७ बैशाख २०७८, मंगलवार

प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, बोनस शेयर नदिएको भन्दै लगानीकर्ताको आक्रोस

आर्थिक सञ्जाल
२३ चैत्र २०७७, सोमबार १३:०५

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ११ दशमलब ०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ । यसै नगद लाभांसबाट आर्थिक वर्ष २०७४/०७५ मा वितरण गरेको बोनस शेयरमा लाग्ने कर बापतको रकम पनि यहि लाभांसबाट कटाउने निर्णय गरेको भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/०७५ मा चुक्ता पूँजीको ८४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बोनस शेयर वितरण गर्दा पनि शेयरधनीले कर भुक्तानी गर्नु पर्छ । साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभामा शेयरधनीहरुले पूँजी आवश्यक परिरहेको समयमा किन नगद लाभांस वितरण गरेको भन्दै प्रश्न गरेका थिए । जुम मार्फत अधिकाँस शेयरधनीहरुले बोनस शेयर किन नदिएको भन्दै संचालकहरु सँग आक्रोस पोखेका थिए ।

सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बोनस शेयरमा लाग्ने कर पनि यहि लाभांस वाट भुक्तानी गर्नु पर्ने भएकाले बोनस शेयर वितरण गर्नु परेको जवाफ दिएका थिए ।

आगामी वर्षमा कम्पनीले नगद भन्दा धेरै बोनस शेयरलाई प्राथमकिता दिने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कोरोना संक्रमणको महामारीले समग्र अर्थ व्यवस्थामा नै नकारात्मक प्रभाव परेको अवस्थामा पनि कम्पनीले आफ्नो उपलब्ध साधन र स्रोतलाई अधिकतम परिचालन गरी ३६ करोड ९९ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल अध्यक्ष श्रेष्ठले बताए । उक्त मुनाफाबाट कम्पनीले ११ दशमलब ०५ प्रतिशत नगद लाभांस वितरण गर्न सक्षम भएको श्रेष्ठको भनाइ थियो ।

साधारणसभामा प्रमुख कार्यकारी अधिकृत बिश्व राम तिमिलाले विगतका वर्षमा शेयरधनीहरुले दिएको मार्ग निर्देशन तथा सुझावहरुलाई मनन् गरी समय सापेक्ष कार्यान्वयन गर्दै लगेको बताए ।

कोरोना भाईरसको प्रभावबाट पूर्ण रुपमा मुक्त हुन अझै केहि समय लाग्ने भन्दै तिमिलाले विद्यमान अवस्थामा पनि कम्पनीको प्रगती सन्तोषजनक रहेको जानकारी दिए ।

केन्द्रिय कार्यालय लगायत शाखा कार्यालयहरुबाट कोरोना संक्रमणको जटिल अवस्थामा समेत बीमा व्यवसाय सन्तोषजनक प्रगति भएको उनले ठोकुवा गरे ।

गत आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको बीमा शुल्क आर्जन २ दबमलब ६७ प्रतिशतले बृद्धि भएको अध्यक्ष श्रेष्ठले शेयरधनीलाई जानकारि दिए । कम्पनीले अग्नि, इन्जिनियरिङ र लघु बीमाको पोर्टफेलियोमा केहि सुधार गरे पनि सामुद्रिक, मोटर, बाली तथा पशु, हवाई र विविध बीमाको पोर्टफेलियो भने घटेको छ । यस वर्षमा कम्पनीले एक अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले आफु सँग भएको स्रोत साधनका आधारमा गत वर्ष विभिन्न क्षेत्रमा २ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेको छ । यस मध्ये दीर्घकालिन लगानी ४९ करोड १३ लाख रुपैयाँ मात्रै छ भने अल्पकालिन लगानी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । सबैभन्दा धेरै लगानी बाणिज्य बैंकको मुद्दती निक्षेपमा एक अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

साधारणभाले संचालक समितिको अध्यक्षको प्रति बैठक भत्ता १० हजार रुपैयाँबाट बढाएर १७ हजार रुपैयाँ पुर्याउने प्रस्ताव साधारणसभाले पारित गरेको छ । त्यस्तै संचालक सदश्यहरु तथा उप समितिको संयोजक लगायत सदश्यको प्रति बैठक भत्ता ८ हजार रुपैयाँबाट १५ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गरेको छ ।