नागढुंगा सुरुङमार्ग निर्माण कार्य अघि बढ्यो

सोही आयोजना अन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म २.५ प्रतिशत र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी क्याम्प कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको उनले बताए । उनले भने, “कम्पनीले आवश्यक तयारीको काम गरिरहेको छ ।” निर्माणस्थलमा झण्डै ८० जना जनशक्ति कार्यरत छन् । तीमध्ये कतिपय नेपाली र केही चिनियाँ नागरिक रहेका छन् ।
सुरुङ निर्माण नेपालका लागि नयाँ भएकाले सडक विभागले पनि ३ जना इञ्जिनियर अनुभवका लागि सुरुङ मार्ग निर्माणमा पठाउने भएको छ । उनले भने “त्यो अनुभव भविष्यमा हामी अरु स्थानमा सुरुङ बनाउनमा प्रयोग गर्न सक्छौँ ।” निर्माणस्थल खाली गराउन विभागले समन्वयको काम गर्दै आएको छ । स्थानीयवासीलाई मुआब्जा वितरण गरेर घर हटाउने, बिजुली, खानेपानी लगायतका संरचना हटाउने काम भइरहेको आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताए ।
जग्गाका अधिकांश समस्या समस्या भइसकेको उनको भनाई थियो । उनले भने, “गुठीका नाममा जग्गा भएका स्थानीयवासीको मात्रै मुआब्जा बाँकी छ, उनीहरुले आवश्यक कागजात ल्याएपछि त्यो टुंगो लाग्छ ।” सुरुङमार्गले सडकको चाप हटाउने मात्र नभई नेपालकै समृद्धिमा विशेष योगदान गर्न सक्ने देखिएको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सुरुङमार्गको लगानी आगामी ७ वर्षमा उठ्ने उल्लेख छ ।
प्राविधिक दृष्टिकोणबाट ५०० मिटरभन्दा बढी लम्बाइको यस सुरुङमार्गलाई आधुनिक मानिन्छ । यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ । नेपालमा ५०० मिटरभन्दा कम लम्बाइका तीन वटा सुरुङमार्ग भए पनि त्यसभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङमार्ग हो ।
निर्धारित अवधि निर्माण सम्पन्न गर्न पर्याप्त समय भएको विभागले बताउँदै आएको छ । सुरुङको कुल लम्बाइ २.७ किलोमिटर हुनेछ । आयोजना अन्तर्गत ९.५ मिटर र ४ मिटर गरेर दुई वटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक पनि निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एउटा लेनको चौडाइ ३.५ मिटर हुन्छ । ३ लेन नपुगे पनि मुख्य सुरुङमार्गमा ३ वटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रिँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने जानकारी दिइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुंगा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने प्रमुख थापाले बताए ।
कमजोर ढुंगा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने छ । सो स्थानमा बसपार्क, तरकारी संकलन केन्द्र लगायतका कक्ष पनि हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेशी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । उनले भने, “केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्न सक्नेछ ।”
निर्माणमा जनशक्ति, उपकरणसँगै सहायक ठेक्कामा नेपाली ठेकेदार संलग्न हुने प्रमुख थापाले बताए । कम्पनीले ठूला र जटिल उपकरण जापानबाटै ल्याउने, सम्भव भएसम्मका उपकरण यहीको प्रयोग गर्ने बताएको छ । पेटी ठेक्का मार्फत सानासाना कामका लागि नेपाली कम्पनीलाई जिम्मेवारी दिइने उनले बताए । जाइकाको सफ्ट लोन (०.०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण) सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु भएको थियो ।
यसका लागि कुल २२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ । जसमध्ये जाइकाले १६ अर्ब सहयोग गर्नेछ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।