नेपाल आयल निगमको इथाइनल प्रयोग गर्ने सकारात्मक प्रयास
काठमाडौं । नेपालमा महंगो मूल्य पर्ने विदेशी पेट्रोलियम पदार्थको आयात घटाउने,स्थानीय उखु, गाँजा, मकै, आलु,कासावा लगायत अन्य बनस्पतिबाट पाइने इथाइनल खरिद गरेर पेट्रोलियम पदार्थमा मिसाई देशका स्थानीय उत्पादनको खपत बढाउने तथा विदेशी मुद्रा जोगाउने उदेश्यले नेपाल आयल निगम लिमिटेडले चिनी उद्योगबाट इथाइनल खरिद गरेर पेट्रोलमा इथाइनलको प्रयोग गर्न लागेको छ ।
चिनी उद्योगहरूले सरकारलाई विगत दस वर्ष अगाडि देखिनै औपचारिकरुपमा पत्र लेखेर इथाइनलको प्रयोगमा प्रोत्साहन दिन माग गर्दै आएका छन् ।
यसो गर्दा थोरै पेट्रोलबाट धेरै शक्ति निकाल्न सकिने र इन्धन खर्च पनि घटन सक्ने दाबी गरिएको छ । यसका लागि लामो समयदेखि सुगर मिलका सञ्चालकहरूले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पेट्रोलमा इथाइनल किनेर मिसाउन औपचारिक आग्रह गर्दै आएका छन।
के हो इथाइनल इन्धन भनेको ?
इथानोल इन्धन भनेको उर्जाको लागि प्रयोग हुने इथाइल अल्कोहल हो। मादक पेय पदार्थको रूपमा प्रयोग हुने अल्कोहलको प्रकार पनि इथाइनल अल्कोहल नै हो । यो प्रायः जसो मोटर इन्धन, मुख्यतया पेट्रोलको लागि एक जैविक ईन्धन संयोजकको रूपमा प्रयोग गरिन्छ।
इथानोल ईन्धनको ‘पेट्रोल ग्यालन समतुल्य (GGE) १.५ छ, अर्थात् १ लिटर पेट्रोलले दिने बराबरको उर्जा प्राप्त गर्न १/५ लिटर इथानोलको आवश्यकता पर्छ।
बायोइथानोल (जैविक इथानोल) नवीकरणीय उर्जाको एक रूप हो। जुन कृषि उत्पादनबाट उत्पादन गर्न सकिन्छ। यो साधारण बालीहरू जस्तै गाँजा, उखु, आलु, कासावा र मकैबाट बनाउन सकिन्छ । पेट्रोल प्रतिस्थापनमा जैविक इथाइनल कति उपयोगी छ भन्ने बारेमा पर्याप्त बहस भएको छ।
यसको उत्पादन र प्रयोगको चिन्ता खाद्यान्नको मूल्य वृद्धिसँग सम्बन्धित छ। यसको कारण भनेको खाद्यान्न उब्जनीको लागि आवश्यक कृषि योग्य जमिनको ठूलो मात्रा र साथ साथै इथाइनल उत्पादनको सम्पूर्ण चक्रको उर्जा र प्रदूषण सन्तुलनसँग सम्बन्धित छ।
कसरी बन्छ इथाइनल ?
इथाइनल उखुबाट चिनी बनाउने प्रक्रियामा निस्कने खुदो (मोलासिस) बाट तयार गरिने एक प्रकारको इन्धन हो । चिनी बनाउने प्रक्रियामा एक किसिमको खुदो निस्किन्छ ।
एक क्विन्टल चिनी उत्पादन हुँदा करिव ५ किलो खुदो पनि निस्किन्छ । त्यो खुदोलाई अहिले धेरै चिनी उद्योगले ‘रेक्ट्रीफाइट स्प्रिट’ बनाउन प्रयोग गर्छन् ।
कतिपयले त्यसैबाट हिस्की मदिरा र रक्सीमा प्रयोग हुने ‘एक्स्ट्रा नेचुरल अल्कोहल’ पनि बनाउँछन् र बेच्छन् ।तर, त्यही खुदोबाट ईन्धनका रुपमा प्रयोग हुनसक्ने इथाइनल पनि बनाउन सकिन्छ ।
त्यसका लागि प्लान्ट भने छुट्टै जडान गर्नुपर्छ । खुदोलाई प्रशोधन गर्दै दुई चरणको प्रक्रिया पुरा गरेपछि इथाइनल तयार हुन्छ ।
यो अन्य बनस्पतिहरुबाट पनि बनाउन सकिने ईन्धन हो । तर, नेपालमा उखुबाहेक अन्यबाट तत्काल ठुलो परिमाणमा उत्पादन हुने सम्भावना देखिदैन । केही मुलुकमा इथाइनलबाट मात्र चल्ने गाडी पनि सञ्चालनमा रहेका छन् ।
पेट्रोलमा इथाइनलको प्रयोग
पेट्रोलमा इथाइनल मिसाउने विषय कुनै नयाँ कुरा होइन । छिमेकी मुलुक भारतसहित अमेरिका, ईटाली, ब्राजिल लगायतका देशले पेट्रोलमा इथाइनल मिसाउने गरेका छन् ।
पेट्रोलमा १० प्रतिशतसम्म इथाइनल मिसाउन सकिन्छ । एकसय लिटर पेट्रोलमा १० लिटर इथाइनल मिसाईयो भने त्यसले पेट्रोलको कार्यक्षमतामा कुनै असर गर्दैन ।
त्यसका लागि सवारीका इन्जिनमा कुनै ‘मोडीफाइ’ पनि गनुपर्ने आवश्यकता रहँदैन । तर, १० प्रतिशत भन्दा बढी इथाइनल मिसाउने हो भने इन्जिनमा केही प्राविधिक सुधार गर्नुपर्ने हुन्छ नेपाल आयल निगम स्रोतले बताएको छ ।
नेपालमा यसको सम्भावना कति छ ?
सरकारले पेट्रोलमा इथाइनल मिसाउने योजना बनाएको वर्षौ भैसकेको छ। हरेक वर्षको बजेट वक्तव्यमा अर्थ मन्त्रीहरुले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न इथाइनल खरिद गरेर पेट्रोलमा मिसाउने कार्यक्रम समावेश गरेका हुन्छन् ।
त्यसका लागि पेट्रोलभन्दा महंगो परे पनि अनुदान दिएर खरिद गर्ने सरकारी नीति रहेको छ । तर, नेपाल आयल निगमले अहिलेसम्म पेट्रोलमा इथाइनल मिसाउने गरी प्रक्रिया अघि बढाउन सकेको थिएन। तर अहिले निगममका कार्यकारी निर्देशक चण्डी प्रसाद भट्टले यसलाई अगाडि बढाउदैछन।
विगतमा सरकारले कार्यक्रम मात्रै राख्यो, कार्यान्वयन गर्ने कामभने कहिल्यै पनि गरेन । इथाइनल लिने काम पहिले नै सुरु भएको भए विगतमा भारतले नाकाबन्दी लगाएको संकटका बेला हामी इथाइनलबाट बजारमा पेट्रोलको मागमा १० प्रतिशत सम्बोधन गर्न सक्थ्यौं । तर त्यसबेला पनि त्यो सम्भव भएन।
नेपालका चिनी उद्योगहरुले वार्षिक रुपमा ६ हजार किलो लिटर इथाइनल आयल निगमलाई बेच्ने क्षमता राख्छन् । अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य सस्तिएकोले इथाइनल पेट्रोल भन्दा केही महंगो भने पर्छ ।
तर, सरकारले अनुदान दिएर निगमले इथाइनल खरिद गर्यो भने सर्वसाधरणलाई त्यसको मार नपर्ने चिनी उद्योगीहरूको भनाइ छ ।
इथाइनलको मूल्य प्रतिलिटर १ सय २५ रुपैयाँ भन्दा बढी पर्छ । तर, सरकारले अनुदान दिएर खरिद गर्यो भने त्यसले स्वदेशी उद्योगलाई पनि टेवा पुग्छ । पेट्रोलको अभाव भएको समयमा राहत पनि हुन्छ ।
चिनी उद्योगीहरूको योजना
चिनी उद्योगीहरूले इथाइनल सरकारले खरिद गर्ने ग्यारेन्टी गरे तत्काल त्यसका लागि प्लान्ट जडान गरेर काम सुरु गर्ने बताउदै आएका छन् ।
सरकारलाई औपचारिकरुपमा प्रस्ताव नै गरे सरकाररले इथाइनल खरिद गर्ने औपचारिक निर्णय गरे खुदो संकलन र प्लान्ट निर्माणको काम तत्काल सुरु हुन सक्ने चिनी उद्योगीहरूको भनाइ छ ।
सरकारले खरिद गर्ने ग्यारेन्टी लिनुपर्यो पेट्रोलको खरिद मूल्य मात्रै हेरेर हुँदैन । आयातका क्रममा हुने पेट्रोलियम चुहावटलाई हिसाव गर्ने हो भने केही महंगो परे पनि इथाइनल नै सुलभ र सस्तो हुन्छ।
अहिले पनि धेरै चिनी उद्योगहरुमा खुदो त्यतिकै स्टक रहने गरेको छ । त्यसैलाई प्रयोग गरेर इथाइनल बनाउन सके पेट्रोलमा बेला–बेला मच्चिने हाहाकार र मूल्य वृद्विलाई कम गर्न सकिने चिनी उद्योगीहरू बताउँछन् । सुरुमा सरकारले इथाइनल लिने ग्यारेन्टी गरोस् ।
हामी चार महिनाभित्रै इथाइनल उपलब्ध गराउन सक्छौं । प्लान्ट ल्याएर जडान गर्न भने केही समय लाग्छ । त्यसपछि देशभरिका चिनी उद्योगको खुदो लिएर इथाइनल बनाउने योजना अघि बढन सक्छ।
इन्धन उपयोगमा पनि मितव्ययिता
इथाइनलमा पेट्रोलमा भन्दा प्रति लिटर लगभग ३४ प्रतिशत कम उर्जा हुन्छ र सैद्धान्तिक रुपमा शुद्ध इथाइनलको प्रज्ज्वलनबाट गाडीमा प्रति लिटर पेट्रोल भन्दा ३४ प्रतिशत कम शक्ति उत्पन्न हुन्छ।
यद्यपि, इथाइनलको अक्टेन रेटिङ उच्च हुने भएकाले कम्प्रेसन रेसियो वृद्धि गरेर इन्जिनको कुशलता बढाउन सकिने इन्धन र इन्जिन विज्ञहरू बताउछन।