साना किसान विकास लघुवित्तको चौबीसौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौबीसौं वार्षिक साधारण सभा पुस २५ गते सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो। साधारण सभाले शेयरधनीलाई १४.२५% बोनस शेयर र ०.७५% नगद लाभांश कर प्रयोजनका लागि गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ८७ करोड ५० लाख ६ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन लगायत २०८२ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरणहरु समेत सर्वसम्मत पारित गरेको छ।
कम्पनीको लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा वित्तीय संस्थाको जारी र चुक्ता पुँजी रु। ४ अर्ब ३१ करोड २६ लाख २१ हजार, कुल सम्पत्ती रु. ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार पुगेको छ। प्रति शेयर आम्दानी रु २०.२९, प्रति शेयर बुक नेटवर्थ रु २३९.३८, जम्मा पुँजीमा प्रतिफल ८.४८%, मूल्य आम्दानी अनुपात ४३.५९ र कुल पुँजी कोष १६.६२% रहेको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाठकले गरीबी निवारणका लागि ग्रामीण क्षेत्रका साना किसानहरूलाई केन्द्रमा राखेर लगानी गर्दै आएको यस संस्थालाई अझै साना किसानहरूका लागि नभई नहुने संस्थाका रूपमा विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले सबैभन्दा पहिले गरीब र किसानहरूलाई माथि उठाउन सके देशकै अर्थतन्त्र सुधार हुने बताए।
यसैगरी कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बासु अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाले उद्यम र उद्यमशीलताको विकासमा आफ्नो ध्यान केन्द्रित गरेको बताए।
उनले युवा, महिला र गरीब किसानहरूको आर्थिक सवलीकरणका कार्यक्रमलाई सरकारसँगै दातृ निकायहरूसंग सहकार्य गरी सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत जनाए।





























