नबिलको गोल्ड लोन : एक घण्टामै पाउनुहोस् दस लाखसम्म ऋण
काठमाडौं । पैसा जस्तो कुरा भन्ने बित्तिकै कसैसँग पनि हुँदैन । तपाईलाई अप्ठ्यारो परेको बेला हत्तपत्त कसैले पनि आर्थिक सहयोग गर्दैन । यस्तोमा तपाईँको समस्या टार्नको लागि निकै सहयोगी हुन सक्छ नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ ।
बैंकले हाल उपत्यकाका तीन वटा शाखाहरूबाट गोल्ड लोन दिइरहेको छ भने देशभरका ८ वटा शाखाहरूबाट सेवा प्रदान गरिरहेको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ ।
उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
जस अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई सुन धितो राखेर तत्कालै १० लाखसम्म ऋण दिँदै आइरहेको छ । बैंकले आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घण्टाभित्र ऋण पाउने गरी ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको हो ।
कसरी लिने नबिलको इन्स्ट्यान्ट गोल्ड लोन ?
आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ ।
नबिल बैंकबाट गोल्ड लोन लिन चाहने ग्राहकहरूको बैंकमा खाता हुनुपर्ने छ । त्यसका अलावा पनि नागरिकता, फोटो र सुन लिएर बैंकमा गएपछि बिना झन्झट एक घण्टामै कर्जा पाइने बैंकले जनाएको छ । बैंकले सुनको मूल्य बराबरको ६० प्रतिशतसम्म ऋण दिन्छ ।
कति पर्छ ब्याज रु भुक्तानी अवधि कतिसम्म रहन्छ ?
नबिल बैंकबाट गोल्ड लोन लिएबापत कुल ११ दशमलव १० प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ । बैंकले ग्राहकहरूको आवश्यकता र बाध्यतालाई मध्यनजर गर्दै अन्य बैंकको तुलनामा केही सुलभ ब्याजदर तोकेको हो । भुक्तानीको अवधि एक वर्ष तोकिएको छ ।
जसमा ग्राहकहरूले चाँडै कर्जा चुक्ता गर्न पनि पाउनेछन् । भने, भुक्तानी अवधि कट्दा पनि कर्जा चुक्ता गर्न नसकेको ग्राहकहरूले रिन्यु गर्न सकिने व्यवस्था समेत रहेको छ ।
जसका लागि ग्राहकहरूले लागेअनुरुपको ब्याज तिरेर कर्जा रिन्यु गर्न पाउनेछन् । बैंकले १० लाख रुपैयाँसम्मको गोल्ड लोन प्रदान गर्दै आइरहेको छ ।
अन्य बैंकभन्दा फरक के छ ?
बहुमूल्य धातु धितो राख्दा सबैभन्दा पहिला सुरक्षाको विषय जोडिन्छ । सुरक्षाका हिसाबले नबिल बैंक ढुक्क छ । ग्राहकहरूले राखेका सुनका गहनाहरू सुरक्षित रूपमा राख्न बैंकको सेक्युरिटीज सिस्टम बलियो रहेको बैंकको दाबी छ । त्यस्तै, सुनको लागि निःशुल्क बीमाको व्यवस्था पनि गरिएको छ ।