stcnepal long ad
national life

भिसामा कडाइपछि वैदेशिक रोजगारीमा जाने घटे

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । केही श्रम गन्तव्य राष्ट्रले नेपालीलाई दिँदै आएको भिसामा कडाइ गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या घट्न थालेको छ ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा ठूलो संख्यामा कैदीरबन्दी नेपालका कारागारबाट भागेपछि युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, मलेसिया लगायतका राष्ट्रले भिसामा कडाइ गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गिरावट आएको पाइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार, जेनजी प्रदर्शनभन्दा अगाडिको १५ दिनमा अर्थात् भदौ ८ देखि २२ गतेसम्मको १५ दिनको अवधिमा ३७ हजार ५६३ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

भदौ २३ गतेभन्दा अगाडिको १५ दिनमा औसतमा प्रत्येक दिन दुई हजार ५०४ जना नेपाली वैदेशिक रोजगारीमा गएको कार्यालयको तथ्याङ्कले देखाउँछ । जेनजी प्रदर्शनपछिको ३३ दिन अर्थात् २०८२ भदौ २५ गतेदेखि असोज २६ गतेसम्मको अवधिमा ६७ हजार २१८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

जेनजी प्रदर्शनपछिको ३३ दिनमा औसतमा प्रत्येक दिन दुई हजार ३६ जना नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ । जेनजी प्रदर्शन अघिभन्दा पछिका दिनहरुमा वैदेशिक रोजगारीमा जानेको संख्या दैनिक औसतमा ४६८ ले कमी आएको छ ।

“जेनजी प्रदर्शन लगत्तै दसैँ परेका कारण वैदेशिक रोजगारीमा जानेको संख्या थोरै घट्नु स्वाभाविक हो । तर यति ठूलो संख्यामा घट्दैनथ्यो । यसअघिका दसैँमा यति ठूलो संख्यामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थिएन,” अध्यागमन कार्यालय स्रोतले भन्यो ।

जेनजी प्रदर्शनपछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पनि घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार, २०८२ भदौमा वैदेशिक रोजगारीमा जान ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका थिए ।

गत भदौ महिनामा औसतमा दैनिक दुई हजार १९२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । २०८२ असोज १ गतेदेखि २८ गतेसम्मको अवधिमा ५० हजार १३४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

असोज १ देखि २८ गतेसम्मको अवधिमा औसतमा दैनिक एकहजार ७९० जनाले श्रम स्वीकृति लिएका छन् । भदौमा भन्दा असोजमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा दैनिक औसतमा ४०२ ले कमी आएको छ ।

“चाडवाड, केही देशले भिसामा गरेको कडाइ र आन्दोलनले गर्दा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको देखिन्छ,” वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालले बाह्रखरीसँग भने ।
गतवर्षको भदौको तुलनामा असोजमा यति ठूलो संख्यामा श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको थिएन ।

२०८१ भदौमा वैदेशिक रोजगारीमा जान विभागबाट ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका थिए । उक्त महिना औसतमा दैनिक एकहजार ८५४ जनाले श्रम स्वीकृति लिएका थिए ।

२०८१ असोजमा विभागबाट ५३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएका थिए । गतवर्ष पनि असोजमा दसैँ परेको थियो । गत वर्षको असोजमा औसतमा दैनिक एकहजार ७८४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ ।

गतवर्षको भदौको तुलनामा असोजमा औसतमा दैनिक श्रम स्वीकृति लिनेको संख्या ७० ले कमि आएको थियो, तर यस वर्ष यो ४०२ पुगेको छ । यूएई, साउदी अरब, मलेसिया लगायतका देशले नेपालीलाई दिँदै आएको भिजिट भिसामा मात्र होइन ‘वर्किङ भिसा’ मा समेत कडाइ गरेका छन् ।

जेनजी प्रदर्शनका क्रममा भागेका कैदीरबन्दी कारागार नफर्केसम्म भिसामा गरिएको कडाइ कायम रहने सन्देश ती देशले नेपालीलाई दिएका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार, जेनजी प्रदर्शनका क्रममा ३० हजार ६४६ कैदी/बन्दीमध्ये १४ हजार ५५३ जना कारागारबाट भागेका थिए । भागेका कैदी बन्दीमध्ये नौ हजार ११ जना कारागारमा फर्किइसकेका छन् भने पाँचहजार ५३७ जना अझै फरार छन् ।

कारागार व्यवस्थापन विभागले पटक–पटक सूचना निकाली भागेका कैदी/बन्दीलाई कारागार फर्कनू भनेको छ । तर ठूलो संख्यामा कैदीबन्दी अझै फर्केका छैनन् । फरार कैदीरबन्दीमध्ये ६४८ जना विदेशी छन्, जसमा भारतीयको संख्या ५४० छ ।

भागेका कैदीरबन्दी आफ्नो देशमा आउनसक्ने खतरा देखेपछि केही श्रम गन्तव्य राष्ट्रले नेपालीलाई दिँदै आएको भिजिट भिसा र वर्किङ भिसामा कडाई गरेका हुन् । श्रम गन्तव्य राष्ट्रले भिसामा कडाइ गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमि आएको हो ।

पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीका लागि सबैभन्दा ठूलो संख्यामा नेपाली यूएई जाने गर्छन् । गत भदौ महिनामा मात्र यूएई जान २५ हजार २१८ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

यस  असोज महिनाको १ देखि २८ गतेसम्म यूएई जान श्रम स्वीकृति लिनेको संख्या १५ हजार २८५ छ । भदौको तुलनामा असोजमा यूएई जान श्रम स्वीकृति लिनेको संख्यामा झन्डै १० हजारले कमी आएको छ । श्रम गन्तव्य राष्ट्रले लामो समय नेपालीलाई दिँदै आएको भिसामा कडाइ गरे यसले नेपाल भित्रने रेमिट्यान्समा समेत असर गर्ने देखिन्छ ।

 

gold
kumari bank
kumari
nawakantipur long