१८ फाल्गुन २०७७, मंगलवार

टेलिकमको च्याटबोट सेवा सुरु

आर्थिक सञ्जाल
४ फाल्गुन २०७७, मंगलवार १४:२६

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याट मार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा सुरु गरेको छ । कम्पनीको वेबसाइट खोल्नासाथ सुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ । त्यहाँ (निड हेल्प रु वेलकम टु एनटी च्याटबोट) भनेर लेखिएको छ ।

यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपालीरअंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने टेलिकमले जनाएको छ ।

यस मार्फत कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी यसमा विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र गुनासो समेत गर्न सकिन्छ ।

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, इन्स्टाग्राम प्रयोग गर्न सक्दछन् । ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्दछन् ।

गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी च्याटबोट सेवाको शुभारम्भ गरका थिए ।