३० बैशाख २०७८, बिहीबार

मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ४१ सांसद्को हस्ताक्षर

आर्थिक सञ्जाल
६ बैशाख २०७८, सोमबार १४:०७

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेल विरूद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । उनीहरूले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् ।

अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन् । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय हो । माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई जना सांसद पदमुक्त भएका छन् ।

लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद छन् भने जनमोर्चाका १ जना सांसद छन् । सत्तारुढ दल एमालेमा पनि ओली र माधव नेपाल पक्षबीच विवाद छ ।

मुख्यमन्त्री पोखरेललाई माधव समूहबाटै चुनौती छ । यसअघि नेपाल पक्षका सांसदहरूले कर्णाली प्रदेशमा पार्टी ह्वीप नमानेर फ्लोर क्रस गरेका थिए ।