थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको जनाएको छ।
कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले आज बिहीबार विधिवत रुपमा उक्त शाखाको उदघाटन गरेका छन। उक्त अवसरमा नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिकामा १ लाख ३ हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावना युक्त भएको बताएका छन्। उनले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकलाई सबैको सहयोग रहने पनि बताएका छन्।
बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले सेवाका आधारमा पनि राष्ट्रिय वाणिज्य बैंक एक नम्बरको बैंक हुने बताएका छन्। यसैगरि बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै खाले बैंकिङ सेवा दिँदै आमनागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताएका छन्।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, वडा नं. ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी, नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा शाखा प्रबन्धक कविराज भण्डारीले स्वागत मन्तव्य राखेका थिए।
बैंककी बाग्मती प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाल प्रहरी, अन्य स्थानीय संघ(संस्थाका प्रतिनिधि, बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी लगायत कर्मचारीको उपस्थिति रहेको थियो।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको जनाएको छ।