एनएमबि बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा सहितका वित्तीय सूचकहरू वृद्धि भएको देखिएको हो।
बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३.२५ प्रतिशतको वृद्धि सहित २ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४९ करोड २ लाख रुपैयाँबाट १३.६८ प्रतिशतले वृद्धि भई ७ अर्ब ३७ करोड ८० लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ८ अर्ब ६५ करोड १ लाख रुपैयाँबाट १७.०९ प्रतिशतले वृद्धि भई १० अर्ब १२ करोड ८१ लाख रुपैयाँ नाघेको छ।
यसरी बैंकको ब्याज आम्दानी र कुल आम्दानीमा उल्लेख्य वृद्धि आएपछि समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ३ अर्ब ५६ करोड २२ लाख रुपैयाँबाट १९.९४ प्रतिशतले बढेर ४ अर्ब २७ करोड २४ लाख रुपैयाँ नाघेको छ।
यता बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३१ करोड १९ लाख रुपैयाँबाट घटेर ९२ करोड ८९ लाख रुपैयाँमा झरेको छ।
त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी १६.४१ रुपैयाँबाट बढेर १७.९५ रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.४७ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७५.१८ रुपैयाँ र बेस रेट ५.२७ प्रतिशत रहेको छ।
चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ सञ्चिति रहेको छ।
बैंकले २ खर्ब ४३ अर्ब ८३ करोड ३ लाख रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी २ खर्ब ९७ अर्ब ८३ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। चैत मसान्तसम्म आइपुग्दा बैंकको सम्पत्तिको कुल मूल्य ३ खर्ब ७५ अर्ब ४० करोड १६ लाख रुपैयाँ नाघेको छ।

























