stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पन्ध्र सय पन्चानब्बेको चार जिपिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै गर्दा जिपिए चार ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढेको छ ।

बोर्डले निर्धारण गरेको ग्रेड अनुसार चार जिपिएलाई सबैभन्दा उच्च मानिन्छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार २०८२ सालको एसइईमा एक हजार ५९५ जनाले चार जिपिए ल्याएका छन् । बोर्डका अनुसार २०८१ सालको एसइईमा नौ सय ७१ जनाले मात्रै चार जिपिए ल्याएका थिए ।

यस वर्षको समग्र नतिजा पनि गत वर्षको भन्दा राम्रो छ । यस वर्ष ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड समूहमा परेका छन् । २०८१ सालको एसइईमा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । २०८० सालमा त ४८ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए । पछिल्ला तथ्याङ्कले एसइई नतिजामा निरन्तर सुधार आइरहेको देखाएको छ ।

पछिल्ला वर्षमा बोर्डले एसइई

उत्तीर्ण हुनका लागि सैद्धान्तिक र प्रयोगात्मक दुवै परीक्षामा पूर्णाङ्कको न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने नियम बनाएको छ । त्यसअघि सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर एकीकृत नतिजा सार्वजनिक गर्ने गरिन्थ्यो ।

त्यसका कारण ७५ पूर्णाङ्कको सैद्धान्तिक खण्डमा न्यूनतम २० अङ्क मात्रै ल्याउने पनि २५ पूर्णाङ्कको प्रयोगात्मक खण्डबाट आउने थप अङ्क जोड्दा सहजै उत्तीर्ण हुने गर्थे किनकि

प्रयोगात्मकमा प्रायः सबै परीक्षार्थीले उच्च अङ्क नै पाउने गरेका छन् । दुवै खण्डका लागि न्यूनतम प्रतिशत निर्धारण गरिएपछि भने विद्यार्थीमा पढाइमा मेहनत गर्ने बानी परेको र त्यसले समग्र नतिजामा सुधार आएको सरोकारवालाको भनाइ छ ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले पछिल्ला वर्षको एसइईमा विद्यार्थीमा मेहनत गर्ने बानी विकास भएको र यसैले नतिजामा पनि सुधार ल्याएको बताउनुभयो ।

बोर्डले एसइई नतिजा वैशाख २८ गते सार्वजनिक गरेको थियो । परीक्षा सकिएको २९ दिनमै सार्वजनिक गरिएको यो नतिजा एसइई र एसएलसीको इतिहासमै छोटो समयमा सार्वजनिक गरिएको थियो ।

बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा कुल चार लाख ३० हजार ६६७ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ८४ हजार १६० जना उत्तीर्ण अर्थात् ‘ग्रेडेड’ समूहमा परेका छन् । त्यस्तै एक लाख ४६ हजार ५०७ जना अनुत्तीर्ण अर्थात् ‘नन ग्रेडेड’ समूहमा परेका छन् ।

थपिँदै पुनर्योगका लागि निवेदन

एसइई नतिजामा चित्त नबुझेका परीक्षार्थीका लागि शुक्रबारदेखि पुनर्योगको निवेदन लिन सुरु भएको छ । पुनर्योगका लागि बोर्डले जेठ ७ सम्मको मिति तोकेको छ । बोर्डका अनुसार पुनर्योगका लागि पहिलो दिन शुक्रबार ५ बजेसम्ममा करिब पाँच हजार जनाले निवेदन दिएका छन् । पुनर्योगका लागि चौबिसै घण्टा अनलाइनबाट पनि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

पुनर्योगपछि प्राप्त हुुने नतिजामा पनि चित्त नबुझे परीक्षार्थीले उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिन पाउने छन् । पुनः परीक्षणमा पनि चित्त नबुझे उत्तरपुस्तिका पुनः परीक्षण गराउन पाउने व्यवस्था रहेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले बताउनुभयो । उत्तरपुस्तिका  पुनः परीक्षण  गराउन  चाहनेले  पुनर्योगका  लागि  तोकिएको समयमा निवेदन दिनुपर्ने छ ।

prabhu mahalaxmi
kumari