सन् २०२३ मा सुबिसु केबलनेटको आम्दानी ३ अर्ब ४६ करोड, व्यापार ८ प्रतिशत घट्यो
काठमाडौं । सुबिसु केबलनेट लिमिटेडले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ८.१४ प्रतिशतले कम हो । सन् २०२२ मा यस कम्पनीले ३ अर्ब ७७ करोड र सन् २०२१ मा ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
यस कम्पनीले ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये लङ ट्रम १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँका लागि ‘केयरएनपी बीबी प्लस’ र सर्ट ट्रम २ अर्ब ४ करोड ४ लाख रुपैयाँका लागि ‘केयर एनपी ए४ प्लस’ रेटिङ पुनः पुष्टि गरिएको छ । हाल इन्टरनेट सेवा प्रदायक कम्पबीच निकै प्रतिष्पर्धा छ ।
त्यसैगरी, प्रमोसनल प्याकेज र ग्राहक आधार थप्नका लागि प्रस्ताव गरिएका छुटहरुका कारण व्यापार घटेको जनाइएको छ । सुबिसु अगस्ट सन् १९९९ मा प्राइभेट लिमिटेड कम्पनीको रुपमा स्थापित भएको थियो । यो सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो ।
कम्पनी २० वर्ष भन्दा बढी समयदेखि सञ्चालन भइरहेको छ । यसले केबल टिभी र केबल इन्टरनेट प्रदायकको रुपमा आफ्नो सञ्चालन सुरु गरेको हो । यो समग्र ग्राहकहरुको आधारमा देशको शीर्ष ५ आईएसपीहरु मध्ये पर्दछ ।
जनवरी २०२४ को मध्येसम्ममा करिब २ लाख ८० हजार सक्रिय ग्राहक–आधारको साथ नेपालमा इन्टरनेट सेवा प्रदायक सुबिसुको लगभग १० प्रतिशत बजार हिस्सा छ । यसका काठमाडौं उपत्यकाभित्र १० वटा स्टेसन छन् र देशभरका ३१ वटा शाखा छन् ।