citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सुधीर बस्नेतको अन्तर्वार्ता–‘म ठगिएको छु, जति थियो बैंकले लिलामी गरेर खायो’

kumari bank
Prabhu Insurance Long Ad
global bank

तपाईंले जसरी परिभाषित गरेपनि अदालतले तपाईंलाई ठग भनेर फैसला गरिसकेको छ नी ?

ठगले आफ्नो परिवारलाई राम्रो गर्ला नी । आखिर के को लागि ठग्ने त ? राम्रो गाडी चढ्न, राम्रो घरमा बस्न, आनन्दको जीन्दगी जिउनका लागि मान्छेले ठग्ने हो । आजको दिनमा मैले पुर्खौली सम्पत्ति गएको छ । ससुरालीको सम्पत्ति स्वाहा बनाएको छु । यही कारणले मेरो सम्बन्ध विच्छेद भएको छ । न त राम्रो गाडी चढेको छु । राम्रोसँग सुत्न समेत पाएको छैन । न त मेरो बैंकमा पैसा छ । न त मेरो घर नै छ । म कसरी ठग भएँ ?

जतिबेला तपाईंलाई ठगीको अभियोग लागेको थियो । त्यो समयमा तपाईंसँग सबैकुरा थियो नी होइन र ?


त्यतिबेला म नेपालको हस्ति व्यापारीमा थिएँ । हाउजिङमा टपमा थिएँ । अन्य व्यापार पनि टपमै थिएँ । सामान्य एउटा जागिर खाने मान्छेले काठमाडौंमा घर बनाउन सक्छ । हामीले अर्बौं रुपैयाँको व्यापार गर्ने मान्छेसँग त्यति सम्पत्ति हुने के नौलो कुरा थियो र । त्यतिबेला मसँग १७ अर्बदेखि २० अर्ब रुपैयाँसम्म सम्पत्ति थियो ।

त्यतिबेला तपाईंसँग १७ अर्बदेखि २० अर्ब रुपैयाँ सम्पत्ति कहाँबाट आयो ?


काम गरेको हुँ । काम गर्दै गएपछि जग्गाको भाउ बढ्दै जान्छ । आज हामीले १० लाखमा किनेको जग्गा केही दिनमा एक करोडमा बिक्री हुन्थ्यो । हामीलाई जग्गाको भ्यालुले बढाएको हो ।

तपाईंको १८/२० अर्बको सम्पत्ति अहिले कहाँ छ ?


त्यही सम्पत्ति खान र म अगाडी बढेको देखेर नै धेरै मानिसहरु मेरा विरुद्ध लागे । मलाई अग्नि एयरबाट हटाउने प्रपन्च रचियो । जतिबेला मलाई पहिलो पटक हनुमान ढोका लगेर थुनीयो । त्यो मुद्दा अहिलेपनि उच्च अदालतमा छ । त्यतिबेला मलाई आफ्नो मुद्दामा पक्राउ गरिएको थिएन । धिरेन्द्र प्रसाद प्रधान भन्ने हुनुहुन्थ्यो । उहाँको नाममा एउटा कम्पनि थियो । त्यो कम्पनिको मुद्दामा मेरो कतै समलग्नता नै नहुँदा पनि मलाई लगियो र टेलिभिजन मार्फत जाहेरी हाल्न प्रचार प्रसार गरियो । प्रहरीले नै त्यतिबेला प्रचार गरेको थियो ।

प्रहरी संगठनले नै तपाईंको विरुद्ध लाग्नु पर्ने के कारण थियो ?


हेर्नुस् नेपाल भनेको कसैको प्रभाव र दबावमा चल्ने मुलुक रहेछ । त्यतिबेला प्रहरी प्रमुख कुवेर सिंह रानालाई कसैले म विरुद्ध दुरुपयोग गरेको हो । अग्नि एयर हत्याउन यो खेल भएको थियो । अग्नि एयर कसले हत्यायो सबैलाई जग जाहेर नै छ ।

तपाईंसँग भएको १८/२० अर्बको सम्पत्ति कहाँ कहाँ पुग्यो त ?


म २०६९ सालदेखि लुकेर भागेको छु । हनुमान ढोका हिरासतमा हुँदा धापासी हाइटको अर्बौंको जमिन र हाउजिङ लिलामी गरेर लगियो । २६ रोपनी जग्गामा रहेको अपार्टमेन्ट बैंकले लिलामी गरेर खायो । त्यसपछि लिलामी हुने क्रम जारी रहयो । एक पछि अर्को गर्दै सम्पत्ति लीलामीको प्रक्रियामा पुर्खौली सम्पत्ति, आफ्नो सम्पत्ति, आफन्तको सम्पत्ति सबै जान थाल्यो । आज बाँकी रहेको ठूलो सम्पत्ति भेगास सिटि पनि खान र लिलाम गर्न नपाएर मलाई नै समस्या पार्ने खेल भइरहेको छ ।

तपाईंको ओरेन्टल सहकारी पीडितको नाममा नै १० अर्ब ऋण छ । भेगास सिटि ५ अर्बको मुल्यांकन छ कसरी तिर्नु हुन्छ ?


हामीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संयुक्त रुपमा मिटिङमा राखिएको थियो । त्यतिबेला मैले समितिलाई भनेको थिएँ–‘तपाईंहरुले निकालेको डाटा गलत भो’
किनभने उहाँहरुको नियत नै मलाई नेपालको सबैभन्दा ठूलो ठग बनाउने कसरी हुन्छ मेरो ल्याबरिटिज धेरै हुन्छ भनेर देखाउने । साँवा पनि आउँदैन भनेर मानसिक यातना दिनका लागि उहाँहरुले १६ अर्ब १७ अर्ब भन्ने गर्नु भएको हो ।

वास्तवमा हाम्रो ओरेन्टल को–अपरेटिभको डिपोजिट भनेको चार अर्ब २० करोड हो । हामीले सेटलमेन्ट गरेपछि ३ अर्ब २० देखि ५० करोड मात्रै बाँकी छ । आज पनि म चुनौतीका साथ भन्नसक्छु । उहाँहरुले ३ अर्बको दाबी पनि गर्नसक्नु हुन्न ।

हाउजीङ तिर उहाँहरुले ७० करोड भन्दा बढी देखाउन सक्नुहुन्न । त्यसको ब्याजको स्याज जोडेर भएन । ६९ सालदेखि हामीले काम गर्न पाएका छैनौँ । ६९ सालमा हामीले हामीले साधारण सभा गरेर हाम्रो संस्था संकटमा रहेको र व्याज तिर्न नसक्ने घोषणा गरिसकेका थियौँ ।

हामीले ६९ सालदेखि आफ्नो सम्पत्ति केही छुन पाएका छैनौँ । भागेर र लुकेर हिँड्नु परेको छ । यसरी जीन्दगी विताएको मान्छेले के काम गर्छ ?

तपाईंबाट ठगिनेहरुको सुचीमा पूर्व प्रधानन्यायाधीश, पूर्व प्रधानसेनापतिसम्म ठूला भिआइपी रहेछन् । त्यस्ता व्यक्तिहरुलाई कसरी ठग्नु भयो ?


सबैभन्दा पहिले मैले ठगेको होइन । एउटा कुरा म स्विकार गर्न तयारछु मैले सानो उमेरमा ठूलो काम गरेँ । मैले काम थाल्दा १७/१८ वर्षको थिएँ । डुब्दा म ३७ वर्ष पुगेको थिएँ । मान्छेले महत्वकांक्षा पाल्नु पाप र गल्ती होइन । नत्र मान्छे चन्द्रमामा किन पुग्थ्यो । मेरो व्यवस्थापन कमजोरी भयो र धरासयी हुन म पुगेँ । यी ठूला मान्छेहरुले मलाई सोधेर पैसा राखेको होइन ।

ठगी भनेको त मैले तपाईंलाई चिनेर फकाई फलाई गरे पैसा लिएर बेपत्ता भएँ भने पो भन्न मिल्छ त । ठगले कहिलेपनि मेरो सम्पत्ति छ । म दिन्छु र मलाई काम गर्न देउ भन्दैन । त्यो किन भनिरहनु पर्थ्यो र । ६९ सालमा मेरो हातमा ४५ करोड रुपैयाँ रकम थियो । त्यही पैसा लिएर विदेश गएको भए हुन्थ्यो नी किन यो टेन्सन लिएर बस्नु पर्थ्यो र । अस्ति भर्खर म जेलमा बस्दा पनि भेगास सिटि दिनुस् तपाईंलाई कुन देशमा कति पैसा चाहियो ? आयोगले भनेको कुरा मान्दिनुस् ।’ भन्ने दलालहरु कति धेरै आएका थिए ।

के थिए ती दलाल ?


हप्तामा ३ जना मान्छे आउँथे । दलालहरु धेरै थिए । तपाईंको नाममा होइन तपाईले भनेको देशमा जति पैसा भन्यो त्यति दिन्छौँ भन्नेहरु थिए । त्यतिबेला म ठग भइदिएको भए त्यतिपैसा लिएर विदेशमा आनन्दले जीन्दगी विताउन सक्थेँ नी ।

तपाईंको यो आर्थिक दुर्घटनामा को दोषी हो ?


सबैभन्दा पहिले हाम्रो नितीको कुरा आउँछ । हाम्रो देशमा कसैले नयाँ नीति ल्याउँछ भने त्यसको प्रभाव के हो भनेर हेर्नुपर्ने हुन्छ । नीति भोलीपल्टैबाट लागु हुँदा कसैलाई राम्रो त कसैलाई नराम्रो हुन्छ । हामी जो हाउजिङमा काम गर्थ्यौँ । एकाएक ब्याज बढ्यो । ९ प्रतिशतमा लिएको ऋण १६÷१७ प्रतिशत हुन गयो । कडा नीति आयो । तर कुनै समयसिमा दिइएन । एउटा नीति निर्माताले हिजो भइरहेको कामलाई ल्यान्ड गराउन एउटा समय दिनुपर्ने थियो । बाटो खोल्ने काम गर्नुपर्छ । तर, दूर्भाग्य त्यस्तो भएन । कोठा भित्र राखेर विरालालाई कुटे जस्तो गरियो । त्यो कारणले गर्दा धरासाही हुन पुथ्यो ।

एउटा व्यक्ति, र संस्थाले भन्दा पनि नीतिगत समस्या नै हो । पोलिसिले इन्सिच्युसनलाई छोयो, इन्सिच्युसनले हामीलाई छोयो । त्यो समय र आजै पनि नेपालीहरुको सबैभन्दा ठूलो व्यावसाय घर जग्गा नै हो । हरेक घरघरमा नेपालमा जग्गा दलाल र व्यापारी छन् । त्यो समयमा आज एक लाखमा किनेको जग्गा भोलीपल्ट २ लाख हुन्थ्यो । सबैले जग्गामा हाले । दुर्घटना हुँदा त्यसको प्रभाव मलाई पर्यो । किनभने म ठूलो रुपमा थिएँ । ठूलो रुपमा भएकैले मलाई समस्या भयो ।

तपाईंको भनाईमा समय नदिइकन सरकारले गरेको नीतिगत निर्णयले कति सम्पत्ति गुम्यो ? ती सम्पत्ति क–कसले खायो ?


– अनगीन्ती मान्छेहरुले खाए । धेरै मान्छे मेरो सम्पत्तिबाट अरबपति र करोडपति बनेका छन् । मलाई नै ठग र चोर भन्छन् । सम्पत्ति मेरो गुमेको छ । एउटा कुरा के हो भने १६ अर्बको सम्पत्ति भएको मान्छेले ४ अर्ब ठग्थ्यो होला र ! त्यतिबेला ४ अर्ब पैसा मेरो लागि केही पनि होइन ।

केही मान्छे धनी भएपनि एकाथरी मान्छेलाई त सडकमा पुर्याइएको छ नी ?


– सडकमा पुगेका मान्छेहरुको हगमा म के भन्छु भने कतिपयको दोष पनि छैन । सडकमा मात्रै होइन कतिपयले औषधी खान नपाएर मर्नु भएको छ । कतिपयको डिभोर्स भएको छ, घरमा कलह भएको छ । धेरै दुख पाएका छन् । बजारमा सुनिएको भन्दा धेरै पीडित भएका छन् । तर, हुँदाखेरी मैले पनि उहाँहरुलाई राम्रो ब्याज तिरेको थिएँ । यो दुर्खटनामा मलाई त्यहीँ भित्रका मान्छेले जाहेरी नहालेको भए सायद स्थिति अर्कै हुन्थ्यो यतिबेला । यद्धपी हामीले यसको सजाय पाइसकेका छौँ । ६९ सालदेखि, भोकै, लुकेर, भागेर दुख पाएर हिँडेको छु । त्यो एउटा ठूलो सजाय हो । अब समस्यालाई समाधान गर्नुतिर लाग्नुपर्छ । समाधान गर्न सबैले मलाई सपोर्ट गर्नुपर्छ ।

तपाईंको सम्पत्ति पनि सकियो । यता पीडितलाई पैसा पनि तिर्न बाँकी छ कसरी तिर्नुहुन्छ ?


जति सम्पत्ति सकिएपनि हामीसँग भेगास सिटि बाँकी छ । विगत सात वर्षमा यसको भ्यालु हाई हुँदै गएको छ । हिजोको दिनमा एक जनालाई चार गुणा सम्पत्ति दिन पुग्थ्यो भने आजको दिनमा त्यति नभएपनि साँवा दिन सक्ने क्षमता मसँग छ । अहिले ३ अर्ब २० करोड रुपैयाँ बाँकी होला । हाउजिङ तर्फ ७०÷८० करोड होला । बैंकले अक्सन गरेर मेरो सम्पत्ति सस्तोमा बेच्ने काम गरिरहेको छ ।

यसलाई म मुद्दामा आउने नै छु । हाल म आउन सक्दिन । किन भने कहाँबाट भ्याउँ । एउटा मान्छे चारैतिरबाट घाँटी न्याकिएको छ । अहिले भएको सम्पत्तिले सबैलाई तिर्न पुग्छ र म जिरोमा पुग्छु । जिरोमा पुग्दा पनि मैले १० अर्ब कमाए बराबर हुन्छ । किनभने नठग्दा नठग्दै पनि मेरो निधारमा ठगीको दाग लागेको छ । पीडितलाई रकम तिरेको दिन म खुसी हुन्छु ।

सरकारले तपाईंको समस्या समाधान गर्न बनाएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले त तपाईंको भेगास सिटि लिलाम गर्ने निर्णय गरेको छ नी ?

– उहाँहरुले कसका लागि लिलामी गर्ने ? पीडित पक्षका लागि होइन र ? जबकी त्रिपक्षीय सम्झौता गरिएको थियो । ओरेन्टल को–अपरेटिभका आधिकारिक प्रतिनिधि, पीडितको प्रतिनिधि, हाउजिङको प्रतिनिधिबीच सम्झौता भएको छ । उहाँहरु यो प्रोजेक्ट बनेपछि मात्रै पैसा आउँछ भन्ने कुरामा विश्वस्त छन् । त्यहाँ पनि बुद्धिजिवी र विज्ञहरु छन् । जब पीडित नै त्यो भेगास बनाएर सम्पत्ति उठ्छ भनेर लागि रहेका छन् भने कसका लागि उहाँहरु लिलाम गर्न खोज्दै हुनुहुन्छ ।

पीडितका लागि लिलाम गर्न लागेको हो की अरु कसैका लागि लिलाम गर्न लागेको हो ?

त्रिपक्षिय सहमति त समितिका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीले गर्नु भएको हो । अहिले समितिको नेतृत्वमा आउनु भएको युवराज सुवेदीजीले त पीडितकै दुहाई दिएर लिलामी गर्ने सुचना निकाल्नु भएको हो नी ?


त्यस्तो भएको भए पीडितहरु नै किन सर्वोच्च अदालतमा मुद्दामा जानु भयो ? किन उहाँहरुले युवराज सुवेदीको पटक पटक विरोध किन गर्नु भयो ? त्यो जरुरी थियो र ? उहाँहरु भन्दै हुनुहुन्छ अध्यक्ष फेरिदैमा त्यो संस्थाको नीति पनि फेर्ने अधिकार उहाँलाई छैन । उहाँहरुले जबरजस्ती गर्न खोज्नु भएको हो । केको लागि लिलाम गर्न खोज्नु भयो त्यो विषयमा उहाँहरुलाई नै थाहा होला । ल ठीक छ लिलामी गरौँ । म पनि मन्जुर, पीडित पनि मन्जुर । तर कति पैसा आउँछ त ? हामीलाई चाहिएको ५ अर्ब, के ५ अर्ब आउँछ लिलामी गरेर ? आजसम्म कुनै डाटा दिन सक्नु भएको छ ?

उहाँले कसका लागि लिलामी गर्न लाग्नु भएको हो त ? तपाईंको आरोप कतातिर हो ?


म कसरी कसैलाई आरोप लगाउँ । होइन भनौँ भने पनि आधार देखिएको छैन । पीडितहरु मिलेर समाधानमा लागिरहनु भएको छ । यदि पीडितको भलो हुन्छ भने पैसा ल्याउनुस् । पारदर्शीतामा पैसा आउनु पर्यो । कसले किन्ने हो मलाई मत्लब छैन । एकतर्फी लिलाम गर्छु भनेर मात्रै हुन्छ ? लिलाम भनेको जसले सबैभन्दा बढी पैसा हाल्छन् उसलाई दिने हो । बीट हाल्ने मान्छे आएन भने सस्तोमा दिनुपर्ने हुन्छ । कसैलाई दोष दिन त मिल्दैन तर आशंकाहरु धेरै छन् ।

तपाईं प्रतिष्ठीत व्यापारी तर, लामो समय ठगी आरोपमा जेल बसेर आउनु भयो ? कस्तो अनुभूति भयो ?


मान्छे जेल बस्दैमा खराब हुँदैन । ठगी मुद्दा लाग्दैमा कसैलाई चोर भन्न पाइँदैन । म जुन कारण जेल बसेँ त्यही दाग मेटाउन अहिले लागि रहेको छु । मेरो कारण धेरै मान्छेले दुख पाउनु भएको छ । भोली यही जनताले मलाई फूलमाला लगाइदिने दिन पनि आउन सक्छ ।

उनीहरुलाई पीडा दिने त तपाईं नै हो नी फेरी ?

– व्यापारमा सही नियत राख्दा राख्दै दुर्घटना हुनु र नियतबस ठग्नु फरक कुरा हो । राम्रो हुँदाको समयमा मेरो कारण धेरैको विहे, बच्चा बच्चीको पढाई भएको छ । यदि म आज राम्रो भएको भए उहाँहरु सबैको राम्रो हुन्थ्यो । सहकारी भनेको सँगै हिँड्ने जाहाज हो । त्यो जहाज डुब्यो भने पाइलट मात्रै डुब्ने कुरा हुँदैन । म ६९ सालदेखि नै जेलमा बस्दै आएको हुँ । तीन पटक जेल बसेँ । फलानो एसपी सापले बोलाउनु भएको छ हनुमान ढोका आउनु पर्यो भनेर बोलाइन्थ्यो । किन भने ठूला बढाको पैसा हाम्रो सहकारीमा थियो ।

तपाईंको हाउजिङ, सहकारी र एयरलाइन्समा समस्या नै समस्या छ । समस्या नै समस्याको बीचमा कसरी समाधान गर्नुहुन्छ ?

– हामी सबै व्यापारीले सिक्नु पर्ने महत्वपूर्ण कुरा एउटा मान्छे गयो भने सबै व्यापार जाने बनाउनु हुँदो रहेनछ । व्यापारलाई अंगहरुमा विभाजन गर्नुपर्ने रहेछ । एउटा विग्रियो भने अर्को व्यापारले टेकओभर गर्नु पर्नेरहेछ । त्यस्तो अवस्था आएको भए अग्नि एयर विग्रँदा हाउजिङ विग्रने थिएन र सहकारी पनि चलिरहन्थ्यो । एउटै व्यक्तिले सम्हाल्दा समस्या हुने रहेछ । अलग अलग व्यक्ति र सिस्टममा जानु पर्ने थियो । अग्नि एयर, हाउजिङ र सहकारीलाई एउटै बास्केटमा ल्याउन खोजिरहेको छु ।

अग्नि एयर नै छैन कसरी बास्केटमा ल्याउनु हुन्छ ?

सिम्रिकले अक्सन गरेको कुरा त उसलाई थाहा भएको कुरा हो । हामीले सिम्रिकलाई दिएको जहाज हो । हाम्रो समय भर्खर सकिँदैछ । हामी डुबेपछि तीनवटा बैंकको दबावमा ब्याज र साँवा तिर्ने भनेर दिएको हो । अक्सन त ब्याज र साँवा नतिरेपछि हुन्छ । त्यो जिम्मेवारी सिम्रीक एयरको थियो । सिम्रिक एयरलाई हामीले किन नसमात्ने त । बैंकले के हेरेर बस्यो ? बैंक दोषी हो की होइन ? बैंक फुस्कन खोजिरहेको छ ।

अहिले नेपालमा बैंक भनेको लुटिखाने भाँडो भएको छ । पहिले गाउँमा साहु महाजन हुन्थे । यतिबेला नेपालका बैंकहरुले साहु महाजनले जस्तो लुटी खाने धन्दा चलाइरहेका छन् । अहिले साहु महाजन छैन र जनताको अधिकार आयो भनिन्छ तर होइन रहेछ । बैंकमा अहिले पनि त्यो सिस्टम छ ।

ती पीडितहरु जसको घरबार उडेको छ । उनीहरुलाई कसरी र कहिले उद्दार गर्नु हुन्छ ?


२०६९ सालदेखि अहिलेसम्म ७ वर्ष भयो । आजसम्म मैले काम गर्न पाएको छैन । बल्ल मलाई काम गर्ने ढोका खुलेको छ । त्यही पनि अवरोध कायम छ । काम गर्न शुरु गर्ने वित्तिकै मसँग समलग्नै नभएको परिवारका सदस्यको खाता बन्द गर्ने काम भइरहेको छ । यद्धपी सयमा ५० वटा बाटोहरु खुल्ला छन् । म काम गर्दैछु ।

६ महिना भित्रमा ओरेन्टल पीडित र हाउजिङ पीडितले केही राहत पाउनेछन् । क्यास बाढ्छु भन्न म सक्दिनँ । किनभने बजारको अवस्था यही हो । ठूला बुकिङकर्तालाई हाम्रो अपार्टमेन्ट लिइदिनुस् त्यसको केही अंश सानो डिपोजिटरलाई दिनुस् जसले फ्ल्याट किन्न सक्दैन ।

तपाईंको सहकारी पीडितको सुची हेर्दा अनामनगरको युवराज सुवेदी पनि देखिन्छ । समिति अध्यक्ष युवराज सुवेदी हुन् ?


– उहाँ सहकारीबाट ऋण लिने माध्येको पीडक देखिनु हुन्छ । पीडित होइन । यो प्रश्न मैले उहाँलाई गर्दा मेरो होइन भन्नु भयो । किन भने सबै कागजपत्र उहाँहरुको हातमा छ । कागजात गायव गर्न सक्नुहुन्छ ।

त्यस्तो व्यक्ति हो भने त्यो समितिमा बस्न मिल्छ र ?


समितिमा बस्न मिल्ने नमिल्ने प्रश्न गौँण हो । हामीलाई त्यो कानुन पनि लाग्दैन । समाधानका लागि राज्यको कुनै निकाय पनि आउन सक्छ । त्यो निकायले बीचमा बसेर समाधानको भूमिका निभाउनु पर्ने हो । एक उहाँको नाममा ऋण देखिएको छ । त्यसलाई प्रष्ट पार्न उहाँले सक्नु भएको छैन ।

उहाँ त सल्टाउन लाग्नु भएको छ नी अवरोध त तपाईंहरुले गर्नु भएको भनिन्छ त ?


सल्टाउने खाका के हो ? उहाँसँग के छ ? मलाई डिपीआर माग्नु भयो । तर, कुनै इन्जिनियर बिना डिपिआर बुझाएको भनेर दोष लगाउनु भयो । त्यो भनिरहँदा मैले निवेदन लगेर दर्ता गर्दा सिस्टम नपुगेको कुरा किन दर्ता गर्नु भो ? दर्ता गरेको भनेको स्विकार गरेको होइन । उहाँहरुलाई डिपीआर भनेको के थियो थाहा थिएन । मैले नै सिकाएको हुँ । आज म चुनौती दिन तयार छु नेपालमा कसैले त्यो डिपीआर कुनै ठाउँमा गलत छ भनेर देखाओस् अनि मात्रै म मान्न तयार छु । उहाँले हामीलाई फैसजा गरेर रेजेक्ट गर्नु भयो । उहाँलाई के अधिकार छ ? म त इन्जिनियर होइन हस्ताक्षेर गर्न मिलेन । उहाँ को त त्यसो भए ? उहाँ इन्जिनियर हो ? के आधार छ ? कुनचाहीँ इन्जिनियरले लेखेर दियो ?

डिपीआर भनिएको कागजात पेश गर्नु भएको भनिएको छनी ?


उहाँको लागि कालो अक्षेर भैँसी बराबर । उहाँको लागि त्यो कागजात नै हो ।
समितिले तपाईंहरुलाई काम गर्न समस्या बनायो र अदालत जानु भयो । अदालतले के आदेश गर्यो ?

समस्या समाधानको प्रयोजनका लागि हामी समितिमा गयौँ । हाउजिङ, सहकारी र हामीबीच समस्या थियो । उहाँहरुलाई समस्या समाधान गर्न साक्षीको रुपमा राखिएको हो । साक्षीमा राखेको मान्छेले यो गर्न दिन्न त्यो गर्न दिन्न भन्ने अधिकार कहाँबाट हुन्छ ।

सरकार र समितिसँग तपाईंको अपेक्षा के हो ?


समितिसँग के कुरा भयो र । नेपालका ३ करोड जनतासँग पनि मलाई मत्लब भएको कुरा होइन । मेरो आफ्नो हाउजिङका पीडित जुन उपभोक्ताहरु हुनुहुन्छ । ओरेन्टलको पीडित जो जो हुनुहुन्छ उहाँहरुले साथ दिएर अगाडी बढिरहनु भएको छ । त्यसरी नै साथ दिनु भयो भने यो समस्या चाँडै समाधान हुन्छ । सरकारले कुनै अवरोध गरिरिदनु भएन । कतिपय ठाउँमा रोक्का राखिएका छन् ती ठाउँहरुमा फकुवा गरिदिनु पर्छ । हामीले सरकारलाई पैसा देऊ मान्छे देऊ भनेका छैनौँ । मलाई मुख्य विश्वास गर्नुपर्ने मेरा पीडितहरुले हुन् । नेपाली ३ करोड जनताले ठग र चोर भनेपनि मलाई मत्लब छैन । यी जो पीडित छन् उनीहरुले मलाई ठग र चोर भनेका छैनन् । त्यसकारण म ठग चोर होइन ।

तपाईंको भनाईको मत्लब निर्वाध रुपमा ठगीरहन पाउनुपर्छ भन्ने हो ?

ठगीको परिभाषा के हो ? यसअघि नै भनिसकेको छु । ठग्ने मान्छेको नियत नै ठग हुन्छ । समस्या समाधान गर्छु भन्दै भन्दैन । मैले भनिरहेको छु,–‘अहिले भेगास सिटि बनेपनि मलाई चाहिँदैन । त्यहाँबाट उठ्ने पैसा मेरो हातमा पर्दैन । उपभोक्ता समितिले राख्छ । त्यो समिति र ओरेन्टल को–अपरेटिभको सहकार्यमा बिल भुक्तानी गर्न लागेको छ । पैसामा म कतै समलग्न छैन । मलाई जुन यो ठग भन्ने दोष लागेको छ यो हटोस् त्यो नै मेरो इच्छा हो ।

तपाईंलाई केही दिनअघि फेरी ठगी आरोपमै थुनियो नी ?

म किन थुनियो भन्ने कुरा भनिरहन पर्दैन । तर, कानुन अनुसार म छोडिएँ । यहाँ कानुन पनि छ नी ।

के तपाईंलाई जेलमै सडाउन आँटेको हो ?

जसले जाहेरी हाल्नु भयो उहाँहरुको इच्छा हेर्दा त्यस्तै लागेको छ । म बाहिर बस्दा यसलाई लिलामी गर्न पाइएन । पीडितहरुले साथ दिएका छन् ।

सुधीर बस्नेतले पीडा सुनाउने र मान्छेलाई सँधै पीडामा पारिरहने शैली मात्रै हो भन्छन् नी ?

त्यो कुरा सही हो । २०६९ सालदेखि धेरै कुराको आश्वासन दिइयो । अहिलेसम्म आश्वासन नै बाँडीराखिएको छ । यस्तो अवस्थामा मान्छेहरुले भन्ने सत्य कुरा हो । तर मैले काम गर्ने मौका कहिले पाएँ त ? २०६९ सालमा म थुनिएँ । हनुमान ढोकाबाट निस्कँदा सारा सम्पत्ति रोक्का थियो । ६ महिनापछि पुर्पक्षका लागि थुन्ने प्रपञ्च भएपछि लुकेर हिँडेँ । भूकम्पको समयमा फर्किएर आएँ । पीडितहरुलाई साथ दिएर अगाडी बढ्दै थिएँ । फेरी पक्राउ परेँ र जेल बसेँ । बाहिर निस्किएर भेगास सिटि बनाउन लडाईँ गरेँ । मैले राम्रोसँग काम गर्न पाएकै छैन ।

अदालतको पछिल्लो आदेश अनुसार तपाईंलाई काम गर्न कसैले रोक्दैन । सरकारले पनि अब सहयोग गर्लान् अब न्याय पाउँछन् त पीडितले ?

अब मैले काम थालेको छु । सबै कुरालाई मैले ट्रयाकमा लगिसकेँ ।

सामाजिक रुपमा तपाईंलाई सबैले ठग भन्छन् । तपाईंलाई आत्मग्लानी हुँदैन ?


सबैभन्दा पहिला मिडियाले हेर्नुपर्छ म वास्तवमा ठग हो की होइन । गाली गरेर मिडिया चल्दैन र जे मन लाग्यो त्यो लेख्न पनि हुँदैन । त्यसकारण सरसर्ती हेर्दा मान्छे ठगिएका छन् । तर वास्तवमा भएको के हो भनेर मिडियाले बुझ्नु पर्छ । नियतबस ठगिएको हो की दुर्घटना भएको हो । मिडियाले यसलाई समाधान कसरी गर्ने भनेर सोच्नुपर्छ । ठग भनेर बाटो खुल्छ भने खोलौँ । जति लेखेपनि हुन्छ लेखौँ मलाई कुनै आपत्ति छैन । तर, समस्या समाधान हुनुपर्छ । म ठग होइन भन्नेकुरा मलाई मात्रै थाहा छ ।

भनेपछि तपाईं आफै ठगिएको हो त ?


पीडितका अगाडी म ठगिएको छु भन्न भएन । पीडित भन्दा बढी म ठगिएको छु । २०६९ सालदेखि अहिलेसम्म विभिन्न समयमा मलाई दुख दिइएको छ ।

मान्छेको लागि पैसा भन्दा ठूलो जीन्दगी हो । जीन्दगीदेखि नै ठगिएको छु । समाजमा घृणित भएको छु । सम्पत्तिको कुरा गर्नुहुन्छ भने सबै लुटेर खाएका छन् । बैंक, व्यक्ति सबै मलाई नै ठगिरहेका छन् । जति थियो बैंकले लिलामी गरेर खायो । मिनिमम भ्यालु गरेर लिलामी गरेर मलाई सिद्याइयो । (Source : diyopost.com)

gold
himalayan life insurance long ad