरिष्ठ उपाध्यक्ष घोषणा गर्दै समुह नै बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।
यसरी निवर्तमान अध्यक्ष ढकाल र भावी अध्यक्षले समुह बनाएर चुनावमा प्रतिस्पर्धा गरेको भन्दै महासंघलाई वास्तवमा मायाँ गर्नेहरु भने नेतृत्व तहबाटै गुटगत राजनीतिलाई संस्थागत गरेको भन्दै असन्तुष्ट रहेका थिए । नयाँ निर्वाचित कार्यसमितिले नै बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचित गर्ने भएकाले निवर्तमान ढकाल र अन्जन श्रेष्ठले आफ्नो समूह जिताउन जोडतोडका साथ लागि परेका थिए ।
महासंघको जिल्ला/नगरतर्फ केन्द्रिय कार्यकारिणी सदस्यमा अञ्जन श्रेष्ठले समर्थन गरेको दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माको समुहले ७५ प्रतिशत जित निकालेका छन् । त्यस्तै उपाध्यक्ष हारेको वस्तुगत समुहमा अञ्जन समूहका उम्मेद्वार शिवप्रसाद घिमिरेले हार व्यहोरे पनि करिब ६० प्रतिशत केन्द्रिय कार्यकारिणी सदस्य जितेका छन् ।
त्यस्तै एसोसिएटतर्फ भने केन्द्रिय कार्यकारिणी सदस्यमा बटु लामिछानेबाहेक सबै अञ्जन श्रेष्ठको समर्थन रहेको प्रवलजंग पाण्डे समूहले जितेको छ । अध्यक्ष चन्द्र ढकालले अर्को समूहलाई समर्थन गरे पनि एसोसिएटतर्फको केन्द्रिय कार्यकारिणी सदस्यमा उनका छोरा जेन- जी युवा सचिन ढकाल दुबै समुहकाे टिममा परेका थिए ।
त्यही कारण सचिन ढकालले सबैभन्दा बढी अर्थात् १३१८ मतसहित विजयी भएका छन। उनलाई दुबै समुहले रूचाएकाे देखियाे।एसोसिएटमा अञ्जन श्रेष्ठको समर्थन रहेको समुहका करिब ९५ प्रतिशत बिजयी भएका छन् ।
जिल्लानगर, वस्तुगत र एसोसिएट तीनवटै क्षेत्रमा बहुमत कार्यकारिणी सदस्य जितेकोले बरिष्ठ उपाध्यक्ष पनि अञ्जन श्रेष्ठको समूहबाट निर्वाचित हुने निश्चित जस्तै देखिएको छ । उक्त समुहले बरिष्ठ उपाध्यक्षमा हालका जिल्ला /नगर उपाध्यक्ष सुरकृष्ण वैद्यलाई अघि बढाइएको छ ।
जिल्ला नगरबाट निर्वाचित
महासंघको जिल्ला/नगर उपाध्यक्षमा सिद्धार्थ उद्योग वाणिज्य संघका कृष्ण प्रसाद शर्मा र धुलिखेल उद्योग वाणिज्य संघका दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् । कृष्ण प्रसाद शर्माले ८७ र दिल सुन्दर श्रेष्ठले ८० मत ल्याएर निर्वाचित भएका छन। उनीहरूका प्रतिस्पर्धी उमेश डालमियाले ५७ मत र कल्पना गैरले ३४ मत मात्रै प्राप्त गरेका छन ।
बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको समूहबाट श्रेष्ठ र शर्मा निर्वाचिन हुँदा निवर्तमान अध्यक्ष चन्द्र ढकालको समर्थन रहेको समूहका दाचुला उद्योग वाणिज्य संघकी प्रतिनिधि कल्पना गैरे र झापा उद्योग वाणिज्य संघका प्रतिनिधि उमेश डालमीया पराजित भएका छन् ।
जिल्ला /नगरतर्फको कार्यकारिणी सदस्यमामा पनि कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ समुहकै बाहुल्यता रहेको छ । जिल्ला / नगरतर्फको कार्यकारिणी सदस्यमा खुलातर्फ अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।
यस्तै जिल्ला / नगरतर्फ गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् । प्रदेशगत सदस्यहरूबाट कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ शाह र विकास कुमार शारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीबाट पविन्त्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञ प्रसाद भट्टराई र बाल कृष्ण सुवेदी निर्वाचित भएका छन् ।
यसैगरि कर्णालीबाट पदम बहादुर शाही र पुरीचन्द्र देवकोटा निर्बिरोध निर्वाचित भएका छन। सुदूरपश्चिमबाट पिताम्बर जोशी निर्वाचित भएका छन। यस्तै दानबहादुर सुर्मेली र पिताम्बर जोशीले समान ७ मत ल्याएका छन ।
वस्तुगतबाट निर्वाचितहरू
महासंघको वस्तुगत उपाध्यक्षमा नेपाल एलपी ग्यास उद्योग संघका प्रतिनिधि शिवप्रसाद घिमिरेलाई पराजित गर्दै नेपाल निर्यात परिषद्का नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । घिमिरेले ६० मत प्राप्त गर्दा विजयी भएका श्रेष्ठले ६३ मत प्राप्त गरेका छन् ।
शिव प्रसाद घिमिरे अञ्जन श्रेष्ठले सर्मथन गरेको समुहको नेतृत्व गर्दै चुनावी प्रतिस्पर्धामा थिए भने श्रेष्ठ चन्द्र प्रसाद ढकालले समर्थन गरेको टिमको नेतृत्व सहित निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई बरिष्ठ उपाध्यक्ष बनाउन गरी नरेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा थिए ।
वस्तुगत समूहका केन्द्रिय कार्यकारिणी सदस्यमा खुलातर्फ अरनिको राजभण्डारी, नानीराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राज कुमार कार्की (राजु), लिलेन्द्र प्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे निर्वाचित भएका छन् । १३ जना निर्वाचित हुने यस समुहमा ११ जना स्पस्ट रुपमा निर्वाचित हुँदा ४ जनाको समान ५० /५० मत आएको थियो ।
५० मत प्राप्त गर्ने निराजन बहादुर चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान डेढ डेढ वर्षको कार्यकालका लागि केन्द्रिय कार्यकारीणी सदस्य रहेन गरी निर्वाचन परिणाम सार्वजनिक भएको नेपाल उद्योग वाणिज्य महासंघ स्राेतले जनाएको छ ।
वस्तुगत तर्फ केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित भएकामध्ये अरनिको राजभण्डारी, नानीराज घिमिरे, रविन पुरी, राज कुमार कार्की (राजु), संघर्ष विष्ट र होम प्रसाद घिमिरे शिव प्रसाद घिमिरे समुहका हुन।
यस्तै पशुपतिदेव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, लिलेन्द्र प्रसाद प्रधान र सागर ढकाल नरेशलाल श्रेष्ठ समुहका हुन । ५० मत प्राप्त गर्नेमा रघुनन्दन मारु शिव प्रसाद घिमिरे समुहका हुन् भने चलाउने,अधिकारी र बन्जाडे तीन जना नरेशलाल श्रेष्ठ समुहका हुन ।
वस्तुगत समूह केन्द्रिय कार्यकारिणी महिला सदस्यमा नेपाल कृषि मेशिनरी व्यवसायी संघको प्रतिनिधि सुनिता न्हेम्हाफुकीले कमला श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएकी छन् ।
बस्तुगत समूह केन्द्रिय कार्यकारिणी महिला सदस्यमा निर्वाचित सुनिता न्हेम्हाफुकी शिव प्रसाद घिमिरे समुहकी हुन । कार्यकारिणी सदस्यतर्फ वस्तुगत महासंघ कोटामा ढुुवानी व्यवसायी महासंघ नेपालका विश्वनाथ खनाल र कम्प्युटर एशोसिएसन नेपाल महासंघबाट सुनैना घिमिरे निर्वाचित भएका छन् ।
नेपाल ईटा उद्योग महासंघका कृष्ण प्रसाद अवाल र नेपाल केवल टेलिभिजन महासंघका सुधिर पराजुलीलाई पराजित गर्दै खनाल र घिमिरे निर्वाचित भएका छन । बस्तुगत महासंघतर्फ निर्वाचित भएका विश्वनाथ खनाल घिमिरे समुहका हुन भने सुनैना घिमिरे नरेशलाल श्रेष्ठ समुहबाट विजयी भएकी छिन ।
एसोसिएटबाट निर्वाचित हुनेहरू
महासंघको एसोसिएट उपाध्यक्षमा लोमस फर्मास्युटिकल्सका प्रवल जंग पाण्डे भारी मतका साथ निर्वाचित भएका छन् । वर्तमान कार्यसमितिको उपाध्यक्ष समेत रहेकी जोत्सना श्रेष्ठलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका छन ।
पाण्डेले १ हजार ७९ मत प्राप्त गरेका छन भने श्रेष्ठले ७५० मत प्राप्त गरेकी छन् । निर्वाचित भएका प्रवल जंग पाण्डे शिव घिमिरे समूहका हुन्। जोत्सना श्रेष्ठ हेमराज ढकाल समुहकी हुन।
एसोसिएट समूहको केन्द्रीय कार्यकारिणी सदस्यहरूमा अम्बिका प्रसाद पौडेल, ईश्वर बहादुर जिसी, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्ण लाल महर्जन, दिवश न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबु काजी कार्की, राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, शक्ति कुमार वेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा निर्वाचित भएका छन्। सचिन ढकाल भने प्रवल जंग पाण्डे र जोत्सना श्रेष्ठ दुबै समुहमा थिए ।
एसोसिएट महिला कार्यकारिणी सदस्यतर्फ अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन् । उनिहरुले जमुना पौडेल र शोभा ज्ञवालीलाई पराजित गर्दै निर्वाचित भएका छन् ।
एसोसिएट समूहको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएकामध्ये बटु लामिछाने जोत्सना श्रेष्ठ समुहका हुन। अन्य १६ जना सदस्य प्रवलजंग पाण्डे समुहका हुन् । एसोसिएट महिला कार्यकारिणी सदस्यतर्फ निर्वाचित भएका अभिज्ञा मल्ल र जुना माथेमा पनि पाण्डे समूहका हुन ।
यस्तै महासंघको द्वि-राष्ट्रिय उद्योग वाणिज्य संघबाट मनोज पौडेल र संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन। मनोज पौडेलले सन्तोष चन्द्र कुँवरलाई पराजित गर्दै निर्वाचित भएका हुन।
श्रेष्ठद्धय टिकाराज ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । मनोज पौडेल हेमराज ढकाल समूहका हुन् ।


























