वैदेशिक रोजगारीको विज्ञापन अब ‘श्रम संसार’ एपमा पनि अनिवार्य रूपमा राख्नुपर्ने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत प्राप्त संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेको छ।
विभागले वैदेशिक रोजगारीका लागि गरिने विज्ञापन अब राष्ट्रिय दैनिक पत्रिकाका अतिरिक्त अनिवार्य रूपमा सरकारको आधिकारिक श्रम संसार एपमा समेत प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो।
वैशाख २५ गते बसेको निर्णयअनुसार विभागले यस्तो सूचना जारी गर्दै सम्बन्धित सबै म्यानपावर कम्पनीहरूलाई सोहीबमोजिम गर्न गराउन निर्देशन दिएको छ।
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ मा वैदेशिक रोजगारीमा कामदार पठाउन पूर्वस्वीकृति प्राप्त भएपछि कामदार छनौट गर्न नेपाली भाषाको कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिएर विज्ञापन प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ।
सोही व्यवस्थालाई थप व्यवस्थित र पारदर्शी बनाउन विभागले अबदेखि यस्ता विज्ञापनहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित श्रम संसार एप मा पनि अनिवार्य रूपमा राख्नुपर्ने निर्णय गरेको हो।
यस प्रक्रियाले वैदेशिक रोजगारीमा जान चाहने कामदारहरूलाई आधिकारिक सूचनामा सहज पहुँच पुग्ने र छनौट प्रक्रिया थप विश्वसनीय हुने विभागको विश्वास छ।
विभागले जारी गरेको सूचनामा उल्लेख भएअनुसार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेपश्चात सोही विवरण खुल्ने गरी एपमा पनि प्रकाशन गर्नुपर्नेछ। वैदेशिक रोजगारीको क्षेत्रलाई प्रविधिमैत्री बनाउने र कामदारहरूलाई ठगीबाट जोगाउन यो कदम चालिएको बताइएको छ।
इजाजत प्राप्त संस्थाहरूले यो व्यवस्थाको पालना नगरेमा नियमानुसार कारबाहीको प्रक्रिया अगाडि बढ्न सक्ने भएकाले समयमै तोकिएको डिजिटल प्लेटफर्ममा सूचना अद्यावधिक गर्न विभागले सचेत गराएको छ।
विभागको वेबसाइट, इमेल तथा उपलब्ध फोन नम्बरहरूबाट यसबारे थप जानकारी लिन सकिने शाखा अधिकृतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

























