stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नवरात्रको चौथो दिनस् कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिनमा आज देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा गरिन्छ ।

पौराणिक मान्यताअनुसार सम्पूर्ण ब्रह्माण्डमा व्याप्त जीवित तथा निर्जीव तत्त्व सबै देवी कुष्माण्डाकै कृपाले उत्पन्न भएको हो। सृष्टिको आरम्भ यिनै माताको शक्तिबाट भएको विश्वास गरिन्छ। आफ्नो बलले अण्ड (ब्रह्माण्ड) उत्पन्न गर्न सक्ने भएकाले देवीलाई कुष्माण्डा भनिएको हो।

धार्मिक ग्रन्थअनुसार सृष्टि रचना हुनु अघि चारैतिर अन्धकार मात्र रहेको समयमा यिनै देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको सृष्टि गरेकी थिइन्। त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरूपा र आदिशक्ति भनिन्छ।

कुष्माण्डा मातालाई अष्टभुजा पनि भनिन्छ। यिनको आठवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, गदा र सिद्धि–निधि प्रदान गर्ने माला रहेका छन्। सिंह यिनको वाहन हो।

धार्मिक मान्यताअनुसार देवीले सूर्य भगवानलाई आफ्नो तापशक्ति दिई प्रज्ज्वलित बनाएर सौरमण्डल र अन्य ग्रहहरूको समेत रचना गरेकी थिइन्।

कुष्माण्डा देवीलाई कुभिण्डो (कूष्माण्डा) प्रिय लाग्ने भएकाले मन्दिर तथा शक्तिपीठमा कुभिण्डोको बलि दिने परम्परा छ। कुभिण्डो उष्ण वातावरणमा हुर्किने तर शीतल गुण भएको फल भएकाले यसलाई देवीको प्रतीक मानिन्छ।

कुष्माण्डा देवी सूर्य मण्डलमै वास गर्ने भएकाले यिनको शरीर सूर्य जस्तै देदिप्यमान मानिन्छ। भक्तिपूर्वक पूजाआजा गर्दा आयु, यश, बल, आरोग्य र बुद्धिको वृद्धि हुने धार्मिक विश्वास छ। मालपुवा प्रसाद चढाइने चलन पनि रहेको छ।

आज देशभरका शक्तिपीठ र नवदुर्गा मन्दिरहरूमा कुष्माण्डा देवीको दर्शन र पूजाका लागि भक्तजनहरूको ठुलो भीड लागेको छ।

पूजा सामाग्री:

कुष्माण्डा देवीको पूजा गर्नको निमित्त मूर्ति वा चित्र, पञ्चपात्र, अर्घ, कलश (जलले भरिएको), गंगाजल वा शुद्ध जल, आसन (कपडा), जल छर्कने चम्चा, कमल फूल (उपलब्ध भएमा)राता फूलहरू, दियो, घिउ, बाती, धूप, कपुर, अक्षता, सिन्दूर, चन्दन, अबिर, पञ्चामृत (दूध, दही, घिउ,मह, सख्खर), फलफूल, नरिवल, नैवेद्य (दुग्धजन्य),लौका आदि सामाग्री तयार पार्नुपर्दछ ।

पूजा विधि:

बिहान सबेरै उठेर नित्य कर्म सकि शुद्ध वस्त्र धारण गर्नुपर्दछ । पूजा कोठामा कुष्माण्डा माताको मूर्ति वा चित्र स्थापना गरी पवित्र जलले भरिएको कलश स्थापना गर्नुपर्दछ । कलशमा गंगाजल, सुपारी, अक्षता आदि राखी दियो बाल्नुपर्दछ ।

हातमा जल अक्षता र फूल लिएर आफ्नो र परिवारको नाम, गोत्र र स्थान उच्चारण गरी ॐ मम समस्त पापक्षयद्धारा सर्वशक्तिसंपादनपूर्वक कुष्माण्डा देवीपूजनं करिष्ये । अर्थः म ९आफ्नो नाम० सर्वशक्तिको प्राप्तीको कामना गर्दछु ।

पूजा गरी देवी कुष्माण्डा स्त्रोत्र, कवच वा सप्तसती चण्डी पाठ गर्नु पर्दछ । पूजा सकिएपछि आरती गरी प्रसाद वितरण गर्ने र आफूले पनि ग्रहण गर्नु पर्दछ ।

कुष्माण्डा देवीको पूजा गर्ने मन्त्र स्

सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।

दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।

prabhu mahalaxmi
kumari