७ बैशाख २०७८, मंगलवार

रू रू जलविद्युत परियोजनाको आईपीओमा तेस्रो दिनसम्म मागभन्दा करिब ३६ गुणा बढी आवेदन

आर्थिक सञ्जाल
२३ चैत्र २०७७, सोमबार ०८:५३

काठमाडौं । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रू रू जलविद्युत परियोजनाको आईपीओ तेस्रो दिन आइतवारसम्म ९ लाख ३५ हजार ४८७ जनाले भरेका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ ५ बजेसम्म यी आवेदकहरुबाट १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन । तेस्रो दिनसम्म मागभन्दा ३५ दशमलव ९९ गुणा बढी आवेदन परेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको यस कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । यस अघि कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरेको थियो ।

दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्य ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

स्थानियमा न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्य सहित आईपीओ विक्री गरेको हो । कम्पनीले अंकित मूल्य रू. १०० मा रू. २० प्रिमियम थप गरी प्रतिकित्ता रू. १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो ।

यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाई छ ।

यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेट ३ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

हाल रू। ३२ करोड ६१ लाख ६४ हजार ४०० चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू।४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ ।

उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले रू. ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विक्री गरेको छ ।

जुन गत आवको तुलनामा रू। ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्षको अन्त्यसम्म रू. ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ रहेको छ ।

दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था अनुसार कम्पनीले रू। ११८ दशमलव ८४ देखि रू। ३५६ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।