ईश्वरमान स्मृति सिर्जनशिल पत्रकारिता पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान
काठमाडौं । आर्थिक संजाल मिडिया प्रा लि द्वारा सञ्चालित आर्थिक सञ्जाल डट्कम अनलाइन न्यूज पोर्टलको ७ औं वार्षिकोत्सब समारोहमा पुस २० गते ‘ईश्वरमान स्मृति सिर्जनशील’ पुरस्कार २०८२ वरिष्ठ साहित्यकार उषा शेरचनलाई प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त पुरस्कार प्रदान गर्नु भएको थियो। शेरचनलाई ११ हजार १ सय ११ रूपैयाँ नगद र सम्मानपत्र सहित अभिनन्दन गरिएको थियो। सम्मानित व्याक्तित्व शेरचनका कविता,मुक्तक,कथा,उपन्यास,गीतका दर्जनौं सिर्जनाहरू पुस्तकका रूपमा प्रकाशित छन।
उहाँले आफुलाई पुरस्कृत र सम्मानित गरिएकोमा आर्थिक सञ्जाल मिडियालाई धन्यवाद दिदै साहित्य सिर्जनामा यस पुरस्कारले थप उत्साह थपेको बताउनु भएको थियो।

पुरस्कार प्राप्त साहित्यकार उषा शेरचनले ‘पुरस्कारको पछि आफू नलागेको र पत्रकारिता जगतमा स्थापित ईश्वरमान रञ्जितको नाममा राखिएको पुरस्कार पाउँदा आफुलाई खुशी लागेको छ भन्दै एउटा कविता वाचन गर्नु भएको थियो । यो पुरस्कारबाट यसअघि वरिष्ठ साहित्यकार विश्वविमोहन श्रेष्ठ,गणेश रसिक र नरेन्द्र बहादुर श्रेष्ठले प्राप्त गरिसक्नु भएको छ।

कार्यक्रममा वरिष्ठ पत्रकार कुमार रञ्जितले पुरस्कार प्राप्त सर्जक उषा शेरचन र भाषा,साहित्य र इतिहासका अध्येता,लेखक,पत्रकार ईश्वरमान रन्जितको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यस्तै सिद्वहस्त साहित्यकार विश्वविमोहन श्रेष्ठले ईश्वरमान रञ्जितको नेवारी भाषा,अनुवाद, इतिहासको अन्वेषण, पत्रकारिता र साहित्यको योगदानको बारेमा बताउनु भएको थियो।
कार्यक्रममा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोला,आदिवासी जनजाति पत्रकार महासंघका महासचिव समीर बलामी,नेपाल पत्रकार महसंघ काठमाडौ शाखाकी अध्यक्ष शोभा अर्याल, नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका सदस्य सूर्य सुवेदी, प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले पत्रकारका विविध समस्या र आचारसंहिता पालनाका विषय उठाउदै त्यसको सामाधानमा सरकार सम्वेदनशिल हुनुपर्ने बताउनु भएको थियो । विशेष अतिथिका रूपमा कोशी प्रदेशकी माननीय मीना श्रेष्ठले पनि मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा आर्थिक क्षेत्रका बैंकिङ,बीमा,पर्यटन,सेवा व्यवसाय,साल्ट ट्रेडिङ र पत्रकारिता क्षेत्रमा विशेष योगदान दिएका विशिष्ठ व्याक्तिहरू ज्योति प्रकाश पाण्डे, विजय बहादुर शाह, सञ्चित बज्राचार्य, मनोज कुमार भट्टराई, रमेश कुमार भट्टराई, ब्रजेशकुमार झा, डिल्ली रत्न तुलाधर, हरिगोपाल प्रधान, निरज रञ्जित , सुवास बराल र तेजेन्द्र श्रेष्ठ आदिलाई सम्मान गरिएको थियो।
कार्यक्रममा अतिथिका रूपमा ईश्वरमान रञ्जित पुरस्कार २०७३ बाट प्राप्त साहित्कार नरेन्द्र बहादुर श्रेष्ठ,कवि, कथाकार, उपन्यासकार, फिल्म निर्देशक तथा प्राध्यापक राजेन्द्र सलभ सहितका साहित्यकार,लेखक,पत्रकारहरूको गरिमामय उपस्थिति रहेकोे थियो ।

अतिथि र क्रियाशील पत्रकारहरूलाई संस्थाको तर्फबाट मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व आर्थिक सञ्जाल डटकमका प्रधान सम्पादक निरज रञ्जितले गर्नु भएको थियो । कार्यक्रममा उनले आफ्ना पिताको नाममा यस पुरस्कार स्थापना गरेको जानकारी गराइएको थियोे ।

आर्थिक सञ्जाल मिडिया प्रा. लि. कि अध्यक्ष बसुन्धरा रञ्जितले कार्यक्रममा अतिथिहरूलाई खादा र माला लगाएर स्वागत गर्नु भएको थियो। अतिथि र क्रियाशील पत्रकारहरूलाई संस्थाको तर्फबाट मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा आर्थिक सञ्जाल डटकमका कार्यकारी सम्पादक किशोर शर्माले स्वागत मन्तव्य दिएका थिए ।





























