तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकका सञ्चालक पक्राउ
काठमाडौं । केही करोडको शेयर लगानी गर्ने र अर्बौ रुपैयाँ सर्वसाधारणको निक्षेप रहेको बैंकमा हालीमुहाली गर्ने गलत प्रवृत्ति केही पहिले निकै मौलाएको थियो । किष्ट, सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतका वित्तीय संस्थाका सञ्चालक तथा सिईओहरु समेत बैंकिङ कसुर मुद्दामा परे ।
यसैक्रममा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवालमाथि पनि बैंकिङ कसुरको मुद्दा लग्यो । उच्च अदालत पाटनले ३ वर्ष कैद र एक करोड रुपैयाँ जरिवना तोक्यो ।
पहुँचका भरमा सिलवाल लुक्दै र घुम्दै आए । हिजो आइतबार आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टिमले नयाँ बानेश्वर क्षेत्रमा बसेर व्यापारिक सेटिङ गरिरहेको अवस्थामा तत्कालिन सञ्चालक सिलवाल पक्राउ परे ।
सिआईबीका डिआइजी शहकुल थापाका अनुसार उनी भेष बदलेर लुकीछिपी हिडडुल गर्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको हो । थापाले सिलवाललाई काठमाडौं जिल्ला अदालत मार्फत कारागार पठाएको छ । सिलवाललाई तीन वर्ष कैद र एक करोड जरिवना असुल गरिने छ । जरिवना तिर्न नसके थप कैद बसेर कट्टा हुने बताए ।
प्रहरीले घटनाको सात वर्षपछि पक्राउ गरेको हो । तत्कालिन सञ्चालक सिलवाललाई २०७० सालमा परेको बैंकिङ कसुर सम्बन्धी मुद्दामा उनलाई उच्च अदालत पाटनले ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो । सिद्धार्थ डेभलपमेन्ट बैंक हाल ग्लोबल आईएमई बैंकको रुपमा वित्तीय कारोबार गर्दै आइरहेको छ ।




























