यात्रु चढिसकेपछि किन रद्द गर्यो एअर इन्डियाले दिल्लीका लागि उडान ?
काठमाडौँ । काठमाडौँबाट भारतको दिल्लीका लागि बिहीबार राति ९:३० बजे उड्नुपर्ने एअर इन्डियाको उडान रद्द भएपछि यात्रुहरुलाई होटलमा ल्याएर राखिएको छ।
उडानको सबै प्रकृया पूरा गरेर जहाजमा यात्रुसमेत बसिसकेपछि अन्तिम समयमा आएर उडान रद्द भएको खबर यात्रुहरुलाई गरिएको थियो ।
गएराति ९:३० मा उड्ने तयारी गरेको विमानले राति ३ बजेतिर मात्र सबै यात्रुलाई काठमाडौँको होटर र्याडिसनमा ल्याएर राखिएको थियो ।
प्राविधिक कारणले भन्दै उडान रद्द भएको जानकारी यात्रुहरुलाई गराएपनि खास कारण नभनिएको होटलमा फर्किएका यात्रु सतिश वस्तीले जानकारी दिए ।
यसैबीच, एअरपोर्ट सुरक्षा निकायले पाइलटको उडान अबधि हिजोका लागि पूरा भएको र अधिक समय उडाउन नपाउने हुँदा उडान रद्द गर्नुपरेको नेपालटिभीअनलाइनलाई जानकारी दिएको छ।
पाइलटलाई प्रतिदिनको उडान समय तोकिएको हुन्छ । एअर इन्डियाका ड्युटी सुपरभाइजर विष्णु दाहालले प्राविधिक कारणले हिजोको उडान रद्द भएको र आज दिउँसो मात्र उडान भर्ने भन्दै सबै कनेक्टिङ फ्लाइटको रि–सेडुलिङ हुने जानकारी दिनुभयो ।