१८ फाल्गुन २०७७, मंगलवार

सेन्ट्रल फाईनान्सको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित

आर्थिक सञ्जाल
२३ माघ २०७७, शुक्रबार १५:४९

काठमाडौँ । सेन्ट्रल फाईनान्सको २४औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाईनान्सको काठमाडौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह र सल्लाघारी, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट र बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुरधाम समेत गरी हाल शाखा संख्या १४ रहेको छ ।

झापाको बिर्तामोड, सुनसरीको इटहरी र पर्साको बिरगंज शाखा छिटै सञ्चालनमा ल्याउने गरी तयारी भईरहेको र भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठले बताए ।

सभामा उनले वित्तीय संस्थाको चुक्ता पूँजी रु. ८२ करोड ३३ लाख, निक्षेप रु। ५ अर्व २८ करोड २७ लाख र कर्जा लगानी रु। ३ अर्व ५८ करोड १० लाख रहेको बताए । उनले ललितपुरको कुपण्डोलस्थित संस्थाको कर्पोरेट भवन निर्माण भईसकेको र छिटै केन्द्रीय कार्यालय सारिने तथा प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने पनि सभामा जानकारी दिए ।