
काठमाडौं । तेस्रो आइएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यू–१६ को उपाधि अकिजुविन राउत र सर्भानी श्रेष्ठले प्राप्त गरेका छन् । मण्डीखाटारमा रहेको टेनिस कोर्टमा आइतवार भएको यू–१६ पुरुषतर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन बनेका हुन् । पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३–६ ले गुमाएका थिए । अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६–४ को सेटमा स्तब्ध बनाउँदै उपाधि जितेका हुन् ।
यस्तै महिला यू–१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझो जित निकालिन् । सर्भानीले दुवै सेट ७–५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन् । दुवै च्याम्प्यिनले जनही २० हजार रुपैयाँ हात पारेका छन् ।
विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, आइएमई ग्रुपका प्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घले लगायतले पुरस्कार वितरण गरेका थिए ।
त्यही अवसरमा विभिन्न उमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । संघकी अध्यक्ष राणाले निजी क्षेत्रको तर्फबाट आइएमई ग्रुपले टेनिस खेलको विकास र विस्तारमा गरेको योगदानको प्रशंसा गर्नुभयो ।
फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले खेलकुदले बालबालिकाको पढाइमा पनि सहयोग पुग्ने बताउनु भयो । पूर्वएआइजी भण्डारीले आइएमई जस्तो संस्थाले बालबालिकाहरूलाई टेनिस खेलमा अभ्यस्त बनाउन गर्दै आएको योगदानको प्रशंसा गर्नुभयो ।
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा देशभरका कुल १ सय ५ खेलाडीले सहभागिता जनाएका थिए । महिलातर्फ ४५ र पुरुषतर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आइएमई फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।