stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मर्मतका लागि दुई वर्षअघि इजरायल पठाइएको नेपाल एयरलाइन्स विमानको इन्जिन आज नेपाल आइपुग्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मर्मतका लागि दुई वर्षअघि इजरायल पठाइएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजको इन्जिन आज राति काठमाडौँ आइपुग्ने भएको छ ।

दुई वर्षदेखि आर्थिक विवाद र भुक्तानी नहुँदा इजरायलमै रोकिएको ए–३२० जहाजको इन्जिन निगमको नयाँ महाप्रबन्धक तथा कार्यकारी निर्देशक अमृतमान श्रेष्ठको पहलपछि नेपाल ल्याउन लागिएको हो ।

इन्जिन मर्मतका लागि जिम्मा पाएको इजरायली कम्पनी एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई) सँगको भुक्तानी विवाद मिलेपछि इन्जिन नेपाल ल्याउन लागिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । ‘आज राति नै जहाज इन्जिन लिएर काठमाडौँ अवतरण गर्नेछ,’ श्रेष्ठले भने ।

दुई वर्षअघि इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । सो अवधिमा निगमले भाडाको इन्जिन प्रयोग गरेर जहाज उडाइरहेको थियो । मर्मत खर्च र भाडाको इन्जिनको भुक्तानी समयमै नहुँदा मर्मत कम्पनीसँगको सम्बन्ध बिग्रिएको थियो । मर्मत भइसकेको इन्जिन पनि भुक्तानीको ‘डेडलक’का कारण नेपाल ल्याउन सकिएको थिएन ।

निगममा आफूले पदभार सम्हालेको दुई महिनाभित्रै यो समस्या समाधान भएको महाप्रबन्धक श्रेष्ठले बताए । उनका अनुसार, मर्मत कम्पनीसँग नेगोसिएसन (वार्ता) गरी करिब १० लाख डलर (१ मिलियन डलर) जरिबाना/ब्याज छुट गराउन निगम सफल भएको छ । ‘हामीले मर्मतको पैसा र भाडाको पैसा तिर्‍यौँ, साथै १० लाख डलर कम गराएर सहमति गर्‍यौँ । त्यसपछि कम्पनीले इन्जिन रिलिज गरेको हो,’ श्रेष्ठले भने ।

भाडाको इन्जिन फिर्ता, आफ्नै इन्जिनमा उड्ने

इन्जिन लिन निगमको न्यारोबडी जहाज नै इजरायल गएको थियो । उक्त जहाजले प्रयोग गरिरहेको भाडाको इन्जिन इजरायलमै छोडेर आफ्नै इन्जिन फिट गरी नेपाल आइरहेको श्रेष्ठले बताए ।

उनले यो जहाज इजरायलबाट दुबई हुँदै काठमाडौँ आइरहेको जानकारी दिए । उनका अनुसार उक्त जहाज आज राति नै काठमाडौँ आइपुग्ने छ । दुबईबाट जहाजले यात्रुसमेत बोकेर आइरहेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए । भाडाको इन्जिन प्रयोग गर्दा दैनिक ११ लाख रूपैयाँ खर्च भइरहेको थियो ।

निगमलाई आर्थिक भार कम

आफ्नै इन्जिन आएपछि निगमलाई भाडाको इन्जिन बापत तिर्नुपर्ने ठुलो रकम बचत हुने महाप्रबन्धक श्रेष्ठले बताए । उनका अनुसार सामान्यतया नयाँ इन्जिन खरिद गर्न करिब ४ अर्ब रुपैयाँ लाग्ने गरेको छ । उक्त जहाजको इन्जिन मर्मतमा करिब ८० देखि ९० करोड रुपैयाँ खर्च भएको छ ।

जहाज मर्मत तथा इन्जिनबापतको कुनै पनि रकम भुक्तानी नगरेपछि आईएआईले गत कात्तिक ५ गते नागरिक उड्डयन प्राधिकरण र निगमलाई सम्झौता रद्द गरेको भन्दै पत्राचार समेत गरेको थियो ।

निगमका अनुसार इन्जिन मर्मत बापतको करिब २८ करोड र भाडामा चलिरहेको इन्जिनबापत करिब ४२ करोड गरी ७० करोडभन्दा बढी रकम निगमले उक्त कम्पनीलाई बुझाउनुपर्ने थियो ।

जहाजको इन्जिनको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले समेत चासो राख्दै आएकी थिइन् । उनले मर्मतका लागि इजरायल पठाइएको नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिएकी थिइन् ।

इन्जिन समयमा ल्याउन नसक्दा जहाज ग्राउन्ड हुने जोखिम बढेको थियो । तर अब उक्त समस्या समाधान भएसँगै तत्कालका लागि जहाज ग्राउन्ड हुने जोखिम टरेको छ ।

prabhu mahalaxmi
kumari