बैंकबाट कर्जा लगानी अपेक्षित रूपमा बढ्न नसक्नु चिन्ताको विषय: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षित रूपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताउनुभएको छ ।
कृषि विकास बैंक लिमिटेडको ५८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बैंकहरूमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताउनुभयो ।
नेपालले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । उहाँले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताउनुभयो ।
यद्यपि बैंकहरूले कर्जा असूलीमा केही समस्या भोगिरहेको उहाँले स्वीकार गर्नुभयो । बैंक तथा वित्तीय संस्थाको कर्जा असूलीमा भने केही समस्या देखिएका कारण यसले खराब कर्जा बढाएको उहाँको भनाइ छ ।
पछिल्लो समय केही अराजक गतिविधि गर्ने तथा ऋण नतिर्ने भनेर अभियान चलाउने व्यक्ति र समूहका कारण कर्जा असूलीमा समस्या भएको छ । यसले दीर्घकालमा कति असर पार्छ भने कुरामा राष्ट्र बैंक सजग रहेको गभर्नर अधिकारीको भनाइ छ ।
नेपालको ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने प्रमुख उद्देश्यका साथ २०२४ सालको माघ ७ गते ५ करोड रुपैयाँको अधिकृत पूँजी सहित कृषि विकास बैंकको स्थापना भएको थियो । अहिले बैंक ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको छ ।