जापानमा बीवाईडी कारको बिक्री दोब्बरले बृद्धि
काठमाडौं । चिनियाँ ईभी जायन्ट बीवाईडीले जापानमा आफ्ना कारको बिक्री दोब्बरले बृद्धि गर्न सफल भएको छ । जापान अटोमोबाइल इम्पोर्टर्स एसोसिएसन(जेएआईए)द्वारा रिपोर्ट गरिएको पछिल्लो तथ्याङ्क अनुसार, बीवाईडीले मार्च २०२६ मा जापानमा ६२५ सवारी साधन बिक्री गरेको छ, जुन गत वर्षको सोही अवधीको तुलनामा ९१.१ प्रतिशत बढी हो ।
त्यसैगरी कार न्युज चाइनाका अनुसार, २०२६ को पहिलो त्रैमासिकमा जापानमा बीवाईडीको डेलिभरी १ हजार १४२ पुगेको छ, जुन गत वर्षको सोही अवधीको तुलनामा १०० प्रतिशत भन्दा बढीको वृद्धि हो ।
उल्लेखनीय वृद्धि हाँसिल गरेपनि बीवाईडी अझै पनि जापानी कार बजारमा एक सानो खेलाडीका रुपमा परिचित छ । त्यसो त जापानमा न्यू इनर्जी भेइकलको माग एकदमै न्यून भएका कारण पनि बीवाईडी लगायत ईभी ब्रान्डको बजार एकदमै सानो भएको हो ।
मार्च २०२६ मा जापानमा ४ लाख ७ हजार ५६४ कारहरू बिक्री भएकोमा न्यू इनर्जी कराको हिस्सा केवल ४.१५ प्रतिशतमा सिमित रहेको बताइएको छ । गत महिना जापानमा १६ हजार ९२४ युनिट ब्याट्री इलेक्ट्रिक कार र प्लग–इन हाइब्रिडहरू बिक्री भएका थिए, जसमा बीवाईडीको बजार हिस्सा ३.७ प्रतिशत मात्र थियो ।
बीवाईडीले हाल जापानमा सिलायन७, एट्टो३, डल्फिन र सिल गरी कुल चार मोडलका ब्याट्री इलेक्ट्रिक र अर्को एउटा प्लग–इन–हाइब्रिड मोडल सिलायन६ सहित कुल ५ मोडल बिक्री गर्दै आएको छ । साथै कम्पनीले जापानी बजारमा उच्च माग रहेको सिटी कार सेग्मेन्टलाई लक्षित गरी राको ईभी लन्च गर्ने तयारी गरिरहेको छ ।























