citizens life insurance long ad
stcnepal long ad

निःशुल्क उद्धारका लागि कल्याणकारी कोषको ७५ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ ।

बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले निर्देशिकाअनुसार बजेट छुट्याइएको र परराष्ट्र मन्त्रालय मार्फत दूतावासले पठाउने विवरणका आधार बोर्डले कोषको रकम दूतावासमा निकासा गरिने जानकारी दिनुभयो ।

विदेशमा रहेका नेपाली दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकलाई यथार्थ विवरणसहित आवेदन लिन सुरु गरेकाले अर्को सातादेखि रकम माग आउने पनि उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगार कल्याणकारी कोषको रकम मार्फत नेपाली श्रमिक स्वदेश फर्काउन सरकारले जारी गरेको निर्देशिकाको मापदण्डभित्र रहेका श्रमिकलाई आवेदन दिन दूतावासहरूले आग्रह गरेका छन् ।
कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत उद्धार गर्ने निर्णयअनुसार सरकारले तोकेको मापदण्डमा पर्ने श्रमिकको उद्धारका लागि दूतावासले सूचना जारी गर्न थालेका छन् ।

ओमान र मलेसियामा प्रक्रिया सुरु
मलेसिया र ओमानमा रहेका नेपाली दूतावासले विदेशबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकको तथ्याङ्क सङ्कलन सुरु गरेका छन् । ती दूतावासले रोजगारी गुमेर घर फर्कन टिकट काट्न नसकेका श्रमिकलाई आवेदन दिन अनुरोध गरेका छन् ।

दूतावासका अनुसार तोकेको निवेदन ढाँचाअनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेल वा हटलाइन वा ह्वाट्स एपमार्फत निवेदन पेस गर्न सकिने पनि व्यवस्था गरेका छन् ।

निवेदकलाई निवेदन दिँदा राहदानी र रोजगारी करार पत्रको प्रतिलिपिसँगै पेस गर्नसमेत दूतावासले आग्रह गरेका छन् ।

साउदी अरबमा रोजगार व्यवसायी परिचालन
यसैबीच साउदी अरबस्थित नेपाली दूतावासले कोरोनाका कारण धेरै नेपाली श्रमिक समस्यामा परेकाले त्यसको समाधान गर्न इजाजतवाला वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आग्रह गरेको छ । नेपालका केही म्यानपावर कम्पनीले समस्यामा परेका श्रमिकप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा नगरेकामा आपत्ति जनाउँदै आफ्नो दायित्व जिम्मेवारीसाथ वहन गर्न पनि दूतावासले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
दूतावासका विज्ञप्तिमा श्रमिक अपलत्र परेपछि केही इजाजत पत्रवाला म्यानपावरले सम्पर्क नै नगर्ने, सम्पर्क गरे पनि दूतावासले नै समस्या समाधान गर्छ, दूतावास जानु भनेर पठाउने गरेको भन्दै त्यसले समस्या समाधानमा कठिनाइ उत्पन्न भएको उल्लेख छ ।

दूतावास तथा साउदी अरबमा रहेका गैरआवासीय नेपाली सङ्घले रोजगारी गुमाएका वा खाद्यान्नको अभावमा रहेका नेपाली श्रमिकलाई सहयोग गरिरहेको र सहयोगको क्रम जारी रहेको भए पनि श्रमिक पठाउने इजाजत पत्रवालाले जिम्मेवारी नलिइदिँदा सबैका समस्या समाधान गर्न कठिनाइ रहेको पनि दूतावासले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेका  छन।

IME Life
kumari