२८ बैशाख २०७८, मंगलवार

उद्योगलाई छुट दिन परिसंघको माग

आर्थिक सञ्जाल
१४ बैशाख २०७८, मंगलवार १०:४८

काठमाडौ । नेपाल उद्योग परिसंघले गम्भीर रूपमा फैलिँदै गइरहेको कोरोना नियन्त्रण गर्न ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

कोरोना संक्रमित बढिरहेका वेलामा सरकारले खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखेर सबै नागरिकलाई खोप लगाउन जोड दिनुपर्ने परिसंघको सुझाब रहेको छ ।

छिमेकी मुलुक भारतमा देखिएको कोरोना महामारीको गम्भीर परिस्थिति र नेपालमा पनि जोखिम बढ्दै गएपछि परिसंघले सरकार र निजी क्षेत्रबाट गर्नुपर्ने तयारीका बारेमा सुझाब दिएको छ ।

विभिन्न मुलुकमा विकसित खोपहरू निजी क्षेत्रलाई पनि ल्याउन अनुमति प्रदान गरी राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउन टड्कारो आवश्यकता रहेको परिसंघको ठहर रहेको छ ।

अक्सिजनको आपूर्तिलाई सहज बनाउन उद्योगीसँग समन्वय गरेर अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन पनि परिसंघको आग्रह छ ।

‘कोभिडको पहिलो लहरबाट पाठ सिकेर उपचारमा आवश्यक बेड, औषधि, भेन्टिलेटरलगायत स्वास्थ्य सामग्रीको अभाव हुन नदिन अहिले नै तयारी गर्नुपर्छ,’ परिसंघको सुझाब छ, ‘कोभिडको नियन्त्रणमा निजी क्षेत्रले औषधि एवं स्वास्थ्य उपकरण तथा खाद्यान्न क्षेत्रमा सहयोग गरेमा त्यसलाई सामाजिक उत्तरदायित्वका रूपमा लिएर आयकरमा छुटको व्यवस्था गरिदिए कोभिडविरुद्धको युद्धमा सहभागी हुन निजी क्षेत्रलाई ऊर्जा प्राप्त हुने थियो ।’

दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि उद्योगको सञ्चालन अपरिहार्य छ । त्यसैले सुरक्षा प्रोटोकल पूर्ण रूपमा पालना गरी त्यस्ता उद्योगधन्दालाई सञ्चालन गर्न छुट दिन परिसंघको सरकारसँग आग्रह छ ।

जिल्लामा रहेका होटेलहरूलाई कोभिड केयर सेन्टर तथा अस्पतालका रूपमा प्रयोग गर्नुपर्ने पनि परिसंघको सुझाब रहेको छ ।