७ बैशाख २०७८, मंगलवार

आज रु रु जलविद्युतको आइपीओ भर्ने अन्तिम दिन

आर्थिक सञ्जाल
२४ चैत्र २०७७, मंगलवार ०८:१५

काठमाडौं । रु रु जलुविद्युत परियोजनाको आइपीओ भर्ने  चैत २४ गते मंगलबार अन्तिम दिन हो । कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणका लागि प्रिमियम भाउमा आइपीओ निष्कासन गरेको हो । यसमा सोमबार साँझ ५ बजेसम्म १ करोड ८६ लाख ५९ हजार ९६० कित्ताका लागि आवेदन परिसकेको छ ।

१३ लाख १ हजार ३८४ जनाले कुल १ अर्ब ८६ करोड ५९ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ४९.२१ गुणा बढी आवेदन हो ।

रु रु जलुविद्युत परियोजनाले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेकामा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

रु रु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । यद्दपी, मागभन्दा अत्याधिक धेरै आवेदन परिसकेकाले १० कित्ता सेयर पाउन पनि भाग्यमै भर पर्नुपर्ने भएको छ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रु रु ले स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ ।

कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ ।