७ बैशाख २०७८, मंगलवार

वित्तीय सुशासनलाई थप प्रभावकारी बनाउने प्रयास हुन्छ

आर्थिक सञ्जाल
९ चैत्र २०७७, सोमबार ०८:०९

सरकारले हालै मात्र नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा डा.नीलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ । डा. ढुङ्गाना पहिलो महिला डेपुटी गभर्नर हुनुभएको छ । नेपालको पूर्वी भाग झापामा जन्मनुभएकी ढुङ्गाना वि. सं. २०५४ मा सहायक निर्देशक पदमा नेपाल राष्ट्र बैङ्कमा प्रवेश गर्नुभएको थियो । उहाँले राष्ट्र बैङ्कको विभिन्न विभागको जिम्मेवारी सम्हाल्दै अहिले डेपुटी गभर्नरको पदमा पुग्नुभएको छ । बैङ्किङ क्षेत्रमा आफ्नो करियर बनाइरहेका महिलाका लागि डा। ढुङ्गाना प्रेरणाको स्रोत पनि बन्नुभएको छ । प्रस्तुत छ, वित्तीय क्षेत्रको सुधार, सुशासन, अनुगमनलगायतका विषयमा नेपाल राष्ट्र बैङ्क, डेपुटी गभर्नर डा। नीलम ढुङ्गाना (तिमिल्सिना)सँग राधा चालिसे र भेषराज बेल्बासेले गर्नुभएको कुराकानीको सार:

नेपाल बैङ्किङ इतिहासमा पहिलो पटक डेपुटी गभर्नरजस्तो उच्च पदमा महिला पुग्नुभएको छ । यो पदको जिम्मेवारी सम्हालिरहँदा तपाईंलाई कस्तो अनुभव भइरहेको छ ?
मलाई सरकारले नेपाल राष्ट्र बैङ्क जस्तो गरिमामय संस्थाको डेपुटी गभर्नरजस्ता गरिमामय पदको जिम्मेवारी दिएको छ । सरकारले मेरो योग्यता र क्षमताको सही पहिचान गरेको हो भन्ने मलाइ लाग्छ । त्यसका लागि सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यसमा आफूले गौरवान्वित महसुुस पनि गरिरहेको छु ।

भावी गभर्नरको विषयमा जुन कुरा गर्नुभएको छ । कुुनै पनि करियरमा लागेपछि समयअनुसार त्यसमा बढुवा हुँदै जाने प्रक्रिया स्वाभाविक नै भइहाल्छ । त्यसका लागि व्यक्तिको योग्यता, दक्षता र प्रतिस्पर्धी क्षमता पनि महत्ववपूर्ण विषय हुन्छन् । यी सबै आधारमा म पनि कार्यकारी निर्देशकबाट यो पदसम्म आइपुगेको छु । योभन्दा माथिल्लो पदमा पुग्ने र जिम्मेवारी निर्वाह गर्ने स्वाभाविक अपेक्षा पनि भइहाल्छ ।

डेपुटी गभर्नरको जिम्मेवारी पाएपछि अब तपाईंअन्तर्गत कुनकुन विभाग रहन्छ ?
मैले अहिले पाएको जिम्मेवारी पूरा गर्नु मेरो पहिलो कर्तव्य हो । तत्कालका लागि मेरो फोकस भनेको पाएको जिम्मेवारीलाई कुशलतापूर्वक, इमानदार भएर सफलतापूर्वक निर्वाह गर्नु नै हो ।

मैले अहिले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, जनशक्ति व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग, राष्ट्र बैङ्क व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभाग हेर्ने जिम्मेवारी पाएको छु ।

यति धेरै विभाग नेतृत्व गरिहँदा ती विभागको कामलाई थप प्रभावकारी बनाउन के कस्ता योजना ल्याउँदै हुनुहुन्छ ?
यी सबै विभाग काम नेपाल राष्ट्र बैङ्क ऐन २०५८ ले राखेका उद्देश्यअनुरूप नै गर्ने हो । सम्पूर्ण विभागको कार्य भनेको पनि सोही ऐनले निर्दिष्ट गरेका उद्देश्य नै हासिल गर्ने हो ।

जस्तो कि वित्तीय स्थायित्व हासिल गर्ने, लक्षित आर्थिक वृद्धिदरलाई सपोर्ट गर्ने, भुक्तानी प्रणालीलाई सुरक्षित बनाउने, वित्तीय पहुँच अभिवृद्धि गर्ने, साक्षरता प्रवद्र्धन गर्ने नै हो । वित्तीय सुशासन कायम गर्ने हो । यी विषयलाई थप प्रभावकारी बनाउने मेरो निरन्तर प्रयास हुनेछ ।

महत्वपूर्ण विभागहरूको नेतृत्व गर्दै हुनुहुन्छ । चुनौती पनि होला नि ?
चुनौती थुप्रै छन् । ती चुनौतीलाई सबैको सामूहिक प्रयासबाट सामना गर्ने र समाधान गर्दै जाने हो । यसका लागि सरकार, बैङ्क तथा वित्तीय संस्थासँगको निरन्तर समन्वयमा रहेर नै काम गर्नुपर्ने हुन्छ । अहिलेसम्म पनि त्यसरी नै काम हुँदै आएको छ । आगामी दिनमा समन्वयकारीको थप भूमिका निर्वाह गरिनेछ ।

पछिल्ला दिनमा डिजिटल फाइनान्सको माहोल बढेर गइरहेको छ । त्यस सँगसँगै सुरक्षाका सवालमा पनि नयाँनयाँ चुनौती थपिएका छन् । त्यसलाई समयसापेक्ष बनाउँदै सुरक्षित, भरपर्दो र विश्वासनीय नबनाएसम्म हामी प्रतिस्पर्धी बन्न सक्दैनौँ । त्यसमा अझै धेरै काम गर्न बाँकी छ ।

संस्थागत सुशासनका सवाल पनि उत्तिकै चुनौतीपूर्ण छ । त्यसका लागि आवश्यक निर्देशन, विनियमावली, कार्यविधिहरू बनाउँदै जानुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हामीले आत्मसात् गर्दै अगाडि बढ्नमा कुनै ढिलाइ गर्नुहुँदैन । अहिले ती विषयमा अध्ययन भइरहेको छ । त्यसैले हरेक क्षेत्र चुनौतीपूर्ण छ । त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ । म र राष्ट्र बैङ्क पनि सोहीअनुसार अगाडि बढ्छ ।

कोभिड–१९ का कारण शिथिल बनाएको अर्थतन्त्रलाई गतिशील बनाउन अगाडि सारिएका योजनाहरू छन् । त्यसको प्रभावकारिता कस्तो देख्नुभएको छ ?
नेपाल राष्ट्र बैङ्कले कोभिड–१९ का कारण शिथिल भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न विभिन्न प्रयास गर्दै आएको छ । जस्तो कि अनिवार्य नगद अनुपात घटाउने, पुनर्कर्जा प्रवाह गर्ने, ऋणीहरूले ऋण तिर्ने समय तालिकालाई पुनः तालिकीकरण गर्नेजस्ता कार्य गर्दै आएको छ ।

यसरी अवलम्बन गरिएका विभिन्न उपायका कारण पछिल्लो समय उद्योगी–व्यवसायीलाई निकै राहत मिलेकोे अवस्था छ । उद्योगहरू जो शिथिल भएका, बन्द भएका, अति प्रभावित, मध्यम प्रभावित, कम प्रभावित भनेर नेपाल राष्ट्र बैङ्कले विभिन्न वर्गमा वर्गीकरण गरेर सोहीअनुरूपको सुविधा प्रदान गरेको छ ।

त्यसबाट पक्कै पनि उद्यमी–व्यवसायी र अरू क्षेत्रका अति प्रभावितहरू लाभान्वित भएको प्रतिवेदन हामीले पाइरहेका छौँ । अहिले हाम्रो तथ्याङ्कले पनि त्यो देखाउँछ । २०७७ असार मसान्तको तुलनामा २०७७ माघ मसान्तमा सहुलियतपूर्ण कर्जा बढेको अवस्था छ । महिलालाई दिने सहुलियतपूर्ण कर्जा पनि करिब छ गुणाले बढेको अवस्था छ ।

केन्द्रीय बैङ्कले अन्य बैङ्क तथा वित्तीय संस्थाको माइक्रो म्यानेजमेन्टमा पनि हात हाल्न थालेको आरोप छ नि ?
वित्तीय सुशासन कायम गराउने जिम्मेवारी केन्द्रीय बैङ्कको हो । मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि आवश्यक सपोर्ट गर्ने काम पनि केन्द्रीय बैङ्कले गर्छ । त्यसका लागि केही ‘रेगुलेटरी फ्लेक्जिबिलिटी’ पनि केन्द्रीय बैङ्कसँग हुन्छ ।

त्यसका अतिरिक्त वित्तीय सुशासन कायम गराउने, वित्तीय स्थायित्व प्रवर्धन गर्ने काम पनि राष्ट्र बैङ्कको हुने भएकाले कुनै कुरालाई नियमित गराउने सवालमा केन्द्रीय बैङ्क केही कठोर बन्दै कहिलेकाहीँ ससाना कुरामा पनि निर्देशन दिनुपर्ने हुन्छ । जुन सम्बन्धित बैङ्क, त्यसका ग्राहक र मुलुककै हितका लागि हुने गर्छ । यसलाई माइक्रो म्यानेजमेन्टभन्दा पनि वित्तीय सुशासन कायम गर्नेतर्फको प्रयास हो भनेर सबैले बुझ्न जरुरी हुन्छ ।

पछिल्लो समयमा क्यूआर कोड प्रयोगलाई निकै जोड दिइएको छ तर सुरु गरिएका क्यूआर कोड पनि थन्किरहेका छन् नि किन त्यस्तो ?
हो, नगदर हित, विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैङ्क लागेको छ । सोही क्रममा क्यूआर कोड पनि प्रयोगमा ल्याउन थालिएको हो । नयाँ गभर्नरका रूपमा महाप्रसाद अधिकारी आउनुभएपछि यसलाई व्यापक बनाउने योजना अनुसार काम पनि भइरहेको छ । क्यूआर कोडको छुट्टै मापदण्ड नै बनेको छ ।

यो प्रविधिमा आधारित भएकाले सबैले एकै पटक सिक्छन् र प्रयोग गरिहाल्छन् भन्ने पनि होइन । त्यसका लागि वित्तीय साक्षरताको अभियान पनि सँगसँगै अगाडि बढाउनुपर्ने हुन्छ । क्रेता बिक्रेता दुवै पक्षलाई यो विषयमा साक्षर बनाउँदै अगाडि बढ्न राष्ट्र बैङ्क सँगैसँगै अन्य बैङ्क र वित्तीय संस्थाको सामूहिक प्रयास जरुरत हुन्छ ।

त्यसका लागि हामीले अन्य बैङ्क वित्तीय संस्थालाई पनि आग्रह गर्दै आएका छौँ । केही काम हुन पनि थालिसकेको अवस्था छ । क्यूआर कोडको प्रयोग गरेका सामान खरिद बिक्री गर्नु सुरक्षित र भरपर्दो उपाय हो भन्ने कुरा बुझाउन जरुरी छ ।

पछिल्लो समय विभिन्न बैङ्कको नेतृत्व तहमा महिलाको सङ्ख्या बढ्दो क्रममा छ । तपाईंले यसलाई नजिकबाट अनुभव गर्नुभएको छ, महिलाले नेतृत्व गरेका बैङ्क र अन्य बैङ्कको सुशासनको अवस्थामा कुनै भिन्नताको अनुभूति गर्नुभएको छ ?
हो पछिल्ला दशकमा बैङ्किङ क्षेत्रमा महिला उपस्थिति बढ्दो छ । नेपाल राष्ट्र बैङ्कमा हेर्ने हो भने २० प्रतिशत महिलाको मात्र उपस्थिति देखिन्छ । अन्य बैङ्कमा हेर्ने हो भने ४० देखि ४४ प्रतिशत महिला कर्मचारी हुनुहुन्छ ।

त्यसमध्ये २५ प्रतिशत व्यवस्थापकीय तहमा नै हुनुहुन्छ । कतिपय बैङ्कको उच्च तहमा महिला पुगेका छन् । महिला कर्मचारीले मात्र सञ्चालन गरेका शाखा पनि निकै राम्रो स्थितिमा देखिन्छ । महिला नेतृत्व हुँदा सुशासनमा प्रवर्धन हुने कुरा निश्चय नै हो ।

यसो भनिरहँदा पुरुषको नेतृत्वमा सुशासन छैन भन्न खोजेको होइन । अर्को कुरा महिलाहरू घर म्यानेजमेन्ट गर्नलाई कुशल हुने भएकाले अफिस म्यानेजमेन्ट गर्न ती कुराहरू झल्कँदो रहेछ । महिलाहरू आफ्नो स्रोत र साधनको अधिकतम सदुपयोग गर्ने र कामप्रति बढी लगाव र इमानदर हुने चाहिँ हुने रहेछ ।

नीति निर्माणको तहमा महिलाको उपस्थिति बढाउन के गर्नुपर्ला ?
–महिलालाई अगाडि बढाउने कुरामा संविधानदेखि अन्य ऐन नियममा नै राज्यले सकारात्मक विभेदको नीति अवलम्बन गर्दै आएका छन् । यसले हरेक क्षेत्रमा महिलाको सङ्ख्यात्मक उपस्थिति बढाउन सहयोग पुगेको छ ।

बाँकी रह्यो नीति निर्माणको तहमा पनि महिलाको सङ्ख्या बढाउने विषय । त्यसमा चाहिँ आरक्षणको व्यवस्थाले मात्र गुणस्तर पनि ल्याउँछ भन्ने हुँदैन । पहिलो कुरा महिला आफैँले सपना देख्नुपर्छ र त्यसलाई हासिल गर्न महिलाको आफ्नै अग्रसरता, निरन्तर मेहनत र परिश्रमको खाँचो पर्छ नै । यसका लागि पारिवारिक साथ सहयोग र हौसलाको पनि उत्तिकै खाँचो पर्छ ।

महिलाले सफलता हासिल गर्नलाई के गर्नुपर्दो रहेछ रु केही टिप्स बताइदिनुहोस् ?
महिलाले जे कुरा हासिल गर्न पनि निरन्तरको मेहनत गर्नु नै पर्छ । कार्यस्थलमा आइपर्ने व्यावसायिक र अन्य चुनौतीको सामना गर्न पछि हट्नुहुँदैन । आफ्नो काम र जिम्मेवारीप्रति इमानदार भएर सकारात्मक सोचका साथ निर्वाह गर्नुपर्छजस्तो लाग्छ ।

आफ्नो योग्यता र क्षमतामा निखार ल्याएर प्रतिस्पर्धी रूपमा उभ्याउन सक्नुपर्छ । आफ्नो नियन्त्रणमा भएका कुरालाई कुशलतापूर्वक सम्पन्न गर्नुपर्छ । नियन्त्रण बाहिरको विषयमा बढी चिन्तित भएर बस्नु हुँदैन । आफ्नो कर्म पूरा गरेपछि फल दिने काम माथिका ९ईश्वर०ले गर्छन् जस्तो मलाई लाग्छ ।

अब केही पारिवारिक कुरा पनि गरौँ, यहाँको पारिवारिक पृष्ठभूमिको बारेमा पनि बताइदिनुहोस् न ?
मेरो जन्म पूर्वी नेपालको झापा जिल्लाको गौरादहमा भएको हो । म शिक्षित परिवारमा जन्मेकी हुँ । बुबा शिक्षक हुनुभएका कारण जहाँजहाँ उहाँको सरुवा हुन्थ्यो म पनि त्यहीँ पुग्थेँ ।

जसले गर्दा मैले धेरै पहाडी जिल्ला हेर्न र बुझ्न पाएकी छु । पढाइमा म सधैँ अब्बल नै रहेँ । झापाबाटै आईकम पास गरेँ । पछि विराटनगरमा आएर उच्च शिक्षासँगै अध्ययन गर्नुका साथै विद्यालय पनि पढाएँ र पछि कलेजमा पनि पढाएँ । विभिन्न आरोह अवरोह पार गर्दै राष्ट्र बैङ्कको लिखित परीक्षा पास गरेँ ।

त्यसपछिका यहाँका लिखित परीक्षा र बढुवाका परीक्षामा मैले कहिल्यै दोहो¥याएर परीक्षा दिनुपरेन । वि. सं. २०७४ मा राष्ट्र बैङ्कको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाएँ । मेरो श्रीमान् प्राध्यापक हुनुहुन्छ । छोरी अमेरिकामा उच्च शिक्षा हासिल गर्दैछिन् । छोरा बूढानीलकण्ठ स्कुलमा ए लेभलमा अध्ययनरत छन् ।

हरेक महिलाको सफलतामा परिवारको ठूला भूमिका हुने गर्छ भनिन्छ । तपाईंलाई परिवारिक सहयोग कतिको प्राप्त भएको छ ?
हो, महिला वा पुरुष जो सुकैलाई पनि सफलता हासिल गर्न परिवारको हौसला, प्रेरणा र साथ सहयोग चाहिन्छ नै । मैले सुरुदेखि नै त्यो वातावरण पाएँ । महिलालाई घर र कार्यस्थलबीचको सन्तुलन मिलाउन निकै हम्मेहम्मे पर्छ ।

हरेक ससाना कुरामा पनि परिवारको सकारात्मक साथ र सहयोग भयो भने मात्र महिलाले सफलता प्राप्त गर्नसक्ने हो । त्यो कुराका लागि मैले कहिल्यै गुनासो गर्नुपरेन । निरन्तरको साथ र सहयोग पाउँदै आएको छु ।