stcnepal long ad
ime life insurance
national life
global ime bank long

बञ्चरेडाँडामा फोहर विसर्जन वैशाखदेखि, १० स्थान अतिप्रभावित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौँ । सरकारले आगामी वैशाखदेखि दीर्घकालीन फोहर विसर्जनस्थल बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन शुरु गर्ने भएको छ । पहिलो चरणको कार्य आगामी चैत अन्तिम साता सकिने र वैशाख १ गतेदेखि दीर्घकालीन रुपमा फोहरको अन्तिम व्यवस्थापन शुरु गर्ने गरी काम अघि बढाइएको शहरी विकास मन्त्रालयले जनाएको छ । केही समय अघि आन्तरिक समस्याका कारण निर्माण रोकिए पनि हाल नियमित रुपमा निर्माण भइरहेको छ ।

काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले सिसडोलमा दुई वर्षका लागि भन्दै १३ वर्षदेखि फोहरको अन्तिम व्यवस्थापन गर्दै आएका थिए । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी पहिलो चरण सकेर फोहर राख्न शुरु गर्न लागिएको हो । हाल निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनस्थल अहिले फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलबाट दुई किलोमिटर पर पर्छ ।

केन्द्र सरकारले नै फोहर व्यवस्थापन गर्ने स्थान (ल्याण्डफिल) निर्माण गरिदिनुपर्ने कामपाको माग अनुरुप शहरी मन्त्रालयले निर्माण अघि बढाएको हो ।
विसर्जनस्थल निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको जिम्मा शहरी मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।

निर्णयअनुसार बाँध निर्माणको काम सो मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । सम्झौता गरिएको लामो समयसम्म पनि सिसडोलमै फोहर राख्दै आइएकाले पछिल्लो समय त्यहाँका बासिन्दाले फोहर विसर्जनस्थल अन्यत्र सार्न दवाव दिएपछि बञ्चरेडाँडामा निर्माण शुरु गरिएको हो ।

काठमाडौँ उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर लगिने गरिएको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले आगामी दिनमा यसअघि जस्तो समयसमयमा फोहर नउठ्ने समस्या नरहने बताए । विगत वर्षमा वर्षात्का समयमा हप्तौँ फोहर नउठ्ने समस्या हुने गरेको थियो ।

१० स्थान अतिप्रभावित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले सिसडोल ल्यान्डफिल साइड आसपासका १० स्थान अति प्रभावित भएको जनाएको छ । एक महिनाअघि सम्पन्न उक्त अध्ययन प्रतिवेदनले १३ वर्षसम्म फोहर विसर्जन गराइएको स्थान सिसडोल आसपासका स्थानलाई प्रभावित देखाएको हो । उक्त स्थानको वातारणीय प्रभाव मूल्याङ्कन अध्ययन नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तको अग्रसरतामा भएको हो ।

प्रतिवेदनले सिसडोल आसपासका १० स्थान अति प्रभावित, १० ठाउँ प्रभावित र चार स्थान कम प्रभावित भएको देखाएको छ । नुवाकोट जिल्ला, ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी, सोती बालुवा, मङ्गटा टोल १ र २, पाँचमुरी टोल गरी पाँच स्थान अति प्रभावित क्षेत्रमा परेका छन् ।

त्यस्तै धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ । यसैगरी ककनीका आठ र धुनिबेँसीका दुई ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् ।

डा पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेट९तरल पदार्थ० निष्काशन र व्यवस्थापन, माटामा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ । “स्थलगतरूपमा लिइएको नमूनाको प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयवासीको धारणाका आधारमा अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको हो”, डा पन्तको भनाइ छ ।

अध्ययन गत असोज र कात्तिकमा गरिएको हो । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमीनमा पु¥याएको असर, ल्यान्डफिल साइड आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्यान्डफिल साइटबाट निष्काशित ग्यासको अवस्था, साइटबाट उत्पन्न हुने घुलनशील धुलोका कणको अवस्था र तिनले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असरजस्ता विषय समेटिएका थिए । यसका लागि लिचेट निष्काशन हुने एक ठाउँबाट लिचेट तथा कोल्पु खोला एक ठाउँबाट भूमिगत र चार ठाउँबाट सतही पानीको नमूना सङ्कलन गरिएको थियो ।

त्यस्तै ल्यान्डफिल साइटका तीन ठाउँबाट माटो, सिसडोलका दुई ठाउँबाट ग्यास, ककनी–१ र २ का एकएक ठाउँबाट घुलनशील धुलाका कणका नमूना सङ्कलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो ।

IME Lifesidebar
kumari