न्याय क्षेत्रमा ठुलो चिन्ता !

काठमाडौं । अहिले न्याय क्षेत्रका मानिसहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुँदा अपाच्य राजनीतिक प्रभावमा नियुक्ति पाएको वा प्रधानन्यायाधीशसँगको व्यक्तिगत निकटताबाट नियुक्ति हुन सफल भएको न्यायाधीशको मनस्थिति कल्पना आइरहेको छ ।
२०७२ सालपछि यसरी नियुक्त भएका न्यायाधीश प्रति सञ्चार जगत र सामाजिक सञ्जालमा धेरै टीका टिप्पणी र आलोचना भएका छन। यस अघि नियुक्त भएका कुनै न्यायाधीशहरुले पनि यस्तो टीका टिप्पणी व्यहोरेको जस्तो लाग्दैन।
त्यस्तो टीका टिप्पणी र आलोचनाले उत्पन्न गराउने संकोच, आत्माग्लानी, पश्चाताप,आक्रोश र हिनता जस्ता मनोभावना भएको मस्तिष्कले कसरी सर्वोच्च अदालतको न्यायाधीश जस्तो सालिन र गरिमामय पदमा रहेर त्यो पदसँग अपेक्षा गरेको जिम्मेवारीपूरा गर्न सक्दा हुन् ?
त्यस्तो मनस्थितिले त्यो जिम्मेवारी पूरा गर्न नसक्ने निश्चय नै छ। यसको अर्थ यो हो कि या त उहाँहरु न्यायाधीश हुन लायक बन्न सक्नु भएको छैन या त उहाँहरुको मनस्थिति सामान्य समझको मानिसको जस्तो छैन। यी दुबै कुरा स्वतन्त्र न्यायपालिकाका लागि घातक हुन्। त्यो घात अहिले नेपाली जनताले व्यहोरी रहेका छन्। प्रधानन्यायाधीशको बहिर्गमनको प्रसङ्गमा अहिले अरु न्यायाधीश प्रति पनि ओैंला ठडिएका छन्।
अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको हर्कत विरुध्द एकताबध्द भएको कुरा तत्कालीन रुपमा उपयुक्त नै देखिए पनि त्यो पङ्तिबध्दताले उहाँहरु प्रतिको विश्वास र योग्यताको पक्षपोषण गर्न सक्दैन। राणापथको पुनरावृत्ति हुने आशंका र त्यस्तै बहिर्गमनको खतरा पनि कालान्तरमा रहि रहन्छ।
दण्डहीनताको बहिर्गमनले निम्त्याउने परिणाम भनेको राणापथको पुनरावृत्ति नै हो। सबैले बुझिराखे हुन्छ। नेपाली जनताले खोजेको न्यायपालिका भनेको एउटा पथको समाप्ति पछि अर्को पथको शुरुवात निश्चय पनि होइन ।
स्वतन्त्र भनेर न्यायार्थीहरुले विश्वास गरेको न्यायपालिका हो। हाम्रो प्रयास त्यसैको खोजीमा हुनु पर्दछ। स्वस्थ न्यायको खोजी हुनु पर्दछ।