stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नागढुङ्गा–नौबिसे सुरुङमार्ग : मुआब्जा अझै बाँकी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन। पूर्ण अधिग्रहणका लागि घरजग्गाको मुआब्जा वितरण र भत्काउने काम जारी रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ ।

घरधनी र जग्गाधनीलाई मुआब्जा वितरण हुन बाँकी रहेकाले पूर्ण अधिग्रहण हुन नसकेको हो। ती घरमा व्यापार–व्यवसाय गर्ने व्यक्तिको मुआब्जा वितरण भने सकिएको छ।

घरजग्गाको मुआब्जा पूर्ण रूपमा वितरण गर्न आर्थिक वर्ष २०७८/७९ को अन्त्य र नयाँ आर्थिक वर्षको बजेटको निकासामा ढिलाइ भएकाले पनि काम सक्न ढिलाइ भएको आयोजनाको पुनर्वास व्यवस्थापन विज्ञ पदमराज शर्माले बताउनुभयो।

आयोजनामा यतिबेला मुख्य राजमार्ग छोएर विस्तार हुने सुरुङमार्गको संरचना बनाउन आसपासका घर तथा जग्गा अधिग्रहण गर्ने काम भइरहेको आयोजनाका निमित्त प्रमुख माधव अधिकारीले बताउनु भयो।

उहाँका अनुसार मुख्य राजमार्ग र सुरुङमार्गको मुख्य प्रवेशद्वार किसिपिडी खोला आसपास अधिग्रहण गरिएका घरजग्गा भत्काउने कार्य अन्तिम चरणमा पुगेको हो।

विज्ञ शर्माका अनुसार मुख्य राजमार्गको गुर्जुधारा र किसिपिडी क्षेत्रमा गरेर कुल ५६ वटा व्यक्तिगत घर अधिग्रहणका क्रममा भत्काउनुपर्ने हुन्छ। तीमध्ये ४८ वटा भत्काइसकिएको छ भने बाँकी भत्काउने प्रक्रियामा छन्।

त्यस्तै आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम पनि अन्तिम चरणमा पुगेको छ। धादिङ र काठमाडौँमा सुरुङमार्गलाई प्रत्यक्ष छुने क्षेत्रका घरजग्गा अधिग्रहणको काम पनि अझै केही बाँकी छ।

अधिग्रहणको प्रक्रिया नै वैशाख–जेठबाट सुरु नहुनु, कतिपय घरजग्गाको लगत मालपोतबाट आउन ढिला भएकाले पनि अधिग्रहणमा असर परेको जनाइएको छ। सुरुङमार्गमा प्रत्यक्ष जोडिएका दुई जिल्लाका ३०४ घरधुरी र ४६ वटा सार्वजनिक संरचना छन्।

त्यस्तै जग्गातर्फ ४०८ कित्ताको २४०.६४ रोपनी अधिग्रहणका लागि तय भएको छ। सुरुङमार्गमा स्थानीय गुठीको थप २९.८५ रोपनी जग्गा र चारवटा संरचना परेका छन्। दुवै जिल्लाको अधिग्रहणमा ९६ प्रतिशतभन्दा बढी भएको दाबी आयोजनाले गरेको छ।

जसका लागि नेपाल सरकारले करिब पाँच अर्ब रुपियाँ बजेट छुट्याएको छ। सुरुङमार्गको ‘फ्लाइओभर’ बन्ने स्थानको किसिपिडी खोला र मुख्य राजमार्ग छोएका ५६ घरधुरी र १४.४७ रोपनी जग्गा अधिग्रहण गर्न तय भएको थियो। त्यसका लागि करिब ९१ करोड बजेट छुट्याइएको छ।

त्यसतर्फका घरधनीले कम्तीमा चार लाखदेखि एक करोड पाँच लाख रुपियाँसम्म मुआब्जा निर्धारण भएको छ।

जग्गातर्फ भने मुख्य सडक छोएको जग्गाको प्रतिआना ५२ लाख र सडकदेखि केही भित्रपट्टि प्रतिआना ५० लाख रुपियाँ निर्धारण गरिएको विज्ञ शर्माले बताउनुभयो।

मुख्य सडकका घरमा व्यापार व्यवसाय गर्ने ६६ जनाले प्रतिव्यवसायी एकमुष्ट ५० हजार नौ सय रुपियाँ मुआब्जा पाएका छन्। घरधनीलाई एक करोड ६३ लाख र जग्गाको ७३ करोड ३० लाख ३२ हजार ११८ रुपियाँ मुआब्जा वितरण बाँकी रहेको आयोजनाले जनाएको छ। घरधनीलाई मुआब्जा दुई किस्तामा दिइने नियम छ।

शर्माले भन्नुभयो, “मुआब्जामा पहिलो किस्ता पाएपछि दोस्रो किस्ता पाउन घर भत्काएको सिफारिस वडाबाट ल्याउनुपर्ने हुन्छ।”

त्यसपछि आयोजनाका पदाधिकारीले अनुगमन गरेर भत्काइएको पाइएमा बल्ल दोस्रो किस्ता दिइन्छ। गत पुसमा शिलान्यास भएको लामो समयपछि मात्र सुरुङ मार्ग निर्माण थालिएको हो।

मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटरमध्ये एक हजार ५२० मिटर मार्ग निर्माण भइसकेको छ। मुख्य सुरुङमार्गसँगै निर्माण सुरु भएको सहायक सुरुङमार्ग दुई हजार ५५७ मिटर लम्बाइको छ। आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari