कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ नभएका विद्युत् प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण जरिवाना नलाग्ने भएको छ ।
यस्तो व्यवस्थाका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निर्देशन दिएपछि प्राधिकरण व्यवस्थापनले मिटर रिडिङ नभएका ग्राहकसँग जरिवाना नलिन र लिइसकेको भए आगामी बिलमा मिलान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेसँग मन्त्रालयमा भएको छलफलका क्रममा तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।
कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश गाहक र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन ।
मन्त्री पुनको निर्देशन लगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचना समेत जारी गर्न लागिएको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताउनुभयो ।
मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरू प्राविधिक कारणले विद्युत् अनियमित भए तत्काल समस्या समाधान गर्न पनि निर्देशन दिनुभयो ।
त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उहाँले सुझाव दिनुभएको छ । लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत् नियमित नभए उनीहरूको पढाइ प्रभावित हुने भन्दै यो विषयमा संवेदनशील हुन निर्देशन गर्नुभएको थियो ।
























