१४ फाल्गुन २०७७, शुक्रबार

कोरोनापछि आन्तरिक पर्यटन

आर्थिक सञ्जाल
३ फाल्गुन २०७७, सोमबार ०६:५०

–बसन्त महर्जन
कोही पनि नेपाली, आफ्नो परिवेशभन्दा भिन्न नेपालकै कुनै अर्को भूभागमा पर्यटनका लागि जान्छन् भने ती आन्तरिक पर्यटक हुन् । आन्तरिक पर्यटकलाई पनि पर्यटक नै मान्नुपर्ने कुराको अवगत केही दशकअघि मात्रै हो । नेपालमा पर्यटन उद्योग भन्नाले प्रायःजसो दोस्रो र तेस्रो मुलुकबाट आउने अर्थात् विदेशी पर्यटकलाई मात्र बुझ्ने परम्परामा यो एउटा फड्को हो ।

बाह्य पर्यटकको आगमनमा शिथिलता आउँदा पनि आन्तरिक पर्यटकले यो उद्योगलाई थेग्दा पर्यटनसम्बन्धी पूर्व मान्यतामा क्रम भङ्गता आएको बुझ्न सकिन्छ । कतिपय ठूल्ठूला राष्ट्रको पर्यटन उद्योगको ठूलो हिस्सा उसको आफ्नै आन्तरिक पर्यटक हुने गरेबाट पनि यो वर्गको महìवलाई कम आकलन मिल्दैन ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण विश्व पर्यटन उद्योग नै प्रभावित भयो । नेपालमा पनि बाह्य पर्यटक मात्रै नभएर आन्तरिक पर्यटकको आगमन पनि रोकियो । अर्को शब्दमा भन्नुपर्दा जेनतेन चलिरहेको यो उद्योग अचानक धरासायी हुन पुग्यो ।

कोभिड–१९ को महामारी सधँै रहने होइन, महामारीको अन्त्यपछि पुनः यसले लय समात्छ भनेर कल्पना गर्नु ठीक छैन । पूर्ववत् स्थितिमा आउन चार पाँच वर्षभन्दा बढी लाग्ने जानिफकारहरूको भनाइलाई मनन गर्ने हो भने थप संवेदनशील हुनै पर्छ र दीर्घकालीन असरमा ध्यान दिनु नितान्त आवश्यक छ ।

नेपालको पर्यटन उद्योगको इतिहासलाई आधा शताब्दीभन्दा अलिकति मात्र पुरानो, नत्र केही दशकको कालावधिमै चित्त बुझाउनुपर्छ । भ्रमण वर्ष २०२० को लक्ष बीस लाख पर्यटक भित्राउने थियो । अन्य देशको पर्यटन उद्योगको तुलनामा बीस लाख पर्यटक सामान्य कुरा हो भने नेपालको विद्यमान आँकडाअनुसार अलि महìवाकाङ्क्षी भएको टिप्पणी पनि आयो ।

व्यवस्थित रूपमा सञ्चालन गर्ने हो भने भ्रमण वर्षभित्रै बीस लाखभन्दा बढी पर्यटक भित्राउन सकिने मन्तव्य पर्यटन उद्यमीहरूबाटै आउनु सुखद् कुरा थियो । दीर्घकालीन योजनाअनुसार भ्रमण वर्ष सुरु मात्रै भएको के थियो, कोभिड–१९ को महामारी नेपालमा पनि सुरु भइहाल्यो र नेपालमा नै रहेका पर्यटकलाई पनि यथाशीघ्र फर्काउनुपर्ने अवस्था आइप¥यो ।
नेपालको पर्यटन उद्योगमा लगानीको प्रकृति स्वदेशी तथा वैदेशिक कर्पोरेट मात्रै नभएर ससानो आकारका स्थानीय पनि रहेको पाइन्छ ।

यी साना लगानी देशैभरि छरिएर रहेका छन् । तसर्थ पर्यटन उद्योगको विकासले उच्च पुँजीपति वर्गलाई मात्र नभएर सहर बजार तथा गाउँघरका ससाना व्यवसायीहरू पनि लाभान्वित हुने गर्छ । यस उद्योगमा श्रम शक्तिको उत्पादनका लागि थोरै लगानी भएको छैन र कतिपय नेपालीको घरमा पर्यटन उद्योगबाट प्राप्त हुने पारिश्रमिकबाट नै घरमा चुह्लो बल्ने गरेको छ ।

पर्यटन उद्योगमा सम्भावना देखेर आफ्नो पुँजीलाई यता ल्याउने नेपालीहरू पनि पर्याप्त मात्रामा छन् । यसरी नै यस उद्योगमा श्रम गरेर जीविका गर्न तालिम लिएर दक्ष भएका नेपालीको सङ्ख्या पनि कम आँक्न मिल्दैन । कतिपयले भ्रमण वर्ष २०२० लाई ध्यानमा राखेर सेवा, सुविधा तथा क्षमतामा पनि वृद्धि गरेका छन् । नयाँ खोलिएका ठूला साना होटल तथा रिजोर्टहरूले पनि ठूलै लगानी गरेका छन् ।

होटल तथा रिजोर्टका अलावा यातायातलगायतका अन्य क्षेत्रमा पनि लगानी वृद्धि गरेको पाइन्छ । टुरिष्ट गाइड, कुक तथा अन्य कुरामा पनि व्यापक रूपमा प्रशिक्षण कार्यक्रमहरू राज्यस्तरबाट नै सञ्चालन गरिएको थियो । तर कोभिड–१९ ले यी सबै प्रयासमा पानी फेरिदिएको छ ।
तर महामारीका कारण कामदारहरू एकाएक बेरोजगार हुनुप¥यो । कतिपय व्यवसायीले कामदारलाई बिदावारी दियो भने कतिपयलाई बेतलबी बिदामा राख्यो । आधा तलबमा राखेको पनि पाइयो । पर्यटकको सेवाका लागि खोलिएका कतिपय होटल तथा अन्य पूर्वाधारहरू अरू नै सेवामा रूपान्तरित पनि गरिए ।

पथप्रदर्शक लगायत दक्ष कामदारहरू रोजीरोटीका लागि यस क्षेत्रबाट पलायन भएको पाइयो । नेपालको पर्यटन उद्योगमा सबैभन्दा ठूलो समस्या नै पूर्वाधारको कमी तथा दक्ष जनशक्तिको अभाव भइरहेको सन्दर्भमा यो स्थिति आउनु प्रलय बरोबरकै कुरा हो ।

काठमाडौँमा पर्यटन क्षेत्रका लागि प्रशिक्षित पथप्रदर्शकहरू कोही गाउँ फर्केको अवस्था छ भने कोही रोजगारीका लागि वैकल्पिक क्षेत्रको खोजीमा छन् । उनीहरूका अनुसार केही वर्षसम्म पर्यटन उद्योगमा खडेरी नै लाग्छन् । यही दृष्टिकोणले अन्य क्षेत्रमा लागेका फर्केर पुनः पर्यटन क्षेत्रमा नै आउने कम मात्रै सम्भावना छ ।

होटेल तथा अन्य क्षेत्रमा काम गर्नेहरूको अवस्था पनि यही छ । स्वयं पर्यटन व्यवसायीहरू नै पनि आफ्नो लगानी अन्यत्र स्थानान्तरण गर्ने मनस्थितिमा छन् । ठूला ठूला व्यवसायीकै अवस्था यस्तो छ भने साना व्यवसायीहरू बिच्किनु स्वाभाविक हो । समग्रमा भन्नु पर्दा पर्यटन उद्योगको पूर्वाधारमा नै डामाडोल भएको अवस्था छ ।

महामारीको समस्या कायम नै रहँदा पनि यसबाट जोगिएर दैनिक जीवन सञ्चालन गर्ने बानी बसाल्न थालिएको छ । पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल देखिन थालेको पाइन्छ ।

यसबाट बुझिने कुरा हो, बाह्य पर्यटकको अभावमा पनि नेपालको पर्यटन उद्योग आन्तरिक पर्यटकको माध्यमबाट चलायमान हुनसक्छ । बाह्य पर्यटकबाट हुने आम्दानीको तुलनामा आन्तरिक पर्यटकबाट थोरै मात्र हुनु स्वाभाविक हो तर यो सम्भावनाको ठूलो भण्डार हो । बाह्य पर्यटकले गर्ने खर्चको ठूलो हिस्सा विदेशमा नै जाने गर्छ भने आन्तरिक पर्यटकले गर्ने खर्चको ठूलो हिस्सा स्वदेशमा नै रहने गर्छ ।

आन्तरिक पर्यटनलाई प्रोत्साहिन दिनुको अर्थ हो, नेपालीलाई नेपालकै बारेमा जानकारी दिनु । आफ्नै देशलाई पर्याप्त मात्रामा चिन्न नसकेको अवस्थामा राष्ट्र र राष्ट्रियताको विकास गर्न गाह्रो हुन्छ । यस अर्थमा राष्ट्रियताकै सवालमा पनि आन्तरिक पर्यटन एउटा गज्जबको माध्यम हुनसक्छ ।

बाह्य पर्यटकसँग सम्बन्धित व्यवसायीहरूको ध्यान आन्तरिक पर्यटकतर्फ नहुनुका अनेक कारण होला तर तीमध्ये केही हुन्, हवाईजहाज चढेर आउने र त्यसरी नै फर्केर जानेहरूबाट हवाई टिकटको कारोबारबाट हुने फाइदा यसमा हुँदैन । त्यसरी नै महँगो होटलमा बस्दैनन्, साधारण यातायात नै प्रयोग गर्छन् ।

आन्तरिक पर्यटकहरू आफँै घुम्न निस्कन्छन् । पथप्रदर्शको सहायता पनि तिनीहरू लिँदैनन् । प्रत्येक नेपालीलाई आफ्नो देशको कुनै पनि भागमा आउँजाउँ गर्न पाउने स्वतन्त्रता संविधानले नै प्रत्याभूति दिएको र भाषाको समस्या पनि नभएका कारण नेपालीहरू निर्धक्कसँग घुमफिर गर्न सक्छन् ।

नेपालमा सामाजिक, साँस्कृतिक विविधता भए पनि प्रत्येक नेपालीसँग साझा स्वभाव पाइन्छ र यसले आन्तरिक पर्यटकलाई अझ सहज पारिदिएको छ ।

आन्तरिक पर्यटक आफैँ घुम्नुभन्दा पथप्रदर्शकको सहायता लिनु राम्रो हो । कतिपय अवस्थामा सही जानकारी नपाउने र अलमलिनुपर्ने स्थिति रहेको पाइन्छ । यस अवस्थामा पर्यटन उद्योगले आन्तरिक पर्यटकलाई पथप्रदर्शकको महìव बुझाउनुपर्छ । पथप्रदर्शनमा बाह्य पर्यटक र आन्तरिक पर्यटकलाई दिने सेवामा स्वाभाविक रूपमा भिन्नता ल्याउनैपर्छ ।

यसरी नै अव्यवस्थित रूपमा पर्यटन गर्नुभन्दा कम्पनीको व्यवस्थापनमा पर्यटन गर्दा अझ व्यवस्थित र सरल हुने कुरा बुझाउनुपर्छ । तर आन्तरिक पर्यटकबाट बाह्य पर्यटकसँग जस्तै सेवाशुल्कको अपेक्षा राख्नु हुँदैन । यति व्यवस्था गर्ने हो भने पर्यटन उद्योगका अवयवहरू सुचारु रूपमा चलायनमान हुनसक्छ ।

र, अन्तर्राष्ट्रिय पर्यटन उद्योग पुरानै लयमा फर्कदा नेपालले त्यो लयलाई तुरुन्तै टिप्न सक्ने मात्र नभएर विगतका कमजोरीहरूलाई पनि सम्पादन गरिसकेको हुन्छ ।

यो भनेको आन्तरिक पर्यटनकै जगमा हुने कुरा हो । तसर्थ, कोरोना महामारीपछिको यो स्थितिमा आन्तरिक पर्यटनको विकास गरी यसैलाई अवसरको रूपमा रूपान्तरण गर्न सकिन्छ । (लेखक इतिहास, संस्कृति, पुरातìव अध्ययनका अध्येता हुनुहुन्छ ।)