६ बैशाख २०७८, सोमबार

पृतनापति समन्वयात्मक बैठक २०७७ सम्पन्न

आर्थिक सञ्जाल
२१ फाल्गुन २०७७, शुक्रबार १५:५०

काठमाडौँ । नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक शुक्रवार सम्पन्न भएको छ । काठमाडौँस्थित जङ्गी अड्डामा आयोजित समन्वयात्मक बैठकमा सेनाका विविध कार्यहरूको प्रगति समीक्षा, मूल्याङ्कन र विश्लेषण भएको छ ।

बैठकमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले यस सम्मेलनबाट भविष्यमा नेपाली सेनाले गर्नैपर्ने, गर्नुपर्ने र गर्न सक्ने कार्यहरूको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पुर्‍याउने र भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको बताएका छन् ।

नीति, नियम र निर्देशिकामा आधारित कार्यप्रणालीले नै नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सिष्टम ड्राइभन अर्गनाइजेसनको रूपमा स्थापित गर्ने भन्दै उनले सबैलाई बैठकमा उठेका विविध आन्तरिक सुदृढीकरणका विषयहरूको प्रभावकारी कार्यान्वयनको लागि निर्देशन दिएका छन् ।

नियमित रूपमा सञ्चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतीकरण र उठान भएका बिषय वस्तुहरुमाथी भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमूल्य राय सुझावहरूले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।