अरुण तेस्रोको ट्रान्समिसन लाइन संखुवासभा हुँदै ७ जिल्लामा पुग्ने
ट्रान्समिसन लाइन संखुवासभाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट सुरु भई डाँडागाउँ, आहाले, छ्याङटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा पुग्नेछ । यसैगरी, पिप्ले रयले बेशी हुँदै भोजपुर पुग्ने सतलज कम्पनीको कार्यालय तुम्लिङटारले जानकारी दिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा काठमाडौंको द्वारिकाज होटेलबाटै रिमोर्ट सिस्टमबाट २०७४ वैशाख २८ गते शिलान्यास गरेका थिए ।
५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस अरुण तेस्रोबाट ९०० मेगावट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब खर्च हुने अनुमान गरिएको छ । प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत उपलब्ध गराउने सम्झौता भएको छ । आयोजनाले २७४ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब १ अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ ।
यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्कबाट लाभ लिनेछ । उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि नेपाल सरकारको पूर्ण स्वामित्वमा आयोजना सञ्चालन हुनेछ । रासस