६ बैशाख २०७८, सोमबार

कोपा डेल रे : नाटकीय कमब्याक जित निकाल्दै बार्सिलोना फाइनलमा

आर्थिक सञ्जाल
२० फाल्गुन २०७७, बिहीबार ०८:२७

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभिल्लालाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को निकाल्दै बार्सिलोनाले प्रतियोगिताको उपाधि नजिक पुगेको हो । यसअघि सेमिफाइनलको पहिलो लेग सेभिल्लाले बार्सिलोनामाथि २–० को जित निकालेको थियो ।

बार्सिलोनालाई जित दिलाउनका लागि ओस्मान डेम्बेले, जेरार्ड पिकेले र मार्टिन ब्रेथवेटले समान एक–एक गोल गरे । खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा पेनाल्टीमा चुक्दा सेभिल्लाले फाइनलमा स्थान पक्का गर्ने सुवर्ण अवसर खेर फाले ।

ओस्कार मिन्गुएजाले पेनाल्टी क्षेत्रभित्र लुकास ओकाम्पसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर ओकाम्पसको प्रहरलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल परिदिए । निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १–० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिन लागेको बार्सिलोनाले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

इन्ज्युरी समयमा पिकेले गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । उनले एन्टोइन ग्रिजमनको क्रसमा हेडमार्फत गोल गरेका थिए । १० खेलाडीमा सिमित सेभिल्ला थप समयको पाँचौ मिनेटमा समग्रमा १ गोलले पनि पछि पर्यो । जोर्डी अल्बाको क्रसमा ब्रेथवेटले हेडमार्फत गोल गरेका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा बार्सिलोना प्रतियोगिताको उपाधि नजिक पुग्यो । सेभियाले त्यसपछि एक गोल गरेको भएपनि अवे गोलको आधारमा फाइनल पुग्ने थियो, तर त्यसो हुन सकेन । कप्तान लिओनेल मेस्सीले खेलमा गोल वा असिस्ट प्रत्यक्ष प्रदान नगरेपनि खेलमा प्रभाव भने जमाएका थिए ।

कोपा डेल रे को दोस्रो सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ र लेभानते भिड्दैछन् । पहिलो लेगको खेलमा बिल्बाओ घरेलु मैदानमा ११ को बराबरीमा रोकिएको थियो । दोस्रो लेग बिहीबार हुँदैछ ।