२८ बैशाख २०७८, मंगलवार

कोरोनाको महामारी र आपतकालीन कार्य

आर्थिक सञ्जाल
१९ बैशाख २०७८, आईतवार १८:०१

–नीरज रञ्जित 
अहिले मुलुक कोभिड—१९ को दोस्रो लहरको महामारीको चरणमा छ । सरकारले अत्यन्त कम संख्यामा पिसीआरको परिक्षण गर्दा पनि ३८ प्रतिशत कोरोना संक्रमित देखि एका छन । यो भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको संकेत हो।

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । अहिले ३ हजार ३ सय भन्दा बढीको मृत्युु भैसकेको छ। संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । बढ्दो संक्रमण सँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ ।

यस्तो चरम स्वास्थ्य महामारीको परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ । यो सरकार न विगतका गल्तीहरुबाट सिक्छ न राजनीतिक दल,विज्ञ र सरोकारवालाहरुले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ ।

सरकारले कोरोना महामारीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने योजना बनाइ कार्यान्वयन गर्ने बेलामा उद्घाटन, भिडभाड र तडक—भडकमा मग्न लाग्यो। ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस योजना बनाएन,काम पनि गरेन र आज फेरि लकडाउन गर्ने परिस्थितिमा पुगेको छ ।

सरकारले काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा ७ दिने लकडाउन लगाएपछि कोभिड—१९ परिक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु लकडाउन नभएका कम संक्रमित जिल्लाहरुमा पुगेका छन् । सरकारको यस्तो निर्णयले संक्रमण कम भएका ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा देखिएको छ ।

संकटमा राज्य र सरकार हतास भएको छ। नागरिकलाई ढाडस दिन सकेको छैन । अस्पतालमा ‘बेड छैन’ भन्नु सरकारको लाचारीपन हो।

परिस्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक कार्य हो । तर संकटमा अपील गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ । तर ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्तिको पुष्टि गर्दछ ।

कोरोना महामारी शुरू भएको बर्ष दिनभरि सत्ता द्वन्दमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको ब्यवहार भएको छ ।

यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न । सरकारले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सक्नु पर्दछ
कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रुपमा सदुपयोग गरी तत्काल निम्न काम गर्न जरूरी छ।
१. कोभिड–१९ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन,आईसियू र भेन्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चित गर्न,
२. कोभिड—१९ संक्रमितहरुलाई आवश्यक अस्पताल बेड, आइसियु वेड,भेन्टिलेटर वेड,आइसोलेशन वेड लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको तत्काल समुचित व्यवस्था गर्न,
३. देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुको पिसीआर परिक्षणलाई व्यापक गर्न
४. सिमा नाकाहरुमा अनिवार्य पिसिआर परिक्षण र परिक्षणको नतिजा नआउन्जेल होल्डीङ केन्द्रहरुमा राख्ने व्यवस्था गर्न र परिक्षणमा संक्रमित देखिएकाहरुलाई स्थानीय निकायहरुको समन्वयमा आइसोलेसन केन्द्रहरुको व्यवस्था गरी राख्न,
५. स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीहरुलाई बीमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गर्न र बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप अस्थायी र करार स्वास्थ्य जनशक्तिको व्यवस्था गर्न,
६. पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राखेकोमा तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न,
७. खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गर्न
८. लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवत—जावतलाई सहज गर्न
९. विदेशमा जानेहरुलाई आवश्यक पिसिआर परिक्षण गर्ने अस्पतालहरुको संख्या बढाउन,
१०. लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन,
११. मास्क अनिवार्य लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजवुत बनाउन,

यी माथिका काम सरकारले अविलम्ब आपतकालीन तयारीका साथ गर्नु पर्दछ। साथै आम नेपाली नागरिकले पनि असल नागरिकको कर्तव्य र जिम्मेवारी बहन गर्दै कोभिड–१९ को संक्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन कोभिड–१९ स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्नु पर्दछ। राजनीतिक दल,नागरिक समाज,सामाजिक संघ संस्थाहरूले कोभिड—१९ संक्रमणलाई रोकथाम गर्न, संक्रमितहरुलाई उपचार पहुँचमा सघाउन तथा राहत कार्य गर्न निम्न लिखित काम गर्ने प्रतिवद्धता जनाउनु पर्दछ ।

१. अनिवार्य मास्क लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न केन्द्र देखि स्थानीय तहसम्मका सबै संरचनाहरुलाई देशभरी सचेतना अभियान संचालन गर्न क्रियाशील गराउने, ।
२. कोभिड—१९ बाट संक्रमित भई उपचारको पहुँचमा पुग्न समस्यामा परेकाहरुलाई हरसम्भव सहयोग गर्न आफ्ना संरचनाहरुलाई सक्रिय गराउन,
३. लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकाहरुलाई गत समयमा जस्तै सहयोग अभियान चलाउन क्रियाशील गराउन।