७ बैशाख २०७८, मंगलवार

विश्वजल दिवस,पानी र मानव जीवन

आर्थिक सञ्जाल
९ चैत्र २०७७, सोमबार २१:२७
–नीरज रञ्जित
मार्च २२ विश्व जल दिवस हो। हरेक वर्ष मार्च २२ का दिनलाई संयुक्त राष्ट्र संघ (युएन)ले पानी दिवसको रूपमा घोषणा गरेको छ र विश्वभरि आजको दिनलाई विश्व जल दिवशका रूपमा मनाउने कार्यक्रम गरिने गरिन्छ। जलको महत्व मानवजातिले भोग्न थालेको जल संकटले झन् झन् प्रमाणित गर्दै सचेत बनाउदै लगेको छ।
पृथ्वीमा पिउनयोग्य पानी फालाफाल छैन , यसमा सचेत हुनैपर्छ। विद्यमान सीमित पानी काम नलाग्ने बनाउने नम्बर १ प्रकृतिका र आफ्नै दुश्मन मान्छे नै हो। आफ्नै खुट्टामा बन्चरो हान्ने प्राणी पनि मान्छे नै हो। पानी बहुमुल्य हैन, यो अमूल्य वस्तु हो। यो बस्तु हैन, जीवन हो । जीवनको आधार पनि पानी नै हो। यो पृथ्वीमा पानी छ रत प्राणी र वनस्पति छ।
वनस्पति छ र त मान्छे छ। अहिले विश्वमा ७८ करोड मानिसले पर्याप्त र स्वच्छ सफा पानी पिउन पाएका छैनन्। सफा पानी खान नपाएर प्रतिदिन ४ हजार बालबालिका मर्छन्। बिकसित भनिने अमेरिकाको ५६ प्रतिशत भूमि सुख्खाग्रस्त भइसकेको छ। अन्य बिकसित मुलुकहरू पनि पानी संकटमा छन्, चिन्तित छन् र योजना रणनीति बनाएर काम गर्दैछन्। दक्षिण भारतमा पानीकाे समस्या बढदै गएकाे छ।
नेपालकाे चुरे क्षेत्र वरपर पानीकाे लेवल निकै तल झरेकाे छ। दुई-तीन सय फिटमुनी पानी पाउन छाडेकाे छ। यदि अहिलेको अविवेकी जल उपभोग अभ्यासमा परिवर्तन भएन भने सन् २०२५ सम्ममा विश्वमा ३ अर्ब मानिस जल संकटमा फस्नेछन्। भारतकाे मुम्बई र दिल्ली सबैभन्दा बढी जल संकटमा परेको सहर हुनेछन्।
हामीले खाने बस्तुले के कति पानी खपत गरेको हुन्छ ?
१) १ केजी चिकेन उत्पादन गर्न ३९०० लिटर पानी चाहिन्छ।
२) १ केजी बफ/बिफ/मटनले ६००० लिटर लिन्छ ।
३)१ किलो गहुँले १००० लिटर खपत गरेको हुन्छ।
४) १ किलो चामलले ३७६० लिटर उपभोग गरेको हुन्छ।
५) १ कप कफीले १४० लिटर पानी खपत गरेको हुन्छ।
६) १ कप चियाले ३० लिटर लिएको हुन्छ।
७) एकजना सहरीया मान्छेले दैनिक औषत १०० लिटर पानी उपभोग गर्छ।
यो पृथ्वी ७२ प्रतिशत जल हो। हाम्रो शरीर पनि ७२ प्रतिशत जल हो। तर, पृथ्वीमा रहेको ९७ प्रतिशत जल पिउन नमिल्ने नुनिलो पानी हो। माछाले मात्र खान मिल्ने खारा पानी हो। बॉकी रहेको ३ प्रतिशत पानी मात्र पिउन मिल्छ तर… २.५ प्रतिशत बरफको रूपमा एन्टार्कटिक, आर्कटिक र हिमतालको रूपमा मानिसको पहुँच बाहिर छ। बॉकी बचेको पिउनयोग्य ०.५ प्रतिशत पानी ताल पोखरी वा नदीमा छन्।
०.५ प्रतिशत मध्येको पनि सय भागको १ भाग (०.००५ प्रतिशत) मात्र हामीले उपभोग गर्ने पहुँचमा छन्। बाँकी पानी पृथ्वीभित्रका कुनाकाप्चा वा एक्विफरमा भण्डारित छन्। पानीमा संकट हुनु भनेको जीवन संकटमा परेको हो। पानी बचत गर्ने उपायहरू:- १) पानी प्रयोग गर्दा धारा खुला नराखौँ। धारा खुला राखी दाँत माझ्दा १५ लिटर खर्च हुन्छ।
एउटा धाराबाट एक सेकण्डमा १ थोपा पानी लिक हुँदा वर्षको १० हजार लिटर पानी नष्ट हुन्छ। पानी रियुज र रिसाईकल गरौँ, एउटा कटनको टिशर्टले २५०० लिटर पानी लिएको हुन्छ भने एउटा जीनको लुगाले १० हजार लिटर पानी खपत गरेको हुन्छ। थोरै लुगा उपभोग गरौँ। वाशिंङमेसिन वा डिश वाशरको प्रयोग जबसम्म फूल लोड हुदैन नगरौँ।
नुहाउँदा बाथ टब ठिक हैन, शावर ठिक छ तर बकेट प्रयोग एकदम किफायती हुन्छ। गार्डेनिंगमा प्रयोग गरिने ५० प्रतिशत पानी उडेर वा बगेर खेर जाने गर्छ। स्प्रिंकलर वा पाईपले पानी हाल्नुभन्दा सकेसम्म ड्रिप सिंचाई प्रविधि अपनाउने गरौँ। माटोमा चिस्यान छ भने पानी प्रयोग नगरौँ। माटोको मुनि २ ईन्चसम्ममा चिस्यान छ भने पानी चाहिएको हुदैन। उडेर खेर नजाओस् भनेर बिहान वा बेलुका मत्र गार्डेनमा पानी हालौँ। बिरूवाको वरिपरि पातपतिंगर राखौँ ताकि नमी नउडोस्, ताकि समय, पैसा र पानीको बचत पनि होस्। त्यस्तो वस्तु प्रयोग गर्ने वा खाना खाने सचेतता कायम गरौँ जसको उत्पादनमा न्युनतम् पानी खपत भएको वा न्युनतम वाटर फुटप्रिन्ट होस्।
बर्षै पिच्छे २२ मार्चका दिन पानी दिवस मनाइन्छ । पानीका बारेमा अनेक औपचारिक चर्चा परिचर्चा गरेर काम फत्ते भएको मानिन्छ । वास्तवमा प्रकृति र पानीलाई हलुका रुपमा लिनु मानिस स्वयमलाई कत्तिको मँहगो र भारी कुरा हुन सक्छ यसका अनेक उदाहरणहरु इतिहास र बर्तमानमा बिद्यमान रहेका छन् ।
तर पनि हामी भबिष्यका लागि तिनबाट कुनै शिक्षा लिदैनौ । ‘जो हात सो साथ’को गलत प्रबृत्तिका कारण हामी आफैले आफ्नो बिनाश निम्तित्याइरहेका छौ र भावी पिढीको भबिष्यमाथि पनि ठूलो खेलबाड गरिरहेका छौं । बिज्ञानको प्रगति आज मंगल ग्रहमा अन्तरिक्ष यान पठाउनसम्म सफल भइसकेकोमा खुशीले नाच्ने हाम्रो अबश्य हक अधिकार छ ।
तर जब हामी ब्रहृमाण्डका मूलभूत अधिशासित नियमहरु, सिद्धान्तहरु आदिलाई देखेको नदेखेझै गर्दछौ, तिनलाई लत्याउँदछौं, प्रकृतिको उपेक्षा गर्दछौ भने बिभिन्न ग्रहहरुमा जतिसुकै जीवनको खोजी गरे पनि त्यो जीवनको रक्षा गर्न हामीले पटक्कै सक्नेछैनौं । आज हामी देखिरहेका छौ कि पृथ्वी जस्तो अनुपम ग्रहलाई मानिसले आफ्ना गलत गतिबिधिका कारणले समाप्त पार्दैछ ।
यस सम्वन्धमा हाम्रो बिगत हेर्दा पूर्खाहरुले राम्रोसँग सोचबिचार गरेर पृथ्वीका संसाधनहरुको उपयोग गर्ने र तिनको उपयोग या उपभोग गर्नुका साथसाथै सम्मान र सुरक्षा गर्न पनि उनीहरुले सिकाएका थिए । तर आज स्थिति बेग्लै छ । हामी प्रकृतिको यो निःशुल्क भण्डारलाई यसरी लुटिरहेका छौ मानौं, यो सदासदाका लागि हाम्रो हो र कसैले केही गर्न सक्तैन । हाम्रो सोच नै यस्तो बनिसकेको छ कि आज हामीले यसलाई जे जसरी हुन्छ भरमार उपभोग गरौ, भबिष्यका पिढीको लागि किन चिन्ता लिने ? यस्तै गलत सोचको परिणाम हो कि आज संसारका कतिपय स्थानमा पिउने पानीको एकदमै अभाव छ।
यो पृथ्वी ७२ प्रतिशत जल हो। हाम्रो शरीर पनि ७२प्रतिशत जल हो। तर, पृथ्वीमा रहेको ९७ प्रतिशत जल पिउन नमिल्ने नुनिलो पानी हो। माछाले मात्र खान मिल्ने छ। बॉकी ३ प्रतिशत पानी मात्र पिउन मिल्छ तर २.५ प्रतिशत बरफको रूपमा एन्टार्कटिक, आर्कटिक र हिमतालको रूपमा मानिसको पहुँच बाहिर छ। बॉकी बचेको पिउनयोग्य ०.५ प्रतिशत पानी ताल पोखरी वा नदीमा छन्।
०.५ प्रतिशतको पनि सय भागको १ भाग (०.००५ प्रतिशत) मात्र हामीले उपभोग गर्ने पहुँचमा छन्। बॉकी पृथ्वीभित्रका कुनाकाप्चा वा एक्विफरमा भण्डारित छन्। पानीमा संकट हुनु भनेको जीवन संकटमा परेको हो। पानीको अभावले खेतबारी बालीनाली उत्पादन गर्न अनुपयुक्त भइसकेका छन् । कतिपय ठाउमा पानी पाउन नै ठूलो तनाव र झगडाको स्थिति बनिरहेको छ । कतिपय ठाउँमा त कर्फ्यू लगाउनु पर्ने स्थिति उत्पन्न भएको छ ।
वास्तवमा यी प्रकृतिले दिएका नदी नाला, ताल तलैया र समुद्र आदिको सदुपयोग र भूमिको सही र बैज्ञानिक ढंगले उपयोग नगर्दाको स्थितिको दुष्परिणाम हो । यसले गर्दा आज एकातिर अन्न बाली उत्पादनमा कमी आइरहेको छ भने अर्कोतिर पशु पंक्षीहरु लोप भएर मासिएर गइरहेका छन् ।
तर हामी प्रकृतिका अनिवार्य र अपरिहार्य रुपमा परिपालना गर्नुपर्ने नियमलाई तोड्दछौ, छोड्दछौ र जथभावी गर्दछौ भने हामी कसैले देशभक्ति या जन भक्तिको खोक्रो गफ नछाँटे हुन्छ । त्यस प्रकारका भावनात्मक बिषयमा सञ्चार माध्यमहरु, सभा या गोष्ठीहरुमा घण्टौ समय समय बर्बाद गर्नुको पनि कुनै तुक, अर्थ र औचित्य रहँदैन ।
तर हाम्रो बानी नराम्रोसँग बिग्रिसकेको छ । हामी पानीको सदुपयोग गर्दैनौ तर पानी दिवसका बारेमा खुब पाण्डित्य छाँट्छौ र के के न गरेको जस्तो तामझाम गर्दछौ । तर जब बाढी पहिरो, सुख्खा खडेरीले सताउँदछ बिनाशलिलाले सताउँदछ त्यसबेला हामी निरीह प्राणीकोरुपमा प्रस्तुत हुन्छौ । यो प्रकृतिका नियमलाई बिल्कुलै नबुझने या बुझीबुझी बुझपचाउन अभ्यस्त भएका हामी मानिसहरुले स्वयम निम्त्याएको स्थिति हो । पानीलाई हाम्रा पूर्खाहरुले ‘भेषज’ भनेर शुद्ध पानीलाई औषधी मानेका थिए ।
पानीबाट आगो निस्कन्छ’ भनेर हाम्रा पूर्खाहरुले जतिबेला भनेका थिए त्यो त्यतिबेला या धेरैले बिश्वास गरेका थिएनन् या धतङ्गाहरुले भनेको कुरा भनेर उडाएका थिए । तर पानीमा आगो त रहेछ । यसको ठिक स्थानमा ठिक किसिमले सदुपयोग गरेमा बिद्यूत निस्कन सक्दाे रहेछ । स्वास्थ्य शरीरका लागि उपयोगी, खेतीपातीका लागि अत्यावश्यक, जलबिद्यूत, जल यातायात र जल क्रिडाका निमित्त समेत पानीको कत्ति ठूलो महत्व रहेको छ ।
तर यी सबै कुरामा हाम्रो ध्यान जाँदैन या गइहाल्यो भने पनि त्यो देश र जनताको हितमा नभएर निहीत र संकीर्ण स्वार्थ निमित्त तत्कालीन र क्षणिक लाभलाई हेरेर मात्र उपयोग गरिदोरहेछ । जबसम्म दीर्घकालीन र दुरगामी सोचकासाथ यसको सदुपयोग गरिदैन फलतः ढिलो चाडो अनेक रोगब्याध निम्त्याउने काम हुन्छ ।
हाम्रो स्वास्थ्यलाई लाग्ने साठी प्रतिशत रोग पानीजन्य रोग नै हुन्छ भन्ने कुरा बारम्बार बैज्ञानिक चिकित्सकहरुले औल्याइरहेका छन । पानीको बहु आयामिक सदुपयोग बिना सन्तुलित बिकासको प्रकृति मैत्री बाटोमा अग्रसर हुन पनि सकिदैन । वास्तवमा पानीमाथिको खेलबाड जीवन र जगतमाथिकै खेलबाड हुन्छ र यसले बिनाश निम्त्याउँदछ भन्ने बुझन र तदनुरुप यसो गर्नु नै मानिस र प्रकृतिप्रति पनि न्याय हुन्छ । भाबी पिढीको सुरक्षा पनि हुन्छ ।