ज्येष्ठ नागरिकको सुरक्षा आवश्यक
काठमाडौँ । नेपालीमा एउटा रैथाने उखान छ, ‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको’ । ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधमाथि’ भनेर ‘खुइइय’ गर्ने अवस्था बूढेसकालमा नहोस् भनेर ज्येष्ठ नागरिकका लागि सरकारले २०५१ सालदेखि ‘वृद्ध भत्ता’ दिन सुरु गरेको थियो ।
यद्यपि यसको पछाडि कारण थिए, ‘उहिलेका कुरा खुइले’ भनेर परिवार र समाजबाट ज्येष्ठ नागरिकमाथि उपेक्षा, दुव्र्यवहार र घृणा नहोस् ।
नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत ज्येष्ठ नागरिकका ज्ञान, सीप र बुद्धि पुस्ता हस्तान्तरण गर्न नयाँ अवधारणा ल्याएको छ, ज्ञान केन्द्र, ध्यान केन्द्र र आराम केन्द्र स्थापना ।
जहाँ, ज्येष्ठ नागरिकले आफ्ना जीवनकालमा आर्जन गरेको ज्ञान, सीप र बुद्धि हस्तान्तरणको अवसर पाउनेछन् । यद्यपि यतिबेला ज्येष्ठ नागरिक कोरोना भाइरसको उच्च जोखिममा समेत छन् ।
यस्तो बेला व्यक्ति, परिवार, समाज र राज्यबाट ज्येष्ठ नागरिकमाथि विशेष स्याहार र सुरक्षा अझ आवश्यक रहेको ठम्याइ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको छ ।
१५ जुन अर्थात् असार १ गते । ‘ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको आवाज बुलन्द गरौँ’ भन्ने मूल नारासाथ विश्वभर ज्येष्ठ नागरिकप्रति गरिने दुुव्र्यवहारविरुद्ध १५औँ विश्व चेतना दिवस मनाइँदै छ ।
विश्व चेतना दिवसकै सन्दर्भमा महासङ्घले ज्येष्ठ नागरिकले सम्मानित र मर्यादापूर्वक जीवनयापनका लागि सहजीकरण गर्न सबैमा हार्दिक अपिलसमेत गरेको छ ।
महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले कोरोनाको जटिल अवस्थामा ज्येष्ठ नागरिकमाथि अझ बढी दुव्र्यवहारका घटना हुन सक्नेतर्फ सचेत रहन सबैमा आग्रह गर्नुभयो ।
जनसङ्ख्याको ८.१३ प्रतिशत ज्येष्ठ नागरिकविरुद्ध हुने दुुव्र्यवहार रोक्न सबैले आवाज उठाउनुपर्ने धारणा उहाँको छ । कोरोनाको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकलाई बचाउन परिवार, समाज र राष्ट्रको ध्यान आकृष्ट गराउन महासङ्घले बुँदागत रूपमा ज्येष्ठ नागरिकको सुरक्षामा अपनाउनुपर्ने सावधानीबारे उल्लेख गरेको छ । त्यस्तै ज्येष्ठ नागरिक माथिको दुुव्र्यवहार रोक्नसमेत बुँदागत रूपमा महासङ्घले सरकारलाई सुझाव दिएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०११ सालदेखि जुन १५ लाई ज्येष्ठ नागरिकप्रति गरिने दुुव्र्यवहार विरुद्धको दिवस घोषणा गरेको हो । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा सन् २००७ देखि नै जनचेतनामूलक कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाइँदै आएको छ ।
सरकारको विशेष ध्यान : गुरुङ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाइरस रोग (कोभिड–१९) को महामारीबाट ज्येष्ठ नागरिकलाई जोगाउन सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ ।
ज्येष्ठ नागरिकको स्वास्थ्य र सुरक्षामा सचेत रहन सबैलाई आग्रह गर्दै उहाँले ज्येष्ठ नागरिकप्रति गरिने हिंसा, अवहेलना र दुुव्र्यवहारविरुद्ध सबैले आवाज उठाउन अपिल गर्नुभयो ।
१५औँ ज्येष्ठ नागरिक दुुव्र्यवहार विरुद्धको विश्व चेतना दिवसका अवसरमा शुभकामना दिँदै उहाँले संविधानको मर्म र भावना अनुरूप ज्येष्ठ नागरिक सम्बन्धी ऐन समयसापेक्ष बनाइने बताउनुभयो ।
बजेट मार्फत ज्येष्ठ नागरिक गृह स्थापना गर्ने कार्यक्रम सरकारले ल्याएको चर्चा गर्दै उहाँले ज्ञान, सीप र अनुभव पुस्तामा हस्तान्तरण गर्न स्थानीय तहको सहभागितामा ज्येष्ठ नागरिक मिलन केन्द्र, ज्ञान केन्द्र, ध्यान केन्द्रलाई व्यवस्थित र विस्तार गरिने बताउनुभयो ।