citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

बजारमा कर्जाको माग नबढदा बैंकहरूलाई निक्षेपको ब्याज दिन समस्या

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म वाणिज्य, विकास बैंक र वित्त कम्पनीहरूमा सवा ६७ खर्ब निक्षेप, वाणिज्य बैंकमा मात्रै ६० खर्ब निक्षेप, ६ खर्ब ३८ अर्ब लगानीयोग्य पुँजी थुप्रिएको नेपाल बैंकर्स संघ स्रोतले जनाएको छ।

चालु आर्थिक वर्ष २०८१/०८२ को सात महिनामा वाणिज्य बैंकहरूमा करिब ६० खर्ब निक्षेप पुगेको छ । अहिले समग्र बैंकिङ क्षेत्र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा माघ मसान्तसम्म सवा ६७ खर्ब निक्षेप रहेको छ ।

नेपाल बैंकर्स संघका अनुसार उक्त अवधिमा २० वाणिज्य बैंकहरूको मात्र निक्षेप ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षमा मात्र वाणिज्य बैंकहरूमा राखिएको निक्षेप ५ खर्ब ५६ अर्ब रुपैयाँले बढेको छ ।

गत २०८० माघ मसान्तसम्म वाणिज्य बैंकहरूमा ५४ खर्ब ४१ अर्ब रूपैयाँ निक्षेप थियो । यसरी चालु आर्थिक वर्षको सात महिनामा मात्रै निक्षेप दुई खर्ब ४२ अर्ब २८ करोड रुपैयाँले बढेको छ । गत २०८१ असारमसान्तसम्म वाणिज्य बैंकहरूमा ५७ खर्ब ५४ अर्ब ७७ करोड रूपैयाँ निक्षेप थियो ।

चालू आर्थिक वर्षको पहिलो महिना २०८१ साउनमा भने ३९ अर्ब रूपैयाँ निक्षेप घटेको थियो । त्यसपछि भदौमा ७३ अर्ब रूपैयाँ र असोजमा एक खर्ब ३३ अर्ब रुपैयाँले बढेको निक्षेप कात्तिकमा १९ अर्ब रुपैयाँले घटेको थियो । त्यसपछिका महिनामा भने निक्षेप बढ्दै आएको पाइन्छ ।

नेपाल बैंकर्स संघका अनुसार गत मंसिर महिनामा ३३ अर्ब रूपैयाँ, पुसमा ५१ अर्ब रूपैयाँ र माघमा नौ अर्ब रूपैयाँ निक्षेप बढेको छ ।

बैंकमा निक्षेप बढाउने प्रमुख स्रोत विदेशबाट आएको रेमिट्यान्स रकम र सरकारी पुँजीगत खर्च हुन् । यद्यपि, पछिल्लो समय निक्षेप बढ्ने प्रवृत्तिमा अस्थिरता देखिएको चालू आर्थिक वर्षको मासिक तथ्यांकले पुष्टि गरेको छ ।

दशैं–तिहारको असोज( कार्तिक एक महिना निक्षेप राख्ने भन्दा झिक्ने बढी हुन्छन। यो महिना निक्षेप कम जम्मा हुन्छ,अरू महिना भने निक्षेप बढेको हुन्छ।

असार,असोज,पुस,चैत्र महिनामा पनि त्रैमासिक कर तिर्ने बेलामा पनि बैंकमा रहेको रकम सरकारले करको रूपमा लाने वा तान्ने गर्छ। यसले गर्दा पनि यी चार महिनामा पनि बैंक तथा वित्तिय संस्थाहरूमा तुलनात्मक रूपमा निक्षेप रकम कम जम्मा हुन्छ।

मुलुकमा आर्थिक शिथिलता कायमै रहदा बैंकहरूमा कर्जाको माग बढ्न सकेको छैन । फलस्वरूप अहिले बैंकहरूमा लगानीयोग्य पुँजी थुप्रिन पुगेको छ । अहिले वाणिज्य बैंकहरूसँग मात्रै ६ खर्ब ३८ अर्ब ६८ करोड रुपैयाँ ऋण लगानीयोग्य पुँजी रहेको बैंकर्स संघले जनाएको छ ।

गत माघ मसान्तसम्म वाणिज्य बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७९.३५ प्रतिशत छ । वाणिज्य बैंकहरूले सिडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउँछन् ।

त्यो अवस्थामा अझै १०.६५ प्रतिशतको अनुपातमा कर्जा लगानी गर्न सक्छन् । बैंकहरूमा लगानीयोग्य पुँजी बढ्न थालेपछि हरेक महिना ब्याजदर घटाउँदै गएको छ ।

फागुन महिनाका लागि १८ वटा वाणिज्य बैंकहरूले निक्षेपमा ब्याजदर स्थिर राखेका छन भने एउटाले ०.२५ प्रतिशत घटाउने र अर्कोले ०.२५ प्रतिशतमात्र ब्याजदर बढाएका छन।

तैपनि, कर्जाको माग सन्तोषजनक हुन नसकेको तथ्यांकले देखाएको छ । ब्याज दर घटदा लगानीका लागि उपयुक्त समय हो,तर पनि बजारमा माग नबढदा लगानी बढाउन उद्यमी व्यवसायीहरूले चाहेका छैेनन।

खर्च गर्ने युवा शक्ति विदेश पलायन हुँदा बजारमा माग घटेको छ। उत्पादन गर्ने जनशक्ति पलायन हुँदा आन्तरिक उत्पादन घटेको छ र मुलुकमा आयात बढेको छ। तर पनि समग्र आयात भने खासै बढन सकेको छैन। अहिले घरजग्गा,सेयर र सवारीसाधन कर्जा बढन सकेको छैन।

कर्जाको माग नहुँदा अहिले बैंकहरूलाई निक्षेप संकलन भारी हुन थालेको छ । पटक–पटक तरलता अभावको समस्या झेलेका बैंकहरुलाई अहिले निक्षेप नै भारी भएको देखिन्छ । संकलन भएको निक्षेपमा ब्याज दिनुपर्छ। ब्याज दिन कर्जा माग छैन।

बैंक तथा वित्तिय संस्थाहरूले निक्षेप लिएर त्यही रकम निक्षेपको ब्याज भन्दा ३ देखि ४ प्रतिशत अन्तर राखेर कर्जामा लगानी गरेर मुनाफा कमाउथे। त्यसरी कमाएको ब्याज रकमबाटै निक्षेपकर्ताहरूलाई ब्याज तिर्थे। अहिले कर्जा नलाग्दा निक्षेप रकमको ब्याज कसरी तिर्ने भन्ने समस्या भएको छ।

बचत तथा निक्षेप राखे बापत बैंकहरूले निक्षेपकर्तालाई सम्झौता अनुसारको ब्याज दिनैपर्छ, जुन ब्याज खर्च बैंकहरूले प्रवाहित कर्जाको ब्याजबाट कमाउने हो ।

तर, पछिल्लो समय कर्जाको माग नहुँदा बैंकहरूले कर्जा प्रवाह गरेर आम्दानी गर्न सकिरहेका छैनन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पनि वाणिज्य बैंकहरूको ब्याज आम्दानी १६.८६ प्रतिशतले घटेको पाइएको छ ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको ब्याज आम्दानी ३ खर्ब ५ अर्ब ५ करोड ८६ लाख रूपैयाँ थियो । चालू आर्थिक वर्षको ६ महिनामा त्यो २ खर्ब ५३ अर्ब ६३ करोड ६४ लाख रूपैयाँमा सीमित भएको छ । कर्जा प्रवाह बढ्न नसक्दा र घट्दो ब्याजदरका कारण ब्याज आम्दानी पनि घटेको पाइएको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले पनि बैंकहरूलाई निक्षेप भारी हुन थालेको बताएका छन । उनले ‘हामीले निक्षेप लिएर कर्जा प्रवाह गर्ने हो । कर्जाबाट आउने ब्याजबाट नै निक्षेपकर्तालााई ब्याज दिने हो । बाँकी बैंकको आम्दानी हो ।

पछिल्लो समय कर्जा प्रवाह बढ्न सकेको छैन । तर, निक्षेप बढ्दो क्रममै छ । त्यसले गर्दा निक्षेपकर्तालाई ब्याजबापत दिने दायित्व बढ्दो छ । तर, आम्दानी गर्न कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन। एक हिसाबमा अहिले बैंकहरूलाई निक्षेप भारी भइरहेको छ ।

कम्तीमा पनि ३ प्रतिशत ब्याजदर दिनैपर्छ । व्यक्तिगत निक्षेपमा ४ प्रतिशत ब्याज दिनुपर्छ । तर, लगानी गर्ने ठाउँ पनि छैन । निक्षेप बोलकबोल र स्थायी निक्षेप सुविधामार्फत राष्ट्र बैंकमा लगानी गरिरहेका छौँ । तर, त्यसबाट हुने आम्दानीले निक्षेपकर्तालाई दिने ब्याज पनि पुग्दैन ।’ भनेका छन।

सात महिनामा दुई खर्ब ५६ अर्ब कर्जा प्रवाह

वाणिज्य बैँकहरूले चालू आर्थिक वर्षको सात महिनामा दुई खर्ब ५६ अर्ब ९४ करोड कर्जा प्रवाह बढाएका छन् । कर्जा बक्यौताका आधारमा सोबराबरको नयाँ कर्जा प्रवाह भएको देखिएको छ। गत २०८१ असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रूपैयाँ थियो । माघ मसान्तसम्म त्यो ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षको २०८१ साउन महिनामा दुई अर्ब रूपैयाँ मात्रै कर्जा प्रवाह बढेको थियो । त्यसपछि भदौ महिनामा ५३ अर्ब रूपैयाँ र असोज महिनामा मा ५६ अर्ब रूपैयाँ कर्जा प्रवाह बढेको देखिन्छ ।

त्यसपछि कात्तिक महिनामा दुई अर्ब रूपैयाँले घटेको देखिन्छ। त्यसयता कर्जा प्रवाहमा मंसिर महिनामा ४२ अर्ब रूपैयाँ , पुस महिनामामा ९४ अर्ब रूपैयाँ र माघमा १२ अर्ब रूपैयाँले बढेको तथ्यांक छ ।

पछिल्लो समय आयात र सेयर खरिदका लागि कर्जाको माग केही बढेको छ । तर, जति कर्जा प्रवाह भएको छ, त्यो सन्तोषजनक नभएको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताएका छन् । यद्यपि, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने बढी नै हो । गत आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब ८३ अर्ब रूपैयाँ नयाँ कर्जा प्रवाह भएको थियो । माघ महिनामा मात्रै तीन अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ।

गत आर्थिक वर्षको तुलनामा कर्जा प्रवाह बढेको देखिन्छ । तर, यो सन्तोषजनक छैन, माघ महिनामा कर्जा प्रवाह न्यून छ । विगतमा आयात र सेयरमा लगानी गर्ने गरी कर्जाको माग बढेको थियो ।

अहिले सेयर बजार पनि बढ्न सकेको छैन । त्यसले गर्दा सेयर खरिदका लागि पनि कर्जा माग हुन सकेको छैन। आयातका लागि कर्जाको माग अलि–अलि भइरहेको छ । अन्य क्षेत्रबाट कर्जाको माग नगण्य नै रहेको बैंकर्सहरू बताउछन ।

gold
kumari bank