७ बैशाख २०७८, मंगलवार

फाइभजी सेवा : एक वर्ष निशुल्क, चलाउन नयाँ मोबाइल चाहिने

आर्थिक सञ्जाल
१९ चैत्र २०७७, बिहीबार १४:१९

काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक फाइभजी परीक्षणको स्वीकृती पाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकम मार्फत फाइभजी परीक्षण गर्न एक वर्षको लागि अनुमति दिएको हो ।

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपालमा फाइभजी परिक्षण गर्न आवश्यक परेकाले नेपाल टेलिकमलाई एक वर्षसम्म देशैभरी परिक्षणका लागि दिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

समितिले फाइभजी परिक्षण टेलिकमलाई दिएपनि हालसम्म कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउने भनेर निर्धारण भने नभएको प्रवक्ता पौडेल बताउछन् । उनले भने, ‘नेपालमा फाइभजी सञ्चालनको तयारी गर्नका लागि नेपाल टेलिकमलाई रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले दिएको छ तर, कुन रेडियो फ्रिक्वेन्सीमा उक्त फाइभजी सेवा सञ्चालन गर्ने भन्ने निर्णय भने भएको छैन ।’

हाल उपलब्ध रहेका रेडियो फ्रिक्वेन्सीहरु ३४ सय, ३६ सय, ७ सय, ८ सय, ९ सय, १८ सय, २३ सय, २६ सय र ३३ सय, ३३ सय, ४७ सय र २६ गिगाहर्ज ब्यान्ड मेगाहर्ज फ्रिक्वेन्सी फाइभजी प्रयोग गर्न सकिने सिफारिस गरेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणले उपलब्ध गराएका फ्रिक्वेन्सीमा प्रविधि तटस्थतामा रहेर फाइभजी परीक्षण गर्ने अनुमतिका लागि प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी निर्धारण समितिलाई सुझाव दिएको प्राधिकरणले जानकारी दिएको छ ।

अब टेकिलमले परिक्षण गर्ने फाइभजी सेवामा भने एक वर्षसम्म कसैसँग कुनै शुल्क लिन नपाउने र अन्य कम्पनीलाई बेच्न समेत नपाउने सर्त रहेको प्रवक्ता पौडेल बताउछन् ।

‘फाइभजी फोरजीको अपग्रेड भर्सन भने हैन । तर, नेपाल टेलिकमको फोरजी सेवाको सम्झौता हुँदा नै फाइभजी सेवा विस्तार सम्बन्धी सम्झौता भएकाले फोर जी सेवा विस्तारसँग जोडिएको योजना रहेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

फोरजी सेवाको सम्झौता यो कोभिडका कारणले अलि डिला भयो र पनि यहि आर्थिक वर्षसम्म फोर जी सेवा विस्तारको सम्झौता बाँकी रहेको उनले जानकारी दिए । उनले भने, ‘आगामी आर्थिक वर्षको शुरुमा फाइभजी सेवाका लागि आवश्कय पर्ने उकरणहरु ल्याउने प्रक्रिया अघि बढ्न सक्छ ।’

फाइभजीका लागि आवश्यक पर्ने उपकरणहरु नेपाल टेलिकमले उपलब्ध गराउने फ्रिक्वन्सीका आधारमा मात्र खरिद प्रक्रिया अघि बढ्ने उनले बताए । फाइभजी चलाउनका लागि अहिले फोरजीका लागि निर्माण गरेको अप्टिकल फाइभरले काम गर्ने भएपनि प्रिक्वन्सीका आधारमा मात्र उकरण मगाउन पर्ने भएकाले यसको प्रक्रिया अब प्राधिकरणले उपलब्ध गराउने फ्रिक्वन्सीमा निर्भर हुने उनले बताए ।

उच्च गतिको इन्टरनेट सुविधासहित यो प्रविधिको लागि उपयुक्त फ्रक्वेन्सी र उपकरणहरु आवश्कय पर्ने गर्छ । सरकारले ‘डिजिटल नेपाल’को अवधारणाअनुरुप काम गरिरहेकाले त्यसलाई साकार गर्न फाइभजी प्रविधि बरदान सावित हुन सक्ने बताइएको छ ।

तर, उक्त भाइभजी प्रविधि चलाउनका लागि बजारमा उपलब्ध रहेका मोबाइल सेटहरु नै नभएको र त्यो समेतको आयातको तयारी गर्न पर्ने टेलिकमका प्रवक्ता जोशी बताउँछन् ।

नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् । त्यो लगानीलाई पनि बचाउने गरी फाइभजीसम्बन्धी नीति ल्याउने सरकारी योजना छ ।

अहिले विश्वबजारमा फाइभजी प्रविधिको विकास हुँदैछ । सो प्रविधि आएपछि प्राप्त हुने उच्च गतिको सुविधायुक्त इन्टरनेट सेवाबाट प्राप्त हुने ‘जेरो लेटेन्सी’बाट अनेकन लाभ प्राप्त गर्न सकिने विज्ञले बताउँदै आएका छन् ।