श्री उग्रचण्डी नाला भगवती एक दर्शनीय स्थल
जयन्ती मङ्गलाकाली, भद्रकाली कपालीनी । दुर्गा क्षमा शिवा धात्री, स्वहाः स्वधा नमस्तुते ।।
१. विषय प्रवेश
काभ्रे जिल्लाका विभिन्न स्थानहरूमा धेरै प्रसिद्ध देवीहरूको धार्मिक स्थलहरू छन् । जस्तै पाँचखालको पलाञ्चोक भगवती, धुलिखेलको काली देवी, बनेपाको चण्डेश्वरी माई, साँगाको नासिका भगवती, नालाको उग्रचण्डी भगवतीका देवस्थल रहेका छन् । उल्लिखित शक्तिका प्रतीक मानिने भगवतीहरू काभ्रेमा जस्तै काठमाडौंमा शोभा भगवती, भक्तपुरको भेलुखलमा सुन्दर कलात्मक भगवतीको मूर्तिहरू छन् ।
विश्व हिन्दू महासंघ जिल्ला समिति, काभ्रेपलाञ्चोकले काभ्रे जिल्लास्थित धार्मिक क्षेत्र, मन्दिर तथा तीर्थको संरक्षण र सम्वद्र्धनको साथै पर्यटन प्रवद्र्धनको लागि अध्ययन र अनुसन्धानसहितको स्मारिका तयार गर्न लागेकोले उक्त स्मारिकामा समावेश गर्न मेरो एउटा लेख लेखिदिन सभापति श्री उद्धवप्रसाद भट्टराईज्यूले मलाई अनुरोध गर्नुभयो ।
उक्त संस्थाले गर्न लागेको यो अति महŒवपूर्ण कार्यमा मलाई सहभागी हुने मौका दिनुभएकोमा उद्धवजीलाई धन्यवाद अर्पण गर्दछु । यो लेख तयार गर्न २०८० पौष १२ गते काभ्रे जिल्लाका श्री साधुराम गिरीजी र म स्वयम् उक्त मन्दिरको स्थलगत अध्ययन गर्न गयौँ । मन्दिरका पुजारी श्री कृष्णगोपाल कर्माचार्य र हालको पुजारी श्री राजकुमार कर्माचार्य उक्त मन्दिरकै प्राङ्गणमा बसी उहाँहरूसँग छलफल ग¥यौं । मेरा जिज्ञासा र प्रश्नहरूको उहाँहरूले जवाफ दिनुभएको कुरा पनि यो लेखको एउटा प्रमुख आधार हो ।
२. भौगोलिक विवरण
काठमाडौँ उपत्यकासँग जोडिएको काभ्रे जिल्ला, बनेपा नगरपालिका वडा नं. २ स्थित नाला सहर, एउटा प्राचीन सहर हो । यस स्थानमा पुग्न भक्तपुर नगरबाट हिँडेर १ घण्टा ३० मिनेटमा पुग्न सकिन्छ । हाल भक्तपुरबाटै मोटर, मोटरसाइकल आदिबाट करिब २० मिनेटमा यहाँ सजिलै पुग्न सकिन्छ । बनेपा नगरपालिका, नाला तीनदोबाटबाट हिँडेर करिब ३० मिनेट र सवारीसाधनबाट १० मिनेटमा यहाँ पुग्न सकिन्छ । भक्तपुरको नगरकोटबाट पनि त्यस स्थानमा आउनजान राम्रो सडक बनिसकेको छ । नालाको वरिपरी हरियाली जंगलको मनोरम दृश्य यहाँको एउटा विशेषता हो ।
३. ऐतिहासिक/पौराणिक विवरण
यस नाला सहरको नाम सत्य युग र त्रेता युगमा नागिरीपुर, द्वापर युगमा उत्तरापुर रहेका थिए । यो कलियुगमा नालाङ्ग हुँदै कलियुगको ५१२ सालसम्ममा नाला शब्दले यो स्थानलाई सम्बोधन गरिन्छ । उक्त नागिरीपुरका राजा दीर्गरथ, रानी शुभलक्ष्मीले अष्टमी व्रत पूजा अनुष्ठान गर्दा शुधर्मादेवी यस स्थानमा सदाकाल रहनेगरी पवित्र शिलामा सिद्ध हुनुभयो । उक्त शिलानै नालाको उग्रचण्डी भगवती माताको साक्षात रूप मानिन्छ ।
दशौं शताब्दीमा उक्त शिलामा उग्रचण्डी भगवती मूर्ति निर्माण गरी विधिवत पूजा अनुष्ठान गरी आएको मानिन्छ । किराँतकाल, लिच्छवीकाल, मल्लकाल र शाहकाल हुँदै वर्तमान समयसम्म पनि यहाँ विधि विधान अनुसार अनेकौं पूजापर्वहरू गर्ने गरी आएको छ ।
४. पूजापर्व धार्मिक अनुष्ठान
यहाँ पूजापर्वहरू, कर्मकाण्ड, तान्त्रिक विधिअनुसार कर्माचार्यहरूबाट गरिन्छ । यो नाला सहरमा भक्तपुरको श्री नवदुर्गा भवानीको विशेष पर्व पूजा तीन दिनसम्म नवदुर्गाको नाच जात्रा हुने गर्दछ । चैत्र महिनामा चैते दशैंको दिन बोका बली पूजा, अक्षय तृतीयाको दिन पूजा, शिवरात्री पूजा, देवीमातालाई सिन्दुर चढाई सिन्दुर जात्रा पनि गरिन्छ ।
असारमा किसानहरूले धान खेती रोपाईको शुभारम्भ पूजा, श्रावण महिना शुक्ल चतुर्दशी जनै पूर्णिमाको एकदिन अगाडिको दिन चाँपको फुल चढाउने पर्व, भाद्र महिनाको (इन्द्र जात्रा) पूर्णिमाको दिन यथासम्भव विभिन्न गेडागुडी भुटेर तयार पारी हाँस उढाउने प्रदर्शनी गर्ने, आश्विन कृष्ण तृतीयाका दिन देवीको घर (द्योःछें)को किसी खलः नाइकेले विधिपूर्वक पूजा गरी श्रीको मूर्तिलाई रथमा राखेर जात्रा गरिन्छ ।
दशैँको महाअष्टमी, महानवमी, विजया दशमीको टीका ग्रहण, एकादशी, द्वादशीमा पनि विधि विधानअनुसार पूजा गरिन्छ । कार्तिक पूर्णिमाको दिन (सकिमना पुन्ही) मनाउने, भोलीपल्ट बिहान छागबली पूजा गरिन्छ । दारु पूजा अर्थात वार्षिक पूजाको बेला नालाभगवतीको स्थानमा ८ ओटा बोका, १ ओटा राँगो, १ ओटा हाँस बली दिई तान्त्रिक विधिअनुसार पूजा गरिन्छ ।
५. श्री उग्रचण्डी भगवती मन्दिर
इतिहासकार श्री हरिराम जोशीले लेख्नुभएको “हिन्दू देवी देवता” नामक पुस्तकमा उल्लेख भए अनुसार यो मन्दिर छैठौं शताब्दीमा बनेको हो । यो कलात्मक मन्दिर अग्लो ४ तल्ला छाना भएको, मन्दिरको गजुरदेखि तलसम्म सुनको गजुर र मोलम्बा लत्की रहेका छन् । मन्दिरको अगाडि ३ ओटा शिलाको अग्ला खम्बाहरू छन् ।
खम्बाको माथि विभिन्न चराहरूको मूर्ति रहेका छन् । मन्दिरको अगाडि प्रवेशद्वारनिर दाँया, बाँया एउटै ढुङ्गाले बनाइएका आकर्षक सिंहहरू छन् । मन्दिरको पश्चिमतिर ३ ओटा धाराहरू (तीनधारा) छन् । देवीलाई नित्यस्नान यसै धाराको जलबाट गराइन्छ । मन्दिरको विभिन्न ठाउँहरूमा शिलापत्र र ताम्रपत्रहरू छन् । मन्दिरको वरिपरि काठका कलात्मक झिंगटीले छाइएका पाटीहरू छन् ।
यी पाटीहरूमा भजन कीर्तन गरिन्छ र कुसुलेहरूले माहलिङ बाजा बजाउने गरिन्छ । यो मन्दिर जीर्ण भएकोले हालै पुरातŒव विभागबाट जीर्णोद्वार हुन लागेको अवस्थामा छ । हालसम्म एक तल्ला निर्माण भइसकेको छ, बाँकी काम पनि यथाशीघ्र सम्पन्न होस् भन्ने स्थानीय बासीको चाहना छ ।
६. तीर्थाटन/पर्यटन
आ–आफ्नो विश्वास र धार्मिक आस्थाको कारण पुण्य प्राप्त गर्न विभिन्न देवदेवी दर्शन गर्न जानु नै तीर्थाटन हो । यस दृष्टिले नाला जाने तीर्थालुहरू धेरै छन् । यो एक पक्ष हो । वर्तमान समय मनोरञ्जन, दृश्यावलोकनको लागि कुनै स्थानमा घुमघाम गर्न जाने पर्यटन यात्रा हो । यस दोस्रो पक्षको कारणले पनि नाला सहर एक पर्यटकीय क्षेत्र मान्न सकिन्छ ।
यहाँ रहेका अनेकौं प्राचीन सम्पदा, नाचगान, जात्रा, पर्व, पूजाहरू, कलात्मक सुन्दर मूर्तिहरू, मन्दिर, ढुङ्गेधारा, शिलापत्र, ताम्रपत्रहरूको अध्ययन अनुसन्धान गर्ने उपयुक्त थलोको रूपमा रहेको छ ।
यसरी नै विभिन्न कलाकारहरूले आफ्नो कला, नाच, गान, छायांकन गर्न (तस्विर खिच्ने) कार्यको लागि पनि यो नाला सहर एउटा उपयुक्त गणतव्य स्थल मान्न सकिन्छ । यहाँ आउने यात्रु – पर्यटकहरूको लागि सुविधाजनक बाटो, सवारीसाधन हुनुको साथै यहाँ रहेका स्वादिष्ट चमेनागृहहरू रात बिताउनको लागि होमस्टे, लज, होटल, सभासम्मेलन गर्ने सुविधायुक्त हलहरू पनि छन् ।
उल्लिखित कुराहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूको लागि यो सहर एउटा गणतव्य स्थल भन्न सकिन्छ । यस स्थानको प्रचार प्रसार स्वदेश तथा विदेशमा समेत व्यापक रूपमा हुनु जरुरी छ । यसबाट स्थानीय व्यापारी, किसानलगायतका विभिन्न व्यवसायीहरूको आयआर्जन वृद्धि हुने निश्चित छ । यस कुरालाई यहाँका स्थानीय बासिन्दा, संघसंस्था र सम्बन्धित स्थानीय निकायबाट आवश्यक कार्य हुनु वाञ्छनीय छ ।
जय नाला उग्रचण्डी भगवती ।
सन्दर्भ सामग्री
१. एल.टी.डी. कर्माचार्य स्मृति प्रतिष्ठान १२÷१२८ धरान, सुनसरी नेपालले प्रकाशित गरेको ‘नाला उग्रचण्डी भगवतीको एतिहासिक महिमा एवम् संक्षिप्त परिचय’ पुस्तिकामा रहेको रचनाकार श्री सिद्धिबहादुर कर्माचार्यज्यूको रचनालाई पनि यस लेखको आधारको रूपमा लिएको छु ।
२. प्रभातफेरी साप्ताहिक पत्रिका, वर्ष १९, अंक २६ – २०८० पौष ११ गते बुधबार ।