३० बैशाख २०७८, बिहीबार

प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्षको पदभार ग्रहण

आर्थिक सञ्जाल
६ बैशाख २०७८, सोमबार १४:३७

काठमाडौं । प्रभु बैंक लि. का सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भई आज २०७८ वैशाख ५ गतेका दिन बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएको हो ।

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त हुनु भएका सिटौलालाई २०७८ वैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गर्नु भएका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगाल्नु भएको छ । अध्यक्ष सिटौलाले नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त हुनु भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गर्नुभएको थियो ।

उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उहाँको विशेष योगदान रहेको थियो । उक्त अवधिमा उहाँले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्य समितिमा रही काम गर्नुभएको थियो ।

अध्यक्ष सिटौलाले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरि सक्नु भएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ्ग जगतका विविध क्षेत्रमा अनुभव हासिल गर्नुभएका अध्यक्ष सिटौलाको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय हो ।

अध्यक्ष सिटौलाको सबल नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमा ब्यापार व्यवसाय अभिबृद्धिका अतिरिक्त अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।