stcnepal long ad
dftqc long ad
prabhu bank long ad

सस्तोमा सामान किन्न साल्ट ट्रेडिङमा घुइचो

civilbank long ad

काठमाडौं । सरकारले बजेट भाषण मार्फत सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दैनिक उपभोग्य बस्तु २० प्रतिशत छुटमा बिक्री गर्ने घोषणा गरेपछि अहिले उक्त घोषणा कार्यान्वयन गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लि. ले सहुलियत मूल्यमा खाद्य वस्तु विक्री गरिरहेको छ ।
बजारमा अहिले चिनीको मूल्य प्रतिकेजी ९० देखि १०० रुपैयाँसम्म पर्छ । साल्ट्र ट्रेडिङले भने २० प्रतिशत छुटमा प्रतिकेजी ६३ रुपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै बजारमा २५० मा बिक्री भइरहेको भटमासको तेल साल्ट ट्रेडिङमा १८८ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

पिठो प्रतिकेजी रू. ४४, नून प्रतिप्याकेट रू. १६ र ग्यास प्रति सिलिण्डर रू.११२० मा साल्ट ट्रेडिङले बिक्री गरेको गरिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक निर्देशक प्रज्ज्वलमान प्रधानले पहिले पनि साल्ट ट्रेडिङले निजी क्षेत्रले भन्दा सस्तोमा नै सामान बिक्री गरेको र अहिले सरकारले भने अनुसार २० प्रतिशत छुट दिएको बताएका छन् । केही सामान बजारमा भन्दा झन्डै ५० प्रतिशत नै सस्तोमा पाइन्छ ।
प्रधानले प्रस्ट पार्दै बताए ‘सरकारले घोषणा गरे अनुसार २० प्रतिशत छुटमा हामीले सामान बिक्री गरिरहेका छौं । प्रत्येक परिवारले चिनी २ केजी, नुन २ केजी, पिठो २ केजी, ग्यास १ सिलिण्डर र तेल १ लिटर सहुलियत मूल्यमा खरिद सक्छन् ।’

२० प्रतिशत छुट नदिँदा पनि साल्ट ट्रेडिङमा बाहिरको बजारमा भन्दा सस्तोमा नै खाधान्न खरिद गर्न पाइन्थ्यो । अहिले भारी छुट पाएपछि साल्ट ट्रेडिङमा उपभोक्ताको घुइचो लागेको छ । दैनिक ३ सयदेखि ४ सय उपभोक्ताले सामान खरिद गर्ने गरेका छन् ।

काठमाडौं उपत्यकाको कालीमाटी, सतुङ्गल, पाटन, भक्तपुर र कोटेश्वरबाट साल्ट्र ट्रेडिङका शाखाबाट सामान विक्री हुँदै आएका छ । चक्रपथ भित्र मोबाइल भ्यानबाट पनि टोल–टोलमा सामान बिक्री भइरहेको सहायक प्रबन्ध निर्देशक प्रधानले बताएका छन् ।

जेठ २१, २२, २३ र २४ गतेसम्म विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सामान बेच्दै आएको साल्ट ट्रेडिङले ग्राहकको चाप बढेपछि जेठ २५ गतेबाट विहान ७ बजेदेखि ९ बजेसम्म पनि दैनिक उपभोग्य सामान विक्री गर्दै आएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनमा ५ जनाको परिवारले २ केजी चिनी, २ केजी नुन, १ लिटर तेल, २ केजी पिठो र एक सिलिन्डर ग्यास २० प्रतिशत छुट मुल्यमा खरिद गर्न पाउछन । छुटका लागि साल्ट ट्रेडिङले नागरिकता वा भोटर कार्डको फोटोकपी माग्ने गरेको छ । प्रधानले २० प्रतिशत छुटमा सामान खरिदको लागि सरकारी मान्यता प्राप्त कागज चाहिने जानकारी दिएका छन् ।

खाद्य व्यवस्था कम्पनीमा पनि छुट

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि सरकारले भने अनुसार २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गरिरहेको छ । लिमिटेडले कर्णालीको सिमी र चामल २० प्रतिशत छुट दिएर बिक्री गरिरहेको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले कर्णालीको सिमी र बास्मती र मार्सी बाहेकको चामलमा २० प्रतिशत छुट दिएको बताएकी छिन।

न्यौपानेले भनिन्, ‘व्यापारमा छुट दिएपछि बिक्री वृद्धि भएको छ । २० र ३० केजी बोराको चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिएर बिक्री भइरहेको छ । सिमी पहिले प्रतिकेजी १२० रुपैयाँ थियो । अहिले प्रतिकेजी रू।९५ मा बिक्री भइरहेको छ ।’

जेठ २१ गते २ हजार ३ सय ३७ केजी चामल र सिमी बिक्री गर्दा उपभोक्ताले २९ हजार ५ सय ७३ रुपैयाँ छुट पाए । जेठ २३ गते ३ हजार ८ सय २३ केजी सिमी र चामल बिक्री गर्दा ४८ हजार २०७ रुपैयाँ छुट पाएका छन् ।

जेठ २४ गते ७ हजार ५ सय ३२ केजी चामल र सिमी बिक्री गर्दा उपभोक्ताले ९५ हजार २६८ रुपैयाँ छुट पाएका छन् । जेठ २५ गते १० हजार ६३ केजी चामल र सिमी बिक्री गर्दा १ लाख २६ हजार ३७७ रुपैयाँ छुट पाएका छन् । कम्पनीले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र छुट दिएर सामान बिक्री गर्दै आएको छ ।


२७ जेठ २०७८, बिहीवार ०९:०४ बजे प्रकाशित

nawakantipur long
nabilbank long ad